शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

बुढीआँलाई मजेत्रो -दीपक विश्वकर्मा

२५ माघ २०७६, शनिबार बुढीआँलाई मजेत्रो -दीपक विश्वकर्मा
जोरसल्लाको कहानी लम्बिदै लम्बिदै रवानापत्रको फेरो समाउन पुग्यो र महेन्द्र हाइस्कूल, बल्कोटको पौवा हुँदै  पुनः एकपटक भाडगाउँमा आएर टक्क अडिन पुग्यो । केही संझनाहरू जीवनप्रयन्त अकाट्य अङ्ग बन्न पुग्दारहेछन् । जसरी मेरो जीवनमा जोरसल्ला बन्न पुगेको छ । कहिलेकाँही लाग्दछ, म सायद त्यही जोरसल्लाको उपज हुँ । जोरसल्ला हाम्रा बाको अंशमा नपर्दो होत, बाले ढाल्ने थिएन । नढले पछि फल्याक पनि बन्ने थिएनन् । फल्याक नबने पछि सायद उरीम पनि नबन्दो हो । उरीम नबने पछि बाको काखबाट छुट्टिएपछि म सुत्नेबस्ने कोठा पनि नबन्दो हो । कोठा नभएपछि तरुण तपसी, रामायाण र महाभारतका कवितालाई कण्ठ पार्ने मेसो पनि नजुर्दो हो । जब कविता कण्ठ नहुँदा हुन् त अन्त्याक्षरी प्रतियोगितामा भागलिने मेसो पनि नजुर्जो हो । परिमाणतः महेन्द्र हाइस्कूलका तत्कालिन प्रधानाध्याप गुरु ज्ञानहरि आचार्यको नजरमा नपर्दो हुँ ।  र रवानापत्रको सर्वोच्चशिखर चढ्ने  अकाट्य यात्रा पनि नजुर्दो हो ।
लेखनीका अद्भुत् शब्दावलीहरू जुर्छन् कहिलेकाहीँ । संयोगले जुरेका ती शब्दावलीको गहिराईमा डुबुल्की मार्दा परम आनन्दको प्राप्ति हुन्छ मलाई । लेखनी संयोगमात्र होइन । जस लिने, जस दिने, आफुले गरेका महागल्तीहरूकालागि क्षमा माग्ने अवसर एवम् सुयोग पनि हो । आजकाल म त्यही कार्य गर्ने धृष्टता गरिरहेको छु ।
हाम्रैबा आको सम्पत्तीमा खडा भएको ससानो मन्दिरसहितको माइकाथान नजिक ठिङ्ग उभिएका जोरसल्लाहरूलाई आजपनि म सपनामा देख्ने गर्दछु । ती सल्लाहरूलाई बन्चरोले काटेर ढाल्दा बाले मलाई पनि साथमा लगेर गएका थिए । ती सल्लाहरू ढालेको एकाध वर्षपछि नै बाले बारी थपेका थिए, माइलाबुढाबाका छोरासंग किनेर । जोरसल्लालाई ढालेपछि बारीको ढिक पनि फोरेर नयाँ किनेको ख¥यानसंग एकाकार बनाए । बारीको पाटो ठूलो भयो । माइलाबुढाबाका छोराहरु म नजन्मदै प्रदेशीएका थिए रे । कान्छा छोराचाँहि बटौली तिर बसेका छन् भनेर सुनाउथे बाहरू । संयोगले आज म बुटवलबासी हुँ । कहिलेकाँही पारी बुटवल चहार्दा कतै भेटिन्छन् कि कान्छाबा, भाइबहिनी, नातिनाहरू, आँखा घुमाउछु । बुढाबा—बाहरूले एकै भाकामा पैसा चुक्ता नगरेकाले बिचरा कान्छाबा आसामी उठाउन यतिलामो बाटो तयगरेर श्रीपञ्चमीताका भाडगाउँ गइरहन्थे । आजसम्म त बिते हुनन् कान्छा बा पनि । सन्तान भने होलान् पारी बटौली तिर । तर चिन्नु कसरी ? हाम्रो जातिसमुदायमा थरगोत्र लेख्ने चलन निकै पछि शुरुवात भएको हो । आफ्नो थरगोत्रको जानकारी भए पनि लेख्ने चलन थिएन । केही सचेतले सुनार वा विश्वकर्मा लेख्थे । लाटासिधाले सबैले सिधै लेख्ने गर्दथे— कामी । अथवा मुखिया भलाद्मीहरूले नै त्यही लेखिदिन्थे । यसउसले पनि हामीलाई छुट्टिएर अन्यत्र बसाइसराइ गरेका दाजुभाइलाई भेटाउन मुस्किल पर्छ । सबै सुनार, सबै विश्वकर्मा, को आफ्नो ? को पराइ ? छुट्टाउने आधार नै हुँदैन । आशा गरेको छु कुनै न कुनै दिन दाजुभाइ, दिदी बहिनीहरू संग भेट होला र हाम्रो पनि बगाल बढ्ला बटौलीमा । दशैतिहार, मेलापर्व र बेलाबखत भेटघाट होला र  एकआपसमा दुःख सुख बाड्न पाइएला ।
