Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

लोक सिर्जना (कथा) -गम बयम्बु मगर

लोक सिर्जना (कथा) -गम बयम्बु मगर

images
  'ठुलो भएपछि के बन्ने बाबू ?' 'लाहुरे बन्ने हो।' कसैले सोधेमा यही जवाफ दिने रहेछु सानोमा। ठुलो भएपछि आमाले सुनाउनु भयो र थाहा पाएको हो। लाहुरेहरुको बस्ती रहेको मगर गाउँ पाल्पामा जन्मिएर हुर्केको मान्छे। मेरो बा पनि इण्डियान आर्मीको लाहुरे। गोर्खा रेजिमेन्ट फोर्टिन जिटीसी, फोर जिआर- सुबाथु सिमलाबाट आर्मी जीवन शुरु गर्नु भयो। हवल्दार र्याङ्क बाट पेन्सन आउनु भएको भूपु आर्मी। गाउँको लगभग धेरै घरमा इण्डियान आर्मीका लाहुरेहरु थिए। त्यस कै प्रभाव हुन सक्छ गाउँ मा सानै देखि छोरा मान्छे लाहुरे हुनु पर्छ। लाहुरे बन्ने हो भनेर सिकाई दिने। हाम्रो घरमा सधैँ जसो आमा र म हुन्थेँ। बा उतै पल्टनमा। म दस बर्षको हुँदा बल्ल आमाले बहिनी जन्माउनु भयो। बा ले पल्टनमा हुँदा कहिले देहरादुन। कहिले राजस्थान। कहिले पुने मा पोष्टिङ् भएको खबर चिठीमा लेख्नु हुन्थ्यो। आमाले पढ्न नजान्ने। बा ले पठाउनु भएको चिठी सधैँ मैले पढेर आमालाई सुनाउथेँ। म सानो हुँदा चिठीमा जे अक्षर लेखेको छ त्यो सरसर्ती पढेर आमालाई सुनाउथेँ। चिठी पढ्दै गर्दा आमाले कहिले हाँसिलो, कहिले निन्याउरो मुख पार्नु हुन्थ्यो। ठूलो भएपछि थाहा पाएँ, पतिको यादले छटपटाएकी पत्निको हालत र अवस्थाको झलक रहेछ त्यो। महिना दिन। पैंतालीस दिनलाई बा छुट्टीमा आउनु हुन्थ्यो। त्यो समयमा मलाई छुट्टै गर्व हुन्थ्यो। बा टेपरिकार्ड घन्काएर आउनु हुने। हाम्रो घरमा लाहुरे हेर्न लाई जम्मा हुन्थे। मिठाई बाँड्ने मेरो जिम्मा। लाहुरे आएको रात झ्याउरे नचाएर रमाइलो गर्थे। प्राय साँझ पख गीत सुन्नलाई आँगन र पिँडीमा मान्छेहरुको भिड। क्यासेट फेरिफेरि बजाई दिन पर्ने। कहिले लोक गीत। कहिले दोहोरी गीत र कहिले लाहुरे को कथामा गाएको गायने गीतहरु। कम्ताको शान हुन्थ्यो त्यतिखेर मलाई ? म भन्दा आमा बढी खुशी हुन्थिन् होला। तर छुट्टी सकिएर बा पल्टन जाने समयमा भने आमाको आँखा बाट सधैँ आँसु बग्ने। त्योभन्दा नजाति अरु बेला लाग्थेन। त्यस्तो दृष्य देखेपछि भने मनमा लाहुरे हुनु हुन्न भन्ने लाग्थ्यो। ठुलो भएपछि सोंच्न थालेँ-मिलनमा खुशी नहोस् पनि कसरी ? संगै जिउने कसम खाएका जोडीहरु बर्षौं पछि मिलन हुन्छ। छुट्ने बेलामा आँसु नबगाओस् पनि कसरी ? पल्टनमा गएर घर नफर्केका घटनाहरु गाउँ छिमेकमा नघटेको होईन। मिलनको खुशी र बिछोडमा दु:ख लाग्ने कुरा आफैंले कसै सित प्रेम गर्न थालेपछि बल्ल थाहा पाएको हो। बा लाहुरे हुनु भए पनि, लाहुरे हुनै पर्छ कहिल्यै भन्नु भएन। मेरो नाम लोकविक्रम थापा। बहिनी मोहिनी थापा। तर गाउँ मा सबैले लोके भनेर चिन्थे मलाई। 'हेर लोके, मैले नै भोगेँ गुलामी र मुग्लानी जिन्दगी। तिमी पढेर नेपाल मै जागिर खानु पर्छ। आफ्नै देशको सेवा गर्नु पर्छ।' छुट्टीमा आउनु भएको बेला बा ले भन्नु भएको अझैँ पनि दिमागबाट हटेको छैन। बा को कुराले बिस्तारै मेरो सोंच बदलिन थाल्यो। बा पल्टन फर्कनु भएपछि आमा प्राय जसो टोलाउने, छटपटिने र एकान्तमा रुनु भएको कति पटक देखेँ। त्यसले पनि मलाई सोंच्न बाध्य पार्थ्यो। बा पनि घर मै बस्ने भए त छुट्टै रमाईलो हुने रहेछ। जवानी उमेर छँदा सम्म अर्कैको देशमा लडेर हिड्नु पर्छ लाहुरे हरु। अनि बुढेशकाल लागेपछि बल्ल पेन्सन पकाएर घरमा बस्ने गरि आउँछन्। उमेरमा छताछुल्ल बैँसको जवानी यादै यादमा खेर फालेर बुढेशकाल लाएपछि के काम ? "लगन पछिको पोते के काम?" भने जस्तै। जब क्याम्पसतिर लागेँ, एक्लोपनमा बा र आमाको व्यथा सोंचेर यस्तै थुप्रै विचारहरु मनमा ओहोर दोहोर गरेर खेल्न थाले पछि भने म लाहुरे हुँदिनँ भनेर निश्चाय नै गरेको हुँ। क्याम्पसमा पढ्नको लागि तानसेन जानू पर्यो। मेजर ईङ्गलिस् मेरो सब्जेक्ट। बहिनी भने आमासंगै बसेर गाउँको स्कुलमा पढ्थी। मेरो छुट्टीमा घरमा फर्किँदा उसलाई केही न केही उपहार लिएरै जानु पर्थ्यो। नत्र रोएर सताउथी। एक दिन हतार भएर तानसेनमा केही किन्न पाईनँ। गाउँ नजिकैको दुकानतिर किनेर लगि दिन्छु भनेर सोंचेको हो। बर्षातको समयमा दुकान नै बन्द गरेर रोपाइँ गर्न हिडेछन् दुकानेहरु। त्यो पटक मोहिनीलाई केही ल्याइएनँ। शुरुमा मलाई देखेर निकै रमाई। केही ल्याउनु भएको होला भनेर दिन कुर्दै थिई। तर केही पनि नदिए पछि आफैंले झोला खोलेर चहारिन्। केही भेट्टाएन । त्यो साँझ भातै खाइनिन् उसले। साह्रै दु:ख लाग्यो। दाजुले गर्ने मायाँ र बहिनीले दाजु सित गर्ने मायाँको आश त होला यो सबै!   