बिहिबार, ०९ माघ २०७६
Thu, 2020-01-23
Open Nav

रवानापत्रको प्रशवपीडा -दीपक विश्वकर्मा

  • 146
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    146
    Shares
२५ पुष २०७६, शुक्रबार रवानापत्रको प्रशवपीडा -दीपक विश्वकर्मा
Spread the love
  • 146
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    146
    Shares

संझनाका तरंगहरु बडो बजोड हुन्छन् । कतिपय कुराहरु बारम्बार दिमागमा किन आइरहन्छन् भने ती कुराहरुले जीवनमा खास महत्व राख्दछन् । गुरु ज्ञानहरि मेरो मानसपटलमा किन आइरहनुहुन्छ यतिधेरै ? उहाँले मलाई आफ्नै कोखको सन्तान भन्दाबढी माया गर्नुको कारण के थियो ? थाहा हुन सकेन । जुनबेला उहाँसंग संगत रह्यो सो बेला यी सबै कुरामा चासो राख्ने कुरै रहेन । जब चासो राख्ने समय आयो, दुबै पृथ्वीको दुई ध्रुबमा रहियो । म सुदूर भारतको आसाम राज्य पुँगे । उहाँ तम्घास छोडेर पाणिनीतिर बस्न थाल्नु भयो । पाणिनी क्याम्पस स्थापना गर्नु भयो । सो बेला मसंग उहाँलाई भेटगर्न सक्ने औकात पलाइसकेको थियो । जब औकात पलायो, उहाँले संसार त्याग गर्नु भयो ।

यही कुरालाई मैले अनेकौपटक गुरु दक्षिणा संग तुलना गरेको छु । आजसम्म पत्रपत्रिकामा प्रकाशित कयौं लेखहरुमा उहाँको नाम उल्लेख गर्दै श्रद्धासुमन अर्पण गरेको छु । यो मेरो उहाँपतिको कृतज्ञता हो । उहाँले ममाथि जीवनभर बिर्सन नसकिनेगरी लगाएको ऋणको भारको ब्याजको सानो अंश हो ।

सबै ज्ञानीहरु हरि हुँदैनन् । वा सबै हरिहरु नर हुँदैनन् । सबै नरहरु हरि नहुँदा रहेछन् । तर ज्ञानहरि ज्ञानी र हरि दुबै हुनुहुन्थ्यो । हिन्दु धर्ममा हरि एक मिथकीय शब्द एवम् नामबाचक शब्द हो । हरि संसारको पलनाकर्ता मिथकीय विष्णु भगवानको अर्को नाम हो । यद्यपि म यी तानाबाना मान्दिन । तर जसरी बुझेपनि हरि हरि नै हो । ज्ञान ज्ञान नै हो । मिथकै सही, ज्ञानसंग हरिको संयोजन पश्चात बनेको नामयोगी शब्द ज्ञानहरि मेरो भुत, वर्तमान र भविष्य हो ।

स्कूल पढ्दा शुरुका केही वर्षबाहेक फिस तिरेको मलाई संझना छैन । गाईबाख्रा चराएर ज्यानपाल्ने महान सोँचकासाथ एक वर्षको क्लास हपाइले केही कुराहरुमा फाइदा भयो । पहिलो फाइदा कक्षा चढेपछि महंगोमा नयाँ किताब किन्नुपर्ने झन्भटबाट मुक्त भइयो । गणेशदाइ कक्षा चढेपछि उहाँका किताब सस्तोमा मैले सोमर्न पाएँ । अर्को उमेरको हिसाबले अन्य साथीहरुभन्दा पाको हुनाले आइपर्दा कसैसंग दबिनु नपर्ने भयो । उमेरकै कारणले गुरुहरुले दिएको पाठ र परिक्षामा राम्रो गर्नसकिने भइयो । जसको कारणले कक्षा फिस तिर्नुपर्ने महासंकटबाट पार पाइयो । मेरो फिस माफी हुनुमा कक्षाशिक्षक गुरु विश्वनाथ पन्थीको पनि ठूलो हात छ । मैले जहिल्यै उहाँले मेरा बालाई भनेको सुन्थेँ— केटालाई फिस मिलाइदेको छु माइला, राम्ररी पढ्न भनेस् । यसरी कहिल्यै फिस तिर्न परेन स्कूल पढ्दा । पछि त खान, बस्न, लत्ताकपडा, याबत सुविधा पाउने गरी उच्चशिक्षा अध्ययन सहितको छात्रबृत्ति हात लाग्यो, युनाइटेड मिसन टु नेपालको । यो पनि सोही एकवर्ष स्कूल हपाइको करामत थियो ।

