शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

गजल -कोमल भट्ट

५ माघ २०७६, आईतवार गजल -कोमल भट्ट

(बहरे रमल मुसम्मन् मशकूल )

छ अनित्य जिन्दगानी गतिलो भएर बाँचौँ
कटुता समाप्त पारी रसिलो भएर बाँचौँ

नहिडौँ खराब बाटो न पुगौँ निषिद्ध ठाउँ
न बिगार होस् कसैको सजिलो भएर बाँचौँ

कति छन् यहाँ दुखेका,असमर्थ,बेसहारा
ममता अनन्त बाँडी गुनिलो भएर बाँचौँ

नलुटौँ खुसी कसैको नभुकौँ निरीहलाई
उपकार मात्र गर्ने रुदिलो भएर बाँचौँ

मन होस् पवित्र हाम्रो सुरधेनु झैँ खुलस्त
सब भोक प्यास हर्ने दुधिलो भएर बाँचौँ

नबनोस् मुहार कालो नझुकोस् कदापि शान
झलमल्ल चाँद जस्तै झरिलो भएर बाँचौँ

न त होस् अठोट कच्चा न त हून् कतै तगारा
गति होस् सदैव उम्दा पहिलो भएर बाँचौँ

बहकाउमा नलागौँ नउडौँ बतास सँगै
नगरौँ विचार कैले “धमिलो भएर बाँचौँ ”

– कोमल भट्ट
चन्द्रागिरी नगरपालिका-१३, काठमाडौँ ।
हाल : प्रवास

(कोमल भट्टको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

यो पनि पढ्नुहोस :   मुक्तककार सुचिता काफ्लेका ५ चोटिला मुक्तकहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य