व्याचलर पढ्दै गर्दा क्याम्पस पढाइको समय सकेपछि बचेको समयमा केही काम गरुँ कि भन्ने सोंच पलायो। कति बा को पैसा मात्रै कुर्ने। पकेट खर्च जुटाउन सके बा को पैसा पनि हल्का बच्ने। अनि मोहिनी पनि बढ्दैछे। उसको लागि झन खर्च बढ्न थाल्छ। बा लाई पनि साहयता हुन्छ। यस्तै सोंचले काम खोज्ने प्लान बनाएँ। तानसेन मै एउटा स्थानीय एफएमलाई कार्यक्रम प्रस्तोता को आवश्यक परेको विज्ञापन आयो। एक हप्ते रेडियो उद्घोषण तालिम लिएको प्रमाण पत्र थियो मेरो। संयोग, रेडियोले समाचार वाचन देखि लोक साँगीतिक कार्यक्रम "लोक सिर्जना" चलाउनलाई गीत संगीत बारे ज्ञान भएको र गाउन सक्ने प्रस्तोता खोजेको थियो। म गाउँ घरमा हुर्केको केटो। सानै देखि स्कुलमा हुने कार्यक्रमहरु मा गीत गाएर सबैको प्यारो भएको विद्यार्थी। घाँस,दाउरा गर्दा वन पाखामा गीत गाएर हुर्केको युवा। लाहुरबाट बा घर आउनु हुँदा टेपरिकार्ड क्यासेट बजाएर नयाँ पुराना गीत सुनेर ठुलो भएको मान्छे। आफुलाई दाबेदरमा राखेर आवेदन हालियो। छनौटमा परेँ। २०६३ सालतिरको कुरा हो यो। त्यहाँबाट संचारकर्मीको करियरमा काम गर्ने अवसर पाएको हो। आवाजको दुनियाँमा छुट्टै पहिचान बनाउने अभिलाषा बोकेर अघि बढेको लोकविक्रमको आवाजमा हरेक दिन विहानीको शुभ प्रभातसंगै छ बजे "आजको ताजा खबर अपडेट"। साँझ छ बजेर तीस मिनेटमा स्थानीय गतिविधीहरुको सँगालो "आज हाम्रो सेरोफेरोमा" हरेक शनिबार, मंगलबार र विहीबार सबको मनको ढुकढुकी लोकविक्रमको साथमा "लोक सिर्जना" कार्यक्रमहरु एफएममा गुञ्जिन थाल्छन्। क्याम्पसको पढाईलाई प्राथमिकता दिएर रेडियो प्रस्तोता करियरको यात्रा पनि संगसंगै अगाडि बढ्छ।   एफएममा आवाज दिन थालेपछि भने लोके, अब लोके मा मात्र सीमित रहेनन्। आवाजको दुनियाँमा सुपरिचित आवाज हुँदै जान थाल्यो। लोक सिर्जनाको शनिबारिय श्रृंखलामा प्रत्यक्ष फोन वार्ता र प्रतिभाशाली स्रोताहरुले आफ्नै स्वरबाट गीत गाएर सुनाउने कार्यक्रम रहेको थियो। कार्यक्रमले छोटो समय मै स्रोताहरु को मन जितेको थियो। बा आमाले पनि संचारकर्मी प्रस्तोता करियरको लागि सहयोग र हौसला दिईरहनु हुन्थ्यो। पढाईलाई निरन्तरता दिन सुझाउँथे। पढाईको खुड्किलो र प्रस्तोता करियरको सफलताले मन उत्साहित बनाउँदै लग्यो। जिल्ला भित्र र जिल्ला बाहिर हुने मेला महोत्सवहरुमा अनिवार्य जस्तै हुन थाल्यो लोकविक्रमको उपस्थिति। कहिले गीत गाउनलाई गायकको रुपमा। कहिले कार्यक्रम सञ्चालकको भूमिकामा। आफ्नो कला र गलालाई चिनाउदै एक कुशल कलाकारको रुपमा यात्रा सफलता तर्फ बढ्छ।   कार्यक्रमको चर्चा भैरहँदा लोक सिर्जना कार्यक्रमको शनिबारिय श्रृंखलामा त्यो एक दिन निकै महत्वपुर्ण दिन बन्यो। जिन्दगीमा एउटा संयोग जुर्न आयो। सुखद संयोग थियो लोकविक्रमको लागि। प्रत्यक्ष फोन वार्ता र प्रतिभा प्रस्तुतीको प्रशारण अन एयरमा जाँदै थियो। एफएम स्टेशनको फोन लाईन मागुल्मी बडागाउँबाट सिर्जनाको फोन कनेक्ट भएको थियो। शुरु देखि नै लोक सिर्जना सुन्ने सिर्जनाले पहिलो पटक रेडियोको प्रत्यक्ष फोन वार्तामा बोल्दै थिईन्। छोटो परिचय पछि स्वरकी धनी सिर्जनाको सुरिलो आवाज गुञ्जियो। "तम्घास माथि रेसुङ्गाको वन......गीत गाएर गईन्। उसको स्वर र गायकी कलाले पहिलो पटक मै लोकविक्रमको मन जित्न सफल भएको थियो।   