रवानापत्रले अनेकौ घटना, प्रकरणहरूलाई बिर्साइदियो । संगती छुट्यो । साथीभाइहरू विराना भए । जसलाई मेरो कन्धाको खाँचो थियो, उनीहरूको बारेमा बितेको निकै लामो समयपछिमात्र थाहा लाग्थ्यो । बुढीयाँको निकै प्यारो नाती थिएँ म । प्यारो हुनुको गहन कारण छ । त्यो कारण के हो भने जेठाबापट्टी एउटी दिदी बाहेक अरु सन्तान भएनन्, आज पराल्मी भेकको रातामाटामा उनको घरजम छ । भान्जाभान्जीहरू केरवानी, सुनवल तिर घरजम गरेर बसेका छन् । यता कान्छाबातिर पनि दुईतीन बहिनी छोरीहरू पछि मात्र छोराहरू जन्मिए । हाम्रा बाआमा तिर पनि मेरो पछि दुईदुईवोटी बहिनीहरू जन्मिए लगातार । म पछि आउने भाइहरुको समयको अन्तराल तत्कालिन सम्पत्ती खाने छोराको मान्यातको हिसाबले निकै लामो मानिन्थो । यसैले पनि होला म बुढीआँको प्योरो नाती हुन पुँगे । तर त्यो माया लामो समयसम्म टिकेन म माथि । कान्छा बा तिर पनि भाइ देबे जन्मिए पछि बुढीआँको ममाथिको माया खण्डित भयो । हाम्रा बाआमातिर पनि भाइहरुको लाइन लागेपछि त म मात्र नाति मध्येको जेठो नाति “ठुल्केटो” पो हुन पुँगे । बुढीआँले बेलाबखत भन्ने गर्ने “सम्पत्ती खाने तैलेत होला केटा” को थेगो यसरी हरायो कि मैले बाहेक त्यसलाई आज कसैले संझेको छैन ।
पोखराको रवानापत्र बोकेर घरबाट निस्कनुभन्दा पहिले एकाबिहानै म बिदामाग्न खातिर बुढोघर गएको थिएँ । “म त हिड्न थालेनि बुढीआँ, खै खुट्टा ढोगुम् त” बुढीआँको गोडामा टुपुक्क ढोगेको थिएँ मैले । धोइ जावोस् न पखाली जावोस्, आफ्नाको मन आफ्नै हुँदो रहेछ । “ए ! राम्ररी गएस्, हाम्ला नबिर्सेस्” पटुकामा गाँठो पारेर राखेको पैसाको ढेक हातमा राखिदिँदै बुढीआँले भनेको आजैजस्तो लाग्दछ ।
यो बिदाइको भेट नै हजुरआमासंग अन्तिम भेट हुनपुग्यो मेरो । पोखराको ठूलो स्कुलमा पढ्न जान्छ, धेरै पढ्छ, ठूलो नोकरी गर्छ, पैसा कमाउँछ । आमरुपमा अभिभावक, आइआफन्त सबैले यही सोँचे होलान् । हजुरआमाले पनि यही गमि होलिन मनमन । “ठूलो मान्छे बन्ला, पैसा कमाउला र मलाई पनि देला, वा पाल्ला” बुढीआँको सोँच थियो जस्तो लाग्दैन । किनकि बुढीआँ कान्छाबा संग बसेकी थिइन र कान्छाबा पल्टनका लाहुरे थिए । सो बेला पल्टनीया लाहुरेको गाउँघरमा सान नै बेग्लै हुन्थ्यो । कान्छाबा वर्ष डेडवर्षमा छुट्टीमा आउँदा भरिया बोकाएर आउथेँ । त्यसैले मसंग आशा गर्नु पर्ने अवस्था थिएन, उनको । तर, एकदिन कुरै कुरामा उनले भनेको संझना भने ताजै छ— “पैसो कमाएसी, घर आउँदा एउटा नाम्रो मजेत्रो ल्याइदेस् ठूल्केटा” ।
फोटो खिचेर सजाउने चलन थिएन सो बेलामा । यद्यपि तम्घासमा एकजना फोटोग्राफर थिए, पुस्कर ज्वारचन, सेरचन, हिराचन, थकाली वा थकाली समुदायका दाजुको । पैसा खर्च गरेर फोटो खिचोस् कसले ? हाम्रै दाजुभाइ मध्येका एकजना प्रवासी दाइ भाडगाउँ आउँदा क्यामरा लिएर आउँथे । “राम्रा कपडा लगाएर फुटो खिच्ना हुन्ना, नाम्रो फुटो आउन्ना” । जस्ता प्रकारका कपडा लगाएर घरमा बसिएको छ, सोही फेसनमा लहरै उभाएर उनले फोटो खिचिदिन्थे । सो क्यामरामा हाम्री बुढीआँको फोटो पनि कैद भएको थियो । तर, ती दाइले भाडगाउँ आउँदा कहिल्यै धुलाइ गरेर फोटो लिएर हामीलाई दिएनन् । पछि त उनी भारतीय नागरिक बने । उतै घरजम गरे र उतै नै देहत्याग गरे । हाम्री बुढीआँको फोटोको आशा पनि उनैसंग हरायो । र पनि यतिकावर्ष पारहुँदा समेत बुढीयाँको चेहरा रछानरछान सम्झिन्छु म । कालो वर्ण, अग्लो ज्यान, रिसाहा बानी, उमेरपुग्दा पनि तिलचाम नभएको कपाल उनको ब्यक्तित्व थियो । गहन चिन्तनको बेला मेरो आँखा अगाडि ठिङ्ग उभिन आइपुग्छिन् र भन्छिन्— धन कमार यौटो मजेत्रो ल्यामदिन भनेओ थेँ नि ठुल्केटा, ल्याइदिइनस् त ?”
