शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

रमानापत्रको ताप -दीपक विश्वकर्मा

४ माघ २०७६, शनिबार रमानापत्रको ताप -दीपक विश्वकर्मा

गुरु ज्ञानहरिको असीम आशर्वादको कारणले रवानापत्रको प्रसवपीडाबाट सकुशल पार भइयो । यो प्रसवपीडा साँच्चैको असहनीय पीडा थियो मेरो लागि । पत्रको दुईचार आखरसंग मेरो सिङ्गोभविष्य जोडिएको थियो । तम्घास रहिरहेको भए, जनतन प्रवेशिका पास गर्दोहुँ । यसमा सन्देह छैन । तर त्यसपछिका मेरा कलेजजीवनका खुड्किलाहरु त्यतिसहज हुने थिएनन् । किनकि सो बेलासम्म तम्घासमा कलेज खुलिसकेका थिएनन् र पाल्पा वा काठमाण्डौ पठाएर शिक्षा दिलाउने बाको हैसियत थिएन । त्यसैले पनि रवानापत्रले अतिसय महत्व राख्थ्यो मेरो जीवनमा । यदी रवानापत्रको जोहो नहुँदो हुँ त प्रवेशिका पछि दुईवटा कुरोको सामना गर्नु पर्ने थियो मैले । पहिलो गाउँका कुनै प्राथमिक स्कूलमा मास्टरीको खोजी र अर्को लाहुरे जीवनको अनवरत पदयात्रा ।

प्रसवपीडाबाट पारभइयो र गण्डकीको बाटो तय भयो । परिक्षामा बसेकाहरु मध्ये प्रकाशजी र म पूर्णछात्रबृत्तिमा छानियौ । अन्य दुईजना साथीहरु आफ्नै खर्चमा पढ्न जाने भए । तर प्रकाशजी र मेरो सम्बन्धमा फेरि पनि कैफियत अगाडि आइलाग्यो । त्यो थियो, प्रकाशजी र मैले ती यु.यम.एन.प्रतिनिधिलाई उनको अघिल्लो गन्तब्य बल्कोटसम्म पु¥याउनुपर्ने ।

 

हिन्दीमा एउटा उखान छ “मर्ता क्या नही कर्ता ।” हाम्रो अवस्था पनि सोही उखान जस्तै थियो । हामीले नाइनास्ती गर्नसक्ने कुनै बाटो थिएन । यसमा गुरू ज्ञानहरिको पनि सहमति थियो । तम्घासको सबैकाम फत्तेभएपछि प्रतिनिधिको भारी बोकेर हिँडियो बल्कोट तिर । जो आज अर्खाखाँची जिल्लाको प्रसिद्ध ठाउँमध्येको एक हो ।

 

वर्षौ पहिलेको कुरो भएकाले स्पष्ट सम्झना छैन । तर पनि तम्घासबाट उकालो लागेर उपल्लोतम्घास पुगेको सम्झना छ । त्यसपछि देउरालीभन्ज्याङ्ग पुगेर दाहिना लागेको सम्झना छ । दाहिना मोडिएर अर्जुनलेकको काखहुँदै अगाडि बढेको पनि सम्झना छ । त्यो यात्राभन्दा पहिलेपनि रामरमिता हेर्न दिदीहरुसंग आइजाइ गरेकाले त्यो बाटो मेरोलागि नौलो थिएन । सायद हस्तिचौर जो आज नियमित हवाईउडानको प्रतिक्षामा छ, त्यही भेक हुँदै अगाडि बढियो जस्तो पनि लाग्दछ । त्यसपछि ओरालो झर्ने काम भयो, खज्र्याङ्ग नपुगेसम्म । घुर्मैलो सम्झना छ, खज्र्याङ्ग तरेपछि उकालो बाटो लागियो र बेलुकी बासबस्न पुगियो बल्कोट दरबार, जसलाई आमभाषामा बल्कोटको पौवा भनिन्छ ।

यो पनि पढ्नुहोस :   नमुना नेपाल’को चन्दा कहाँ गयो धुर्मुसेजी ?