यो पनि पढ्नुहोस :   नेप्लिज डायस्पोरालाई नेजाका अध्यक्ष पन्तको शुभकामना

युनाइटेड मिसन टु नेपालले आजपनि प्रत्येक वर्ष दूर्गम जिल्लाहरुबाट गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिमा छनोटगरेर पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ्ग स्कूलमा पढ्ने अवसर जुराइदिन्छ । सोबेला छात्रबृत्तिकोलागि जातीयकोटाको प्रावधान थिएन । गरिब तथा जेहेन्दार विद्यार्थीको छनोट गरिन्थ्यो । मैले कक्षा आठमा पढ्दैगरेको समयमा महेन्द्र हाइस्कूल तम्घासमा मिसनको तर्फबाट एकसदस्यीय छनोटटोली आयो । मिसनलाई आठ कक्षाकोलागि विद्यार्थी चाहिएको रहेछ । परिक्षामा बस्नुको मतलव आठ कक्षालाई पुनः दोहो¥याउनु थियो । छनोट परिक्षामा बस्नेनबस्ने अन्यौलका बिच गुरु ज्ञानहरिले सल्लाह दिनुभयो— एकवर्ष कक्षा हपाइले केही फरक पर्दैन केटाहो । फ्रिको पढाइ हो, परिक्षा देओ ।
सो बेला पश्चिमी गुल्मीको लागि दुईजनाको लागि पूर्णछात्रबृत्तिको कोटा तयभएको रहेछ ।

परिक्षामा बस्नेमध्ये म र प्रकाशजी पूर्णमा नामनिकाल्न सफल भयौं । महेन्द्रकुमार श्रेष्ठ फूल पेमा जानेभए । उनले फ्रिमा पढ्नपाउने संभावना पनि थिएन । किनकि उनी गुल्मी जिल्लाकै धनीमानी बखाने साहुका छोरा थिए । अर्का बसन्त भुजेल आधाखर्चमा जानेभए । यद्यपि उनीपनि अदालतका डिठ्ठाका छोरा भएकाले पैसा खर्चगरेर पढ्नसक्ने हैसियत राख्दथे । पाल्पातम्घास मोटरबाटो सञ्चालनमा नभएता पनि उनीहरुका मधेसमा चल्ने बस रहेको कुरो स्वयम् सुनाउने गर्दथे हामीलाई । पछि स्कूल पुगेपछि गुल्मी जिल्लाका अरुसाथी पनि फेला परे । गुल्मीचारपालका भरत थापा, रिडीभेकबाट ओमकार र टेकराज ज्ञवाली छानिएका रहेछन् । बलकोट क्षेत्रबाट मोहन ज्ञवाली पनि स्कूलमा भेटिए । यद्यपि बलकोट अर्घाखाँची जिल्ला भित्र पर्ने क्षेत्र हो । उनीहरु सबै होनहार विद्यार्थी थिए । आज सबै आआफ्नो क्षेत्रमा अब्बल छन् । दुःखको कुरो चारपालका भरत थापाको असामयिक निधन भयो केहीवर्ष पहिले । उनलाई हामीले लम्बु भनेर बोलाउँथ्यौं ।

हो, यही परिक्षा, छनोट र रवनापत्रको गहनअन्धकारबाट आजसम्म पनि म बाहिर निस्कन सकेको छैन । योग्यता, क्षमता र प्रतिभाको कदर नहुनुको पीडाले आजसम्म पनि मलाई पिछा छोडेकोछैन । लाग्दछ नेपाली समाजले यो कृतघ्न स्वरुप बिरासतबाट पाएको हो । युनाइटेड मिसन टु नेपाल जस्तो एक पबित्र संस्थाको प्रतिनिधि, तत्कालिन नेपालकै उत्कृष्ठ एक आवासीय स्कूलका शिक्षकले हामीजस्ता सदियौं देखि उत्पीडमा परेका, जातीय विभेद र अपहेलनाको साङ्लोमा जकडिएका निमुखा तर हरक्षेत्रमा अब्बल विद्यार्थीहरुसंग रवानापत्रको बदला पाँचपाँच सय माग्नु कुनै पनि मानेमा न्यायसंगत थिएन र होइन । छनोटको नतिजा पछि ती प्रतिनिधि शिक्षकले हामी दुई नाथेहरुलाई एकान्तमा बोलाएर भनेका थिए — हेर केटा हो, निकै खुशीको कुरो तिमीहरु छानियौ । अब तिमीहरु पढ्नको लागि जान पाउने भयौ । तर तिमीहरुले मलाई यहाँसम्म आउँदाको खर्च दिनुपर्ने हुन्छ, दुबै जनाले मिलाएर एकहजार रुपैयाँ ।