गहन विषादमा पर्छु म कहिलेकाँही । आरनदेखि आसामसम्मको महायात्राको जंजालमा अनेकौलाई पोसियो । दानीमा पनि महादानी बनियो । कमाउने बेलामा आफ्नो बारेमा रत्ती नसोँचेर “भाइबहिनीले दुःख पाउलान्” भन्दै आजको मूल्यको हिसाबले मानेसाहुसंग बाले लेखेर दिएको करोडौंको तमसुक फरफारक गरियो । आसामबाट संगै नेपाल आउने जेष्ठ नागरिकलाई बस तथा  रेलको टिकट, खानपिनको व्यवस्था गर्दै बुटवल उतारियो, उतै आसामतिर पनि अनेकौंलाई उँभो लगाइयो । लाख खर्च गरेर गुवाहाटीको खानापारामा नेपाली धर्मशाला बनाउन प्रवासी नेपालीहरूसंग हातेमालो गरियो, ४८ सालको जनआन्दोलनताका “नेपालमा क्रान्ति हुँदैछ कमरेड, हतियार किन्न चन्दा पठाउनु पर्ने भयो” भन्दै चन्दा संकलन गर्नजाने अर्घाखाँचीका इश्वरी खनाल र रामप्रसाद खनाल दाइहरूको हात आमनेपाली लाहुरेहरूले वर्षदिनमा कमाएर नेपाल ल्याउने रकम “महान् सहयोग” को नाममा खर्च गरियो । तर, बुढीआँलाई मजेत्रो पठाउने सुजोग नै मिलेन । जतिवेलासम्म उनी जिवित थिइन, सोबेलासम्म कमाइको मेसो मिलेन । जब मेसो मिल्यो, घर आइजाइ गर्न नै सकिएन । जब घर आइजाइ गर्न थालियो, उनले संसारबाट बिदावारी लिइसकेकी थिइन् ।
मजेत्रोसंग निकै पुरानो साइनो छ मेरो । हाम्रो घरभन्दा केही माथिका मेरा बालसखा गोरेकालेकी हजुरआमाले चारीखेल्ने भन्ने स्थानमा खसालेको मजेत्रो स्कूलबाट घर फर्किदाँ भेट्याएर घरमै पु¥याइदिँदा उनको अपार खुसीको कुरोलाई विषयवस्तु बनाएर कुनै समयमा मैले “सारू आमैको मजेत्रो” नामको कहानी लेखेको थिएँ । पछि आसामबाट बेलाबखत घर आउँदा एरीको (आमभाषामा रेडियोको चादर) मजेत्रो बोकेर आउँथे र बाँड्ने गर्दथे । मजेत्रोप्रतिको मेरो मोह यति गहन थियो कि आइआफन्तहरू, गाउँका बुढापाकाहरू त हुँदैभए मित्रबन्धुहरू समेतलाई गुवाहाटीबाट बोकेर ल्याइ उपहार भन्दै दिने गर्थे । दामको हिसाबले यो मेरो औकातभन्दा ठूलो थियो । तर मनलाई मूल्यले रोक्न सक्दोरहेनछ । किनकि म हजुरआमाको पबित्र बचनमा बाँधिएको थिएँ र आजसम्म पनि छु ।
यो पनि पढ्नुहोस :   सरकारमा त यस्तो हावा कुरा गर्छन, प्रतिपक्षमा रहदाको कुरै नगरौं -रामशरण महत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य