क्याम्पसको कलास सकिए पछि टुँडिखेल, श्रीनगर र तानसेन बजार डुलेर समय विताउने लोकविक्रमलाई संचारकर्मी भैसकेपछि समय मिलाउन मुश्किल पर्ने अवस्था आयो। आफ्नै पढाइ, स्टेशनको कार्यक्रम र स्टेजको कार्यक्रमहरु यस्तै यस्तै। सिजनमा व्यस्तताले भ्याई नभ्याईको अवस्था पनि आयो। लोक सिर्जनाको शनिबारिय श्रृंखलामा जोडिएकी गुल्मेकी सिर्जनाले एफएफको अन एयरमा मात्र सीमित नराखी लोकविक्रम को दिलमा बास खोज्दै नजिकिँदै आईरहेको कुरा, जुन दिन उसले एफएम स्टेसनका प्राविधिक मित्र सन्तोषसंग मोबाईल नम्बर मागेर कल गर्दै नजिकिन थालेपछि थाहा भयो। त्यहाँवाट शुरु भयो साँगीतिक कार्यक्रम "लोक सिर्जना" का प्रस्तोता 'लोक' र स्रोता 'सिर्जना' को प्रेम कथा। सिर्जनालाई लोकविक्रमको आवाज सुन्न र भलाकुसारी को लागि शनिबार नै कुरिरहन परेको थिएन। मोबाईलमा व्यालेन्स हुनु पर्थ्यो। नेटवर्कले काम गरेको ठाउँ चाहियो। बस...। कहिले कलमा। व्यालेन्स नभए मेसेजबाट समय मिल्दा सम्म मनका कुराहरु साटासाट गर्थ्यौं। नदेखेको, नभेटेको अनि नचिनेको दुई फरक व्यक्तिहरु बोलचाल बढ्दै गएपछि नसोंचेर प्रेमको बिरुवा बढ्दै गयो। प्रेम लहराउँदै, झङ्गिदै जान थाल्यो। रेडियोकर्मी लोकविक्रम "लोकु" र सिर्जना "सिर्जु" को नामले बोल्न थाल्यो। जुन नाम, एक अर्कोले मन पराएर राखेको नाम थियो। फोनबाटै निम्तो दिएर भेट्न बोलाएँ सिर्जु लाई। तानसेन मा भेट्ने सल्लाह भयो। बोलीले तान्यो। विश्वास जित्यो र देख्दै नदेखेको। भेट्दै नभेटेको मान्छेलाई भेट्न आउने बाचा भयो। भेट्न लाई सिर्जु तानसेन आईपुगिन्। उसको अन्टी पनि बसन्तपुरमा बस्नु हुने रहेछ। अन्टीलाई भेट्ने बहाना पारेर घरबाट निस्केकी सिर्जु खासमा मलाई भेट्ने ठुलो प्लान बनाएर आएकी हुन्। बतासेडाँडामा उसलाई लिन जाने मेरो जिम्मा। दिउँसोको चार बजेतिर मोबाईल मा घण्टी बज्छ। सिर्जु आईपुगिन् भन्ने थाहा भयो। मेहलधाराको कोठालाई भोटे ताल्चा ठोकेर उकालो लम्किन्छु। प्रतिक्षालयमा तीन जना नारी मुहारहरु देखा पर्छिन्। सिर्जु लाई चिन्नको लागि अलिक टाढै बाट उसको नम्बरमा कल गर्छु। सानो ह्याण्ड ब्यागबाट मोबाईल निकालिन्। अठार उन्नाईस वर्षकी। जिउडाल चट्ट मिलेको। अनुहार ढपक्क बलेकी रुपकी धनी। कम्मर मुनि सम्म कालो कपाल फिजाएकी बान्की परेकी सुन्दर यौवनाले। उनै थिई मलाई भेट्न आउने सिर्जु अर्थात सिर्जना थापा मगर। हात उठाएर इशारा गरेँ। मलाई हेरेर मुसुक्क मुस्कुराइन्। र दुई चार पाईला म तिर बढाईन्।   'तपाईं सिर्जना थापा मगर ?' 'तपाईं लोकविक्रम थापा ?' प्रश्नको जवाफ दिन छोडेर दुबैले एक एक प्रश्न पेश गरियो। अनि दुबैले हो हो भन्दै टाउको हल्लाएर निश्चय गरियो। सामान्य हालखबर र परिचय संगै तानसेन सम्म आउँदा भएको यात्राको सुख, दु:खको अनुभव शेयर पछि नास्ता खानलाई बतासेतिरको रेष्टुरेण्ट रोजाईमा पर्छ । म उसलाई देखेर मोहित। उनी मलाई भेट्न पाउँदा मख्खै। नास्ता लिएपछि कुरा गर्दै उकालो लाग्यौं श्रीनगर डाँडाको ढाड टेक्नलाई। श्रीनगरको प्रकृति र त्यहाँबाट देखिने मनोरम दृष्यहरुले साथ दिईरहेको थियो नव प्रेमीलाई। हुन त भेट हुन मात्र बाँकी थियो। फोनमा भने चिरपरिचित भैसकेको। धाक खोलेर बोल्न सक्ने भैसकेको हो पहिले नै। 'थाहा छ लोकु..जब पहिलो पटक "लोक सिर्जना" भनेर एफएममा कार्यक्रम सुनेको थिएँ नि। निकै चासो लिएर प्रस्तोताको नाम बुझ्न खोजेँ। सुन्दै जाँदा जब लोकविक्रम थापा भन्ने पत्ता लगाएँ! म त असाध्य उत्साहित भएँ। रेडियो कार्यक्रमको नाम राख्ने मान्छेलाई 'थ्याङ्क्स् गड' भन्न पुगेको थिएँ। किन भन्नु न ?' 'किन होला सिर्जु त्यति साह्रै ?' 'तपाईको नाम लोक र मेरो सिर्जना। हामी दुबै जनाको नाम मिलाएर राखेको "लोक सिर्जना" हेर्नुस् त कति संयोग मिलेको हैन ?' निकै खुशीले मुस्कुराउँदै सिर्जनाले विगतमा आफुले कल्पना गरेको कुरा बताएकी थिई। संयोगले लोक र सिर्जनाको भेट गराएरै छाड्यो समयले पनि। 'हो त है ? मैले त ख्यालै नगरेको रहेछु सिर्जु। यो सबै समयको खेल हो। न देखेका थियौं। न चिनेका थियौं। केवल चिन्यौं र चिनायौ रेडियोको कार्यक्रमले। देखेको मात्र पाईन्छ भन्ने छैन। लेखेको पुग्छ रे। हामी आपसमा मिल्न लेखेको रहेछ भेट्यौं।' मेरो कुरा सुनेर उसले आकाशतिर हेरी अनि भगवानलाई पुकार गरिन् दुई हात जोडेर। त्यतिखेर श्रीनगरमा घुम्दै गफमा मस्त थियौं सिर्जु र म।   