 

बेलुकीको बासको जोहो भयो । दरबारको पहिलो तलामा हाम्रा खित्रीमित्री थन्किए । परालको गुन्द्री, त्यसमाथि उनीको काम्लो, न्यानो सिरकको बन्दोबस्ती गर्नु भएको रहेछ प्रतिनिधिले । प्रकाशजी र मलाई एउटै बिस्तरा लाग्यो । उहाँलाई हाम्रै कोठामा अलगसंग बिस्तरा लाग्यो । रातीको भोजनको सम्झना त्यति छैन मलाई । सायद भातै खाइयो होला । कसैको घरमा गएर खाइयो या दरबारमै कसैले पु¥याइदियो ? यस बारेपनि सम्झना छैन । तर सम्झना के छभने भोकै सुतिएको होइन । यो पनि सम्झना छ, मैले कहिल्यै नओढेको मलमलको खोल हालेको सिरक पहिलोपटक यही बल्कोट दरबारको बासमा ओढेको हुँ । यस हिसाबले आजपनि कतै जाँदा, पाहुना लाग्दा, यात्रामा होटेलमा बासबस्दा जब ओछ्यानमा परिन्छ, उही दशकौपहिले बल्कोट दरबारमा ओढेको मखमली सिरकको सम्झना झल्झली आउने गर्दछ ।

मिसन प्रतिनिधिलाई हामीलाई भन्नु पर्ने केही थिएन । हामी त छनौटमा परिसकेका विद्यार्थी थियो र उहाँका खित्रीमित्री र गुण्टा बोकेर यहाँसम्म आएका भरियामात्र थियौं । तर, मेरोलागि उहाँले तम्घासमा रवानापत्र नबनाइदिएको हुनाले यो एउटा काम भने बाँकी थियो । यस विषयले भने मलाई भित्रभित्रै खाइरहेको थियो । एकमनले भन्थ्यो, हैन कतै मलाई रवानापत्र नदिएर रित्तै फर्काउने त हैनन् ? तर, गुरु ज्ञानहरिबाट उहाँले रवानापत्रको मुल्य प्राप्तगरिसकेको हुनाले अर्को मनले भने पत्र प्राप्तहुनेबारे ढुक्क हुन सल्लाह दिन्थ्यो ।

तम्घासबाट खज्र्याङ्गसम्मको बाटो सजिलो थियो । किनकि देउराली काटेपनि अर्जुनको पाखोहुँदै खज्र्याङ्ग झर्न उकालो चढ्नु पर्दैन । तर खज्र्याङ्ग तरेपछिभने बल्कोटसम्म उकालो चढ्नु पर्दछ । त्यही उकालो चढाइको कारणले पनि होला, थकाइले लखतरान परिएको थियो । महिना पुषको अन्तिम वा माधको शुरुवात यस्तै केही थियो । त्यसैले जाडो आफ्नो उचाइमा थियो । बेलाबखतमा राणाहरु सुकुला होइबक्सने विशाल दरबारको बन्दकोठामा मखमली सिरकको ओतमुनी लपेटिएपछि जाबो पुषमाघको जाडोको के चलोस् ? अर्को्दिनको घामको झुल्को आगनमा नठोक्किएसम्म गहिरोनिद्राको काखमा समाहित भइएछ मस्तसंग ।

यो पनि पढ्नुहोस :   रवानापत्रको प्रशवपीडा -दीपक विश्वकर्मा

बिहान हामीदुईका आँखाखुल्दा उज्यालो भइसकेको थियो । तर हामी उठ्नुभन्दा पहिले नै प्रतिनिधि भने उठिसक्नु भएको रहेछ । उहाँले कापीकलम समाएर केही लेख्दै हुनुहुन्थ्यो बसेर । सायद मेरो रवानापत्र थियोहोला त्यो लेखाइ । बिहानको चियानास्ताको सम्झना छैन । तर, उहाँले हामीलाई भोकै भने बिदाइ गर्नु भएको होइन । यो कुराको भने राम्रो सम्झना छ मलाई ।

