शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

समसामयिक विषयमा गम बयम्बु मगरका मुक्तकहरु

६ माघ २०७६, सोमबार समसामयिक विषयमा गम बयम्बु मगरका मुक्तकहरु

मुक्तक – एक

शासकहरुको छद्म भेषी राष्ट्रवाद नहटेसम्म
राष्ट्रको हरेक संरचनामा पक्षपात नहटेसम्म
समृद्धि राष्ट्रको परिकल्पना नगर्दा हुन्छ यहाँ
राष्ट्र निर्माताकै सोंच,भ्रष्ट र खराब नहटेसम्म

मुक्तक- दुई

राष्ट्रिय सम्पत्तिको व्यापक दोहन भएपछि
राष्ट्रसेवक नै राष्ट्रलाई डस्ने गोमन भएपछि
देखेर पनि नदेखे, राष्ट्र बचाउँछ र त्यस्ताले ?
राष्ट्रको संरक्षक कै रतन्धो लोचन भएपछि

मुक्तक -तीन

बोल्ने आँट नभएर ओंठहरु सुके जस्तो
वैरीसंग हार खाएर शिर तल झुके जस्तो
देश दुख्दा हरायौ त, कि बोल्नै डरायौ त
विरालो देखेर मुसा, दुलोभित्र लुके जस्तो

मुक्तक -चार

राष्ट्रिय हित भन्दा वितण्डा नदेखाउ जनतालाई
सत्ता र सम्पत्ति भागबण्डा नदेखाउ जनतालाई
देश रहे तिमी रहौला,गरिब देशका धनी नेता हो
दुर्गतिपूर्ण निहुरेको झण्डा नदेखाउ जनतालाई

मुक्तक -पांच

भनेकै हो उसलाई छिटो कमाउन राजनीति गर हुन्छ
चार पाँच वर्ष पछि तिम्रो नाममा कार अनि घर हुन्छ
नेतागिरी गर्न नमानेपछि, बाङ्गो व्यवहार नजानेपछि
अन्त्यमा जिउने आधार खोजेर सात समुन्द्र पर हुन्छ ।

– गम बयम्बु मगर
निस्दी-६ अर्चले,पाल्पा
११, पौष-२०७६

यो पनि पढ्नुहोस :   पाँच स्रष्टाका पाँच मुक्तक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य