उसले भरखरै प्लस टु को परीक्षा दिएर बसेकी। उसको इजुकेशन फ्याकल्टी मेजर ईङ्गलिस। मेरो संग मिल्ने सब्जेक्ट। बाबा जिल्ला प्रशासन कार्यालय तम्घासमा खरिदार जागिर। आमा गाउँ कै स्कुलमा पढाउनु हुने। भाई बाबा संगै तम्घासमा बसेर स्कुल पढ्ने। पहिलो पटक समीपमा बसेर माया प्रितिका कुरा साट्यौं। अनि गोधुली साँझमा उसलाई अन्टीको घर सम्म पुर्याएर भोलि भेट्ने बाचा सहित रुमको ताल्चा खोल्नलाई मेहेलधारामा आईपुग्छु। खान पिन गरेर भोलि बिहानको लागि केही तयारी गरि वेडतिर ढलेको हुन्छु। खै, त्यो रात के भएको हो ? निन्द्रा माईततिर गएछिन् कि कसो! आउँदै आउँदैन। भित्ते घडीले सुत भन्दै जिस्याउँछ। पटक्कै आउँदैन। बरु आउँछ त केवल सिर्जु को रुप र जिउडाल आँखा भरि झल्झली। उसको चिम्से चिम्से आँखा, थुरुट्ट परेको नाक,गोरो र बाटुलो परेको अनुहार घरिघरी आँखा लाई छोप्ने गरि आईरहन्छ। उसको रुप आँखामा देखेपछि के के सोंच्न पुगेछु। कल्पनामा डुबेर कहाँ पुगेछु। लेख्न पनि लाज लाग्ने। "घरमा बा आमा अगाडि उभिँदै रहेछौं रे हामी दुई जना। दुबै जनालाई सेतो रङ्गको टीका लगाई दिँदै रहेछन्। मतलब मैले सिर्जुलाई घरमा लिएर गएको रे। अनि बा आमाले विहेको टीका लगाई दिदै देख्छु।" मुसाले खाटमुनि राखेको गिलास खत्रङ् गरेर ढाल्दा बल्ल झसङ्ग भएँ। हैट....कस्तो म पनि..। एक्लै पनि लजाएको थिएँ। मनलाई सम्हाल्छु। खै कतिखेर निदाएछु। विहान घरवेटीले आँगनको तुलसीमा पुजा गर्दै घण्टी बजाउँदा व्युँझिएँ। सिर्जु लाई पनि आधारात सम्म निन्द्रै लागेन रे पछि बताएकी थिई। विहान रेडियोमा पुग्ने मेरो दिनचार्य नै थियो। नुनको सोझो गर्नै पर्ने। जिम्मेवारी पूरा गरेर फर्केपछि खाना बनाएर खाएँ। उसलाई एक कल फोन गरेर शितलपाटी मा आउन भन्छु। त्यो दिन क्याम्पसको कलसतिर एपसेन्ट भएर डबल जिन्दगीको इन्ट्रान्स परीक्षा दिनलाई फारम भर्ने तयारी गर्दै थिएँ। सिर्जु लाई लचक लचक कम्मर मर्काउँदै आएको टाढैबाट नियाली रहेँ। हिजो मात्रै भेटेको हो। तर यी आँखाहरुले दुई दशक अघि देखि हात समाएर डुलेको कुनै प्यारो पात्रसंगको नाता जति नै नमेटिने लहछाप हानिसकेको रहेछ। सिर्जु अगाडि नपर्दा पनि देखेकै छ। अगाडि नै आएर उभिएपछि त नदेख्ने कुरै भएन।   एकछिन् गफ गरेर बसेपछि एफएम स्टेशनतिर घुमाउन र केही जानकारीहरु दिलाउन उतै लैजान्छु। एफएमका स्टाफहरुसंग भविष्यको एक कुशल गायिका। हाम्रो लोक सिर्जना कार्यक्रमकी नियमित स्रोता। लोक संगीतलाई असाध्य मायाँ गर्नुहुने गुल्मीकी सिर्जना थापा मगर भनेर चिनाउँछु। अरु कुराहरुलाई नेपथ्य मै सीमित राखेर। अन एयर, अफ एयर। प्राविधिक कक्ष,सिस्टमहरु, रेकर्डिङ्ग स्टुडियो आदि जानकारी दिलाए पछि त्यहाँबाट निस्कियौं। विगतका कुरा। केही वर्तमान र भविष्यमा गर्ने प्लानहरु साथै केही प्यारका कुरा गरेर बस्यौं टुँडिखेलमा। मनका कुराहरु लाई बिट मार्दै यसपालीको भेटलाई यति मै विश्राम गर्ने सहमति भयो। र निकट भविष्यमा एक अर्काको हुने बाचा गर्यौं। त्यो भन्दा पहिले एक पटक सिर्जु लाई मेरो गाउँघर देखाउन लैजाने पनि सल्लाह भयो। बसपार्कमा गएर भोलि विहानलाई तम्घासको लागि टिकट बुकिङ् गरियो। 'यसपाली तिमी एक्लै जानू। पछि दुईटा सिट बुक गरेर काखमा सिरानी दिएर सुताएर संगै जाउँला सिर्जु' भनि दिँदा फिस्स हाँसिन् उनी। बसन्तपुर सम्म उसको अन्टीकोमा पुर्याई बाई गर्दै फर्केँ। उसलाई छुट्न मन लागेको थिएन। लाग्न त मलाई पनि लागेको थिएन। तर मनलाई ढुङ्गा जस्तै कडा बनाएको थिएँ परिस्थिले गर्दा। उसले ढोकामा उभिएर बाई गर्दै रही मेरो आँखाको क्षमताले देख्न भ्याउँदासम्म। हामी भौगोलिक दुरीले टाढा थियौं। तन फरक लोकेसन मा थियो। तर मन संगै थियो। दुई मुटुहरु कता कता टाढा भएपनि धड्कानहरुको चाल एउटै मान्थ्यौं। त्यसलाई अझैँ नजिक पार्न मोबाइल सेट थियो। हाम्रो मनलाई जोडिरहन सिमकार्डको नेटवर्कले सहयोगी भुमिका खेलेको थियो। भगवानले पनि 'तँ आँट म पुर्याउँछु।' भन्छ अरे। 'जहाँ ईच्छा त्यहाँ उपाय' भने झैं हुँदो रहेछ। भाग्यवास रेसुङ्गा महोत्सव लाग्ने भएछ तम्घासमा। फागुनको महिना। लोकदोहोरी गीत प्रतिष्ठान- गुल्मी शाखाले त्यो मेलामा मेरो नाम पनि कलाकारको लिस्टमा राखेर ठुलो गुन लगायो। निम्तो आयो। तम्घास जाने भन्ने बित्तिकै पहिलो नम्बरमा सिर्जना कै नाम सम्झिन पुगेँ।