यो पनि पढ्नुहोस :   प्रधानमन्त्रीको प्रेम दर्शन

अहो ! विपत । विपत मात्र थिएन यो । यो त महाविपत पो थियो । महिनामा पाँच रुपैयाँ फिस तिर्न नसकेर फिस माफ गरिपाउँ भनेर निवेदन दिने हैसियतका हामीहरुले पाँचसय मोरु कहाँबाट ल्याउने ? हजार पाँचसयमा पाखोबारी खरिद गर्न सकिने बेलाको कुरो हो यो । उरिमभरी अनाज हुन्थ्यो । मेलापर्वमा मिठोमसिनो खुवाउँथे बाआमाले । वर्षमा ऋणधन गरेर भएपनि एकसरो नयाँ लुगा हाल्दिन्थे । तर छिनमा हजारपाँचसय निकाल्न सक्ने हैसियत थिएन उनीहरुसंग ।

प्रकाशजीको कुरो थाहा भएन । तरम नुनखाएको कुखुरो जस्तो भएको थिएँ । हातखुट्टा लल्याकलुलुक भएका थिए । केहीछिन पहिलेको उत्साह, सपना सब पानीपानी भयो । ती प्रतिनिधिलाई निन्याउरो मुख लाउँदै भनेको थिएँ मैले — खै सर, कसरी देलान् र बाले यत्रो पैसा ? एकपटक हेडसरलाई भन्चु ।

हामी ज्ञानहरि सरलाई नामले नपुकारेर हेडसर भन्ने गर्दथ्यौं हामी । मैले ती प्रतिनिधिको मागको कुरो ज्ञानहरि सरलाई भने । सरलाई मेरो पारिवारीक स्थिति बारे पूर्णजानकारी थियो । हाम्रा बाले पाँचसय निकाल्नु भनेको पाखोबारी बेच्नु वा साहुकोमा बन्धकी राख्नु थियो । तत्कालै यो सम्भव पनि थिएन । केहीबेरको मौनतापछि ज्ञानहरि सरले भन्नु भयो— पैसाको लागि तेरो पढाइ रोकिन्न छविलाल । जा, गएर भन्, पैसा हेडसरले दिनुन्छ भनेर ।

मेरो नामको पाँचसय ती प्रतिनिधिको हात प¥यो । त्यसपछिमात्र मेरो पोखराको बाटो पक्का भयो । आजकाल गफिदा प्रकाशजी ती कहालीलाग्दा दिनबारे भन्छन्— मसंग तीनसयमा तय भएको थियो रवनापत्रको मुल्य । कुनैदिन हाम्रा हजुरबाको ठूलो नाम थियो गुल्मीमा । बोँगेसुनार भनेपछि नचिन्ने कोही थिएन । घोँडामा सवार भएर गाउँ चहार्थे । तर पछि त्यही रवाफ रहेन । काकाहरुले सुनको काम छोडेर काठको काम गर्न थाले । त्यत्रो रकम निकाल्न सक्ने हैसियत उनीहरुको थिएन । घरमा दाग्रीताउला थिए । रोँचे थियो बडेमानको । बजारका साहुहरुले रोँचे अडाना राखेर पैसा दिन मानेनन् । अन्तिमा तत्कालिन रेसुङ्गा होटेलका साहु चेतनारायण श्रेष्ठको मनमा दया पलायो । उनले हाम्रो घरमा रहेको सबैभन्दा ठूलो रोँचे अडना राखेर तीनसय दिए । त्यही पैसा लगेर उनको हातमा थमाइदिएपछि मात्र मैले रवानापत्र पाएको थिएँ ।

यो पनि पढ्नुहोस :   म यसकारण यो पटक एनआरएन अमेरिकाको सदस्यता लिन्न -सच्चि मैनाली

आज प्रकाशजी अमेरिकी संघीय सरकारको उपल्लो तहको सरकारी कर्मचारी भएका छन् । कवि हुन् । लेखक हुन् । समाजसेवामा खर्च गर्दछन् कमाएको केही अंश । गुरु ज्ञानहरि पञ्चतत्वमा बिलिन हुनु भयो । म उही नाथे छविलाल आज दीपकको नामले बुटवलमा बसेर आत्मबृतान्त कहिरहेकोछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य