बल्कोटबाट बिदाइ हुनुभन्दा पहिले खामबन्दी रवानापत्र मेरो हातमा प¥यो । यहाँ मैले मेरो रवानापत्रको मात्र कुरो यसहिसाबले गरिरहेको छुकि प्रकाशजीले पत्र तम्घासमै पाइसक्नु भएजस्तो लाग्दछ । आज यो लिखत लेख्दा अमेरिका निवासी मित्र प्रकाशसंग सोधखोजगरी यकिन गर्न नसकिने भने होइन । तर, त्यसरी खोजीनीति गरेर लेख्दा यस सम्झनाको पुलिन्दाको मौलिकता नरहने हुनाले मेरो सम्झनामा जेछ त्यसैलाई उतार्न गइरहेको छु । जे होस् रवानापत्र हात प¥यो । यो पत्र एककिसिमको भिखारीलाई करोडौंको चिठ्ठा परेजस्तै थियो । जीवनको एक अनमोलक्षण थियो मेरो लागि सो घडी । हाम्रो समुदायबाट सम्भवतः गुल्मी जिल्लैबाट कुनै आवासीय स्कूलका पढ्ने सुनौलो अवसर पाउँदै थिएँ मैले । आज यो कुरो भन्दा कुनै संकोच हुँदैन, साँच्चै नै उहाँले आफ्नो हातबाट मेरो हातमा रवानापत्र थमाउँदा थर्थरी काँपेको थिएँ म । त्यस क्षणको संवेग, आवेग र उत्तेजनालाई संयोजन गरेर राखेको छु मनको एक कुनामा आज सम्मपनि मैले ।

जीवनकै एक अनमोल घडी थियो त्यो घडी । अनेकौ सम्भावनाहरुको प्रवेशद्वार अलिबाबाको सिमसिम ढोकाजस्तै । जुनढोकाबाट भित्र छिरिसकेपछि चाहेजति हिराजवारतका खजाना समेट्न सकिन्थ्यो । आवासीय सुविधा सहितको पढाइलेखाइ । अब्बल हुनसके विश्वविद्यालयहरुका चारैढोकाको स्वागत । सकेको र चाहेको विषय पढ्न पाइने । कहिलेकाँही गहन विषादमा पर्छु, हैन फेरि उही बल्कोट दरबार पुगेर अर्कोदन त्यस्तै रवानापत्र हात पर्ने हो भने, सो पत्रको कति इज्जत गर्दो हुँ ! अहो ! दिन त फेरि फर्किदैन । आफैले आफैलाई सान्त्वना दिन्छु— छवे जे हुनु थियो सो भयो, अब यसैमा हाँसीखुसी रहँदै अस्ताउँदो घामको पिछा गर्दैगर । अवसर हो, आउँछ कहिलेकाँही । विरलैले मात्र सदुपयोग गर्न सक्छन् त्यसको । तँ त्यही विरलै भित्र पर्न सकिनस् । अब चिन्ता नगर ।

यो पनि पढ्नुहोस :   बिदेशमा नाम, दाम र काम कमाउनुस -डा रामप्रसाद ज्ञवाली

प्रकाशजी र मैले आफ्नो अभिभारा पुरा ग¥यौं । मिसन प्रतिनिधिलाई सहीसलामत बल्कोट पु¥यायौं । बल्कोट अर्घाखाँची जिल्लामा पर्नेभएकाले सायद अर्घाखाँचीबाट विद्यार्थी छान्नेकाम भयोहोला । हुनसक्छ, सोही बल्कोट क्षेत्रका तत्कालिन समयका मुर्धन्य व्यक्तित्व मानबहादुर ज्ञवालीका सुपुत्र कुशल भलिबल खेलाडी तथा समाजसेवी हालमा अमेरिका निवासी प्रीयमित्र मोहन ज्ञवाली चुनिएका हुनन् । सायद गुल्मीचारपाला निवासी भरत थापा पनि त्यहीँ केन्द्रबाट छानिए हुनन् ।

जसरी तम्घासबाट बलकोट पुग्दा हामी दुई थकाइले लखतरान भएका थियौं, त्यो थकाई फर्केर तम्घास पुग्दा भने मलाई अलिकति पनि महशुस भएन । । खै किन लागेन ? यकिन भएन । सायद रवानापत्रको तापले होला । यसैबीच एउटा कुरोले भने आजसम्म पनि सताउँछ, ती मिसन प्रतिनिधिले पैसा तिरेर पढ्न जाने साथीहरुलाई बल्कोटसम्मको भरिया किन नबनाएका हुनन् ? खै किन बनाएनन् ? प्रश्न आजसम्म पनि अनुत्तरीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य