जानु भन्दा तीन दिन पहिले नै उसलाई खबर पुर्याउँछु। रमाएर उसले पनि समय मिलाउने बाचा गरि। उतै आउने बेलामा रेसुङ्गा पनि घुमाउनु। अनि तिम्रो परिवारसंग पनि भेटघाट र चिनजान गराउने कार्यक्रम बनाउनु भन्ने मैले अनुरोध गरेँ। म तम्घास जाने दिन कुर्दै थिएँ। उसले मलाई स्वागत गर्ने दिन गन्दै थिई। त्यो दिन पनि आयो। गईयो र गाईयो तम्घास महोत्सवको स्टेजमा चढेर। सिर्जु ले पनि गाईन्। अन्तमा सिर्जु ले मलाई बगैँचा सम्म लिएर गई। सिर्जु र म पुग्नु भन्दा पहिले उसले बाबा र आमालाई बोलाई सकेकी। बगैँचामा बसेर पहिले उसले चिनाई बाबा आमा संग। मैले पनि फेम्ली हिस्टोरी सबै बताई दिएँ। उहाँहरु पनि खुशी हुनु भएको थियो। 'मीठो गाउनु हुँदोरहेछ बाबुले।' बाबा आमा दुबैबाट प्रशंसा पाएको थिएँ। 'हाम्री सिर्जनाले पनि भविष्यमा कलाकार भएरै चिनिने ईच्छा गरेकी छिन्। खै कतिको सक्सेस् हुन्छे।' छोरीको रहर सुनाउनु हुदैँ बाबा। 'उद्देश्य लिएर निरन्तर लागिपरे अवश्य सक्सेस हुन्छ। तर उसले आफ्नो पढाईलाई प्राथमिकता दिनु पर्छ बाबा।' 'सही कुरा गर्नु भयो बाबुले।' आमा बोल्नु भयो। 'बाबा, सिर्जनालाई एक दिन हाम्रो गाउँ घुमाउन लैजाने विचार गरेको। उसले पनि चाहेकी छिन्।' 'हुन्छ नि। तर यति चाँडो किन? बिस्तारै भैहाल्छ नि। यति साह्रै हतार नगर्ने कि बाबू ?' 'सबै भन्दा ठुलो कुरा त विश्वास हो बाबा। नभए कुनै साथीलाई संगै पठाउनुस् न। उनीहरु साथी साथी रमाईलो पनि हुने। हजुरहरु पनि ढुक्क हुने।' त्यो मेरो अनुरोध लाई भने नाई भन्नु भएन। 'हुन्छ नि बाबू। अहिले यसको पढाइ पनि छैन। सल्लाह गर्नु तपाईहरु। समय मिलाउनु र बताउनु अवस्था हेरेर विचार गरौंला।' सिर्जना मलाई हेरेर मुस्कुराउँदै थिइ। उहाँहरुको बोली सुन्दै थाहा हुन्थ्यो शिक्षित परिवार। नरम स्वभावको। मिजासिलो। हाँसिलो र पोजेटिभ थिङ्किङ्ग भएको। आज यतै संगै बसौंला बाबू भन्ने आग्रह थियो। कुनै दिन जुर्ला नि संगै बसेर मीठा मीठा बात मारेर बस्ने भन्ने जवाफ दिँदा उहाँहरु मुखामुख गरेर मुस्कुराउनु भयो।   'आमा, हजुरहरु रुम जानुस्। म उहाँलाई एकछिन् बजार घुमाएर आउँछु।' 'टाईममा आउनु नि फेरि। सिर्जनालाई अलिक छिटो पठाई दिनु ल बाबू!' 'ढुक्क हुनुहोस् आमा। रुमसम्म मै छोड्न आम्ला नि।' यसरी विश्वास्त गराएँ। यसरी भेट्न पाउँदा खुशी लाग्यो भनेर छुट्टिएयौं त्यहाँबाट। बैशाखको पहिलो हप्तामा रामपुर आउने भईन् सिर्जना। तम्घासको भेटमा मेरो विश्वास जित्नु भएछ शायद। सिर्जु लाई एक्लै पठाउने भयो परिवारले। मेरो घरतिर बा र आमालाई खबर भयो। जाने दिन पनि आयो। एफएमतिर छुट्टी मिलाएर लागियो सिर्जु संगै रामपुरतिर को यात्रामा। घरमा र आफन्तहरुसंत चिनजान भयो। हाम्रो गाउँ देखेर उनी रमाई। उसलाई मन पर्यो रे। मन परे यतै बस्न आउने नि भनेर जिस्किँदा उसले लजाउदै- 'छिट्टै मेरो बाबा संग हात माग्न आउनु' भनेर हाँसेकी हुन्। सिर्जनाको बोली, वचन र व्यवहार छोटो समयमा नै पढिसक्नु भएछ मेरो बा आमाले। एकदिन आमाले पनि सुटुक्क सोध्नु भएको थियो। 'बाबु, नानीलाई यतै टीकाटालो गरेर घर भित्र्याउँदा हुँदैन?' 'हैन आमा, यहाँ सम्म एक्लै आउन उसको बाबा आमा लाई ठुलो विश्वास दिलाएको छु। हुँदैन। नआत्तिनुस् लेखेको छ भने ढिलो चाँडो यही घरकी बुहारी हुन्छे। तर अहिले हैन।' त्यतिखेर सिर्जना भने मोहिनीसंग धारामा पानी भर्न गएकी थिई। तीन दिनसम्म हाम्रो गाउँतिर घुमाएपछि उसलाई छोड्न तम्घाससम्म पुगियो। सिर्जुले भनेकी थिई- 'यहाँसम्म आउँदा हाम्रो घर पुगेर जानुस्।' तर समय मिलाउन नसकेर गइनँ। सिर्जना सकुशल घर फर्किन्। तम्घाससम्म छोड्न आउनु भयो भनेर सुनाईछे। एकदिन अनसेभ नम्बरबाट फोन आयो। उठाउँ कि नउठाउँ भएर पहिलो चाहि मिस्डा कल भयो। दोस्रोमा उठाएँ। "बाबु, म सिर्जनाको बाबा! तम्घासबाट।" "नमस्कार बाबा।" 'सिर्जनालाई छोड्न यही आउँदा हाम्रो घर सम्म पुग्न कस्ट गर्नु भएपनि हुने थियो। म यता भएपनि आमा घरमै हुनुहुन्थ्यो।' 'त्यस्तो हैन बाबा। सिर्जनाले भनेकी हुन्। मैले टाईम मिलाउनै नसकेर हो। कामतिर पनि सोंच्नै पर्ने। अप्ठ्यारो नमान्नोस् बाबा। आउँछु म कुनै दिन।' 'अरु कामले यता आउनु भएछ भने पनि निशंकोच हामी लाई सम्झिनु होला। हामीलाई टाढाको नसोंच्नु बाबू।' 'हवस...' भनेर सम्वाद सकियो। मन मनै सोंच्न थालेँ अब कुरा मिल्ला जस्तो छ। यही हो बेला बाबासंग सिर्जु को हात माग्ने भनेर फुरुङ्ग भएको थियो त्यो दिन। हामीले वैधानिक र कानुनी रुपमा मात्रै सम्बन्ध जोडेको थिएन। तर आउ जाउ। फोनमा कुरा गर्ने। मनका कुरा खोल्ने सुख, दु:ख पोख्ने गर्थ्यौं। यता मेरो बा आमालाई पनि स्वीकार्य र उता सिर्जुको बाबा आमालाई पनि मौन स्वीकृति जस्तै लाग्थ्यो कुरा बुझ्दा। ०००० एक दिन सिर्जुले आफ्नो घरमा आउन निम्तो गरिन्। असोजको महिना। शरद ऋतुको सुन्दर मौसम जता हेरे पनि हरियाली। दसै नजिक आउँदै थियो। समय मिलाएर उसकै घरमा पुग्ने गरि तम्घासतिर प्रस्थान गर्छु। शुभ कार्यमा किन ढिलो गर्ने। यही मौकामा सिर्जु को हात माग्ने प्लान बोकेर गएको हो। साँझ अबेला पुगियो। घरमा पुजा रहेछ। बाबा आमासंगै बसेर खाना खाईयो। पाहुनाहरु सबै फर्किसकेका। बाबा, आमा, म र सिर्जना मात्र बाँकी। घरतिरको, कामतिरको, सुख,दु:खको केही भलाकुसारी हुँदै थियो। त्यही प्रसङ्गमा मैले कुरा मोडेँ।   'बाबा, एउटा कुरा सोंध्न मन लागेको थियो।' 'भन्नु न बाबू के होला?' आमा र सिर्जु कुरा सुन्दै। 'हजुरको घरको बगैँचामा फक्रिरहेको फूल लाई यो दिलमा सजाउन मन छ। म सिर्जनालाई आफ्नो बनाउन चाहन्छु बाबा।' बुवा मुसुक्क मुस्कुराउनु भयो र भन्नु भयो- 'यस्तो हो बाबु, फूल टिपेर सधैँ शिरमा सजाउने हो भने टिपेरै दिदा पनि पाप नलाग्ला। तर एकै छिन् शिरमा लाए जस्तो गरेर मिल्काउने हो भने महापाप हुन्छ। आफैँ बुझ्नुस्।' सिर्जु भने घरिघरी मलाई पुलुक्क हेर्थि अनि हाँस्थि। आमाले निकै गम्भीर भएर सुनिरहनु भयो। 'आमा, यसमा हजुरले केही भन्नु थियो कि ?' 'फूल सजाउन चाहनेले र फूलले पनि सजिनँ तयार हुन्छ भने मेरो आपत्ति नहोला बाबू।' हाम्रो सम्बन्धमा कुरा सकारात्मक नै रह्यो। दशा ग्रह हेर्ने गाउँको पण्डीत लाई बोलाएर चिना हेराउने टुङ्गो लाग्छ। मैले उसको घरमा पहिलो पटक खुट्टा टेकेकोमा सिर्जु खुशी थिई। त्यस माथि जिन्दगी कै महत्वपुर्ण पक्षको सवालमा परिवार सकारात्मक रहेको पाउँदा भुईमा खुट्टा थिएन। उसले दिलबाटै मलाई चाहन्थी। एकछिन गफ गाफ गरेर सुत्न गई उनी। अबेला सम्म नसुतेकोले बिहान अबेर उठेछु। भर्याङ्बाट तल ओर्लिदा सिर्जु पिँढी लिप्दै थिई। खुसुक्क भने - 'तालिम गरेकी ? अलिक राम्रो संग सिक है। परिपक्क भएर जानू पर्छ हाम्रो घरमा।' 'उम् खुबै...नजाने हजुर हुनुहुन्छ नि सिकाउने।' यति भनेर हाँसिन्। आँगनको छेउमा पण्डीत बाले पात्रो पल्टाउदै हुनुहुन्थ्यो चस्मा मिलाई मिलाई। एकछिनमा बाबाले मेरो जन्म कुन्डली अनुसारको नाम, तिथि, मिति सबै सोध्नुभयो। सिर्जनाको नामसंगै दशा ग्रह हेराएछन्। विवाहको साईत पनि। पण्डीत बाजेले बोल्नु भयो- 'बाबू र नानीको अरु सबै कुरा मिलेको छ। विवाहको साईत भने आउँदो बैशाख भन्दा अगाडि जुरेको छैन। नानीको ग्रहले अलि कति दिएको छैन। बैशाख पन्ध्र सम्म कुर्दा राम्रो हुन्छ।'   पण्डीत बाजेको कुरा अनुसार यस विषयमा पछि नै कुरा गर्ने भयो। बाबा बेलैमा तम्घासतिर निस्किनु हुन्छ। म पनि सिर्जु र आमासंग विदा मागेर तम्घासतिर पाइला चाल्छु। तानसेन सम्मको गन्तव्य तय गरेर। समयले मान्छेलाई कहाँ कहाँ पुर्याउँछ। नसोंचेको र नचिताएको मान्छे संग भेट्ने र चिन्ने मौका जुराउँछ। त्यही समयको रफ्तार संगै सामान्य तरिकाले दिनचार्य वित्दै जान्छ। सिर्जु र मेरो सम्बन्ध झन गहिरिँदै जान्छ। ०००० पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रिँडीमा माघे संक्रान्तिको अवसर पारेर हरेक साल रिँडी मेला लाग्ने गर्छ। राष्ट्रिय स्तरको कलाकारहरु र तराई देखि हिमाल सम्मका सामानहरु राडीपाखी, घरबुना र हुम्ला जुम्लाका जडिबुटी समेत बेच्न आइ पुग्छन् मेलामा। त्यो दिन थियो २०६६ सालको माघ संक्रान्तिको। रिँडी मेलाको लाईभ प्रशारण गर्ने गरि प्राविधिक सहित एफएम बाट चार जना स्टाफहरु रिँडी जाने भयौं। सिर्जु लाई बताएको थिएँ। उसले समय मिल्दा सम्म आउँछु भन्छिन्। विहान आठ बजे नै तानसेनबाट रिँडीतिर हानिन्छ। कालीगण्डकीको तिरले ल्याएको चिसो सिरेठोले मुटु छुने गरि हानेको थियो रिँडी पुग्दा। दस बजेतिर सिर्जु ले फोन गरि। हिड्न लाएको खबर सुनाई। 'गाउन लाई के कतिको तयारी छ ?' मेरो सोधाई। 'खासै छैन। तर स्टेज पाएँ भने गाउँछु।' रिँडी मै भेटेर कुरा गर्छु भनेर फोन राखिन्। उसको प्रतिक्षामा हुन्छु। खाना खाएपछि कार्यक्रमतिर लाग्छु। राष्ट्रिय कलाकारहरु राजु परियार, देवी घर्ती, पुश्कल शर्मा, हेमन्त शर्मा आउने। स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकबाट जानकारी आउँछ। एक बजेतिर स्टेजको पछाडि गएर सिर्जुलाई कल गर्छु। कहाँ आयौ बुझ्नलाई। फोन उठाउदैन। भित्रभित्र मनमा चिसो पस्यो। किन यति बेलासम्म आईपुगेनन् ? आफैंले प्रश्न गर्छु। चार बजे एफएमले अपडेड गरेको समाचारमा नचिताएको दुखद खबर सुन्नु पर्यो। "तम्घास हुँदै रिँडी तर्फ आईरहेको जीप टक्सारमा दुर्घटना हुँदा दुई जनाको घटना स्थल मै मृत्यु। तीन जना गम्भीर घाईते। घाईतेहरुलाई मिशन हस्पिटल पाल्पामा थप उपचारको लागि पठाइएको। मृतकको सनाखात हुन बाँकी। गम्भीर घाइते मध्ये अन्दाजी उन्नाइस वर्षकी सिर्जना थापा मगर रहेको उसको मोबाइल प्रोफाइलबाट पत्ता लागेको ईलाका प्रहरी कार्यालय रिँडीले जनाएको छ।" त्यो खबरले झनन्न रिँगटा लाग्छ मलाई। हातमा समाएको माइक्रोफोन फुत्त भुईमा खस्न पुग्छ। म पनि त्यही ढल्न पुगेछु। साथीहरुले आत्तिएर नजिकैको मेडिकल हलमा ल्याएछन्। होशमा आउँदा मेडिकलको बेडमा हुन्छु। धेरै पटक फोन गर्छु तर उठाउदैन। मेरी सिर्जु नै दुर्घनामा परि भन्ने कन्फर्म गर्छु। साथीहरुलाई इमेर्जेन्सी पर्यो। लाईभ को काम तिमीहरु सम्हाल्नु भन्छु। त्यसपछि तानसेनतिर सोझिन्छु। अरु समयमा तम्घास बुटवलको रुटमा चल्ने गाडीको स्पीड देखेर डराउथेँ म। त्यो दिन गाडीले गति लिनै नसकेको जस्तो। त्यहीको त्यही गुडिरहे जस्तो भान हुन्छ। बल्ल तल्ल तानसेनमा आईपुग्छु। टक्सार घुम्तीमा झरेर मिशनतिर दौडिन्छु। हतासिँदै मिशन हस्पिटल काउण्टरमा पुग्छु। दुर्घटनामा परेकी ईर्मेर्जेन्सी वार्डको सिर्जनालाई भेट्न पाउँ भनेर गुहार गर्छु। ईमेर्जेन्सी वार्डमा जो कोहीलाई छिर्न अनुमति नहुने भन्दै रोक्छन्। जवर्जस्ती भित्र प्रवेश गर्न तम्सिन्छु। सेक्युरिटी आएर रोक्न खोज्छ। त्यही काम गर्ने एक जना परिचित डाक्टर मेरै मान्छे हो भनेर नाम लिन्छु। एकछिन पछि उहाँ आउनु हुन्छ। मेेरो गल्फ्रेन्ड हो एकपटक मात्रै हेर्न दिनुस् भन्दै उहाँको पाउ पर्छु। अनुमति मिल्छ। हतारिदै भित्र छिर्छु। सिर्जु को बाबा कुनामा बसेर रोइरहनु भएको देख्छु। डाक्टरहरु हतार गर्दै हुन्छन्। उसलाई अङ्गालोमा कस्न झम्टिन पुग्छु। तर डाक्टरहरुले रोक्छन्। आफुलाई सम्हाल्नुस् भन्छन्। सिर्जु को शरीरमा विभिन्न खालका मेशिनहरु जोडिएको हुन्छ। उसको अवस्था देखेर भुईमा थुचुक्क बस्छु। हात भाँच्चिएको छ। टाउकोमा घाउ छ। गोरी बाटुलो अनुहारमा आँखा मुनि ठुलो चोटको निलडाम छ। रगतै रगतले जिउ लटपटिएको छ। सिर्जु दुर्घट्नामा परेर होशमा छैन। उसको अवस्था देखेर म पनि अर्धचेतमा हुन्छु। डाक्टरहरुले बाहिर जान भन्छन्। म धरधरती रोएको हुन्छु। निस्किन अटेर गर्छु। आफुले जानेको र सकेको जति प्रयास गरेका हुन्छन् डाक्टरहरु। हेर्दा हेर्दै मेरी सिर्जु आत्तलिन थाल्छिन्। उसको घाँटीबाट अनौठो आवाज आउँछ। म सोंच्छु अब होश आउँछ। डाक्टर, नर्सहरु यता र उता गर्दै हतारिएका हुन्छन्। हेर्दा हेर्दै सिर्जु को आँखा ठुलो ठुलो खुल्न थाल्छ। लामो सास फेर्छिन्। उसको शरीर हुँदै जोडिएका मेशिनहरु चि..चि..चि.. टुँ..टुँ..टुँ.. गरेर बज्न थाल्छ। उसको छातीमा सक दिन्छन्। बिस्तारै सास रोकिन्छ। त्यसपछि सधैँलाई सास लिन नपर्ने गरि स्वास प्रश्वास प्रक्रिया बन्द हुन्छ। चिर निन्द्रामा पर्छिन् सिर्जु। 'सरी...वी कान्ट सेभ दि प्यासेन्ट। बि कन्ट्रोल प्लिज।' मेरो काँधमा हात राखेर डाक्टर पिटर बोल्नु हुन्छ। अनि सिर्जु लाई मृत घोषणा गर्छन्। अब सिर्जु यस धर्तीमा रहिनन्। अमेरिकन हुन् डाक्टर पिटर। बीस वर्ष अघि देखि त्यही हस्पिटलमा सेवारत छन्। त्यो घटनाले म छाती पिटीपिटी रुन थाल्छु। सम्हाल्नै नसकेर छटपटिन्छु। सिर्जुको मृत शरीरलाई अङ्गालोमा कसेर धेरै रोएँ। डाक्टर र नर्सहरु आएर अलग्याए। म आफैँलाई धिक्कार्दै रोईरहन्छु। 'म नै रिँडी मेलामा नगएको भए सिर्जु आउने थिइनन्। उसलाई केही हुन्थेन।' बरबराउँदै रोएको हुन्छु। मेरो अवस्था देखेर बाबा भन्नु हुन्छ- 'बाबू, यो सबै भावीको लेखा हो। आफुलाई जे लेखेको छ त्यो भोग्नै पर्छ। यसमा तपाईको केही दोष छैन। आफुलाई सम्हाल्नुस्।' तर बाबा पनि पीडा सम्हाल्नै नसकेर सुकसुक गर्दै रुँनु हुन्छ।   हस्पिटलको सबै प्रक्रिया र कागजातहरु मिलाए पछि लासलाई रिँडी घाटमा लगेर दहसंस्कार गर्ने सल्लाह हुन्छ। रात परिसकेको छ। लास भोलि विहान मात्रै उठाउने भयो। पुरा रात एक छेउ सिर्जु को मृत शरीर अर्को पट्टि बाबा र म भएर वितायौं। विहान चार बजेतिर झमक्क निदाएछु। सपनामा सिर्जु आईन् र भनिन्- 'लोकु, हजुरसंग लामो जिन्दगी बिताउने ठुलो आशा बोकेकी थिएँ। तर मेरो भाग्यमा त्यो लेखेको रहेनछ। खैर, केही छैन। तर एफएम को हजुर र मेरो नामले सिँगारिएको "लोक सिर्जना" कार्यक्रमलाई कहिल्यै बन्द नगर्नु है। सधै बजाउँदै रहनु। स्रोताहरुको मुखमा र कानमा "लोक सिर्जना" शब्द छाईरगोस्। गुञ्जिरहोस्। हाम्रो नाम अजम्बरी जोडिरहोस्। मैले त्यसैलाई सुनेर मन बुझाउनेछु।' सिर्जु को आमा र काकाहरु आएर भित्र पस्दा व्यूँझाई दिनु भयो। कति सिरियस् कुरा हुँदै थियो सपनामा। सिर्जु लाई केही उत्तर दिन नपाउँदै झल्याँस्स भएँ। त्यसपछि आमालाई सम्हाल्न निकै गाह्रो भयो। पटक पटक मुर्छा खानु हुन्छ। उल्टै आमा सिरियस् विरामी हुनु भयो। आफ्नै मुटुको टुक्रा जस्ती छोरीलाई अचानक गुमाउँनु पर्दाको पीडा उहीँ जन्म दिने आमालाई मात्र थाहा होला। सन्तानको मायाँ कति लाग्छ भन्ने कुरा। मेरो घरको बा आमालाई कल गरेर घटना सुनाएँ। 'आफुलाई सम्हाल बाबू। सिर्जनालाई सपनामा जस्तै एकै पटक मात्र देख्न लेखेको रहेछ। यो घरकी बुहारी भएको हेर्ने सपना देखेको थिएँ।' आमा रुनु भएको आवाज सुनेँ। फेरि बा ले भन्नु भयो-'छोरा, सिर्जना छोरीलाई हाम्रो परिवारको सदस्य भएको देख्ने रहर थियो। मिजासिली छोरी थिई। राम्रो मान्छे भगवानको प्यारो हुन्छ रे। त्यस्तै भएछ। मन बलियो पार्नु। हामी दुखित छौं।' लास घाटमा लैजानु थियो। विहान गाडी रिजर्ब गरेर रिँडी लैजाने तयारी गर्यौं। म पनि घाटमा जान तम्सिदै थिएँ। तर सिर्जु को बाबाले छेक्नु भयो। र सम्झाउनु भयो- 'बाबू, तपाईलाई यति धेरै दु:ख दियौं। सिर्जनाले तपाईको यतिसम्म साथ पाउन लेखेको रहेछ। तपाईको कर्तव्य सोंचेर यतिसम्म गर्नु भयो। धन्यवाद छ। अब योभन्दा धेरै दु:ख नगर्नुस्। जे गर्नु पर्छ हामी पूरा गर्छौं। तपाईं घाटमा जानू पर्दैन।'   यसो सोंच्छु नाई नास्ती गरेर घाट मै पुगेँ भने झनै मन दुखाउँछु पो हूँला बाबाको। उहाँको अनुरोधलाई यो परिस्थितिमा स्वीकार्नु पर्छ भन्ने लाग्यो। मुखले 'हवस...' भन्छु। तर मनले मानिरहेको हुँदैन। सिर्जुको लासलाई बोकेर गाडी बतासेडाँडातिर उकालो हुँईकियो। म सिधा बाटो श्रीनगरडाँडातिर उक्लिएँ। लास बोकेको जीप रिँडी तर्फ दौडियो। पहिलो पटक सिर्जु लाई भेटेको ठाउँ श्रीनगरडाँडामा पुग्छु। फेरि विगतका पलहरु ताजकी भएर आउँछन् दिमागमा। सिर्जु कै जिउडाल रुप झल्किन्छ आँखामा। श्रीनगरडाँडाबाट पश्चिमतिर फर्केर मेरो आँखा कहिले रिँडीतिर कहिले रेसुङ्गाडाँडातिर घुम्न थाल्छ। उनै सिर्जु लाई देख्छु की भन्ने आशाले। केही घण्टाको अन्तरलपछि कालीगण्डकी को तिरबाट धुवाँको मुस्लो आकाशतिर उडेर गएको देखिन्छ। रिँडीको तिर बाटै उडेको थियो। त्यही धुवाँ भित्र मेरी 'सिर्जु' को मुखाकृति देखियो। आँखाबाट आँसु झार्दै रुँदै थिई। छोड्न नचाहेरै मेरी सिर्जु ले सिङ्गो धर्ती र 'लोक' लाई छोडेर गई आकाशतिर माथि माथि...! हरेक साल माघ संक्रान्ति आउँछ। माघे संक्रान्ति रिँडीको मेला हुने दिन आउँछ। तर मेरी सिर्जु मलाई भेट्न कहिल्यै आईनन्। र फेरि कहिल्यै आउँदिनन्। -अस्तु- निस्दी-६ अर्चले,पाल्पा मिति:- २०७६/१०/०६  

images
images
प्रकाशित मिति :माघ ७, २०७६ मंगलवार - १२:१९:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend