शुक्रबार, ०९ फागुन २०७६
Fri, 2020-02-21
Open Nav

मायाका गुनासाहरू (५ मुक्तक) -गोम बिक्रम

१ फाल्गुन २०७६, बिहीबार मायाका गुनासाहरू (५ मुक्तक) -गोम बिक्रम

 

मुक्तक -१

मिल्दासम्म शक्ति लगाइ, अरूका सारा सुख छिन्छौ
बिगार गर्न नपाए त, आफै उदास मुख लिन्छौ
कसैको भलो चिताएनौ, परोपकारमा बिताएनौ
तिमीसित त दु:खै छ र, सब्लाई सधै ‘दु:ख’ दिन्छौ ।

मुक्तक -२

स्कूल आउँथी हाँस्दै-खेल्दै, हराइ कता गइछे सानु
सम्चार सुनें विवाहको, बेहुली पो भइछे सानु
कलिलैमा सन्तान भए, सारा रहर उधारै रहे
हाम्रो जागिर शुरू हुँदा, गोठमै रूँदी रहिछे सानु ।

मुक्तक -३

सक्छौ भने हिजोका घाउ, सदभावले पुरी देखाऊ
पहाडसरी धैर्य साँधी, मैले जस्तै कुरी देखाऊ
सधै बेकार तर्क गर्छौ, आफ्नै कामले नर्क झर्छौ
यति पवित्र मायाभित्र, के छन् दोष र दूरी देखाऊ ?

मुक्तक -४

कहिले देख्दा आनन्दले, झ्यालमा कपाल कोर्दै हुन्थ्यौ
कहिले भने संगीसित, जिस्कँदै डल्ला फोर्दै हुन्थ्यौ
चोरेर हेर्छौ अझै पनि, मायाले बेर्छौ अझै पनि
तगारा नलागेका भए, घरबार यतै जोर्दै हुन्थ्यौ ।

मुक्तक -५

माया पवित्र छँदै थियो, आफै तरक्क तर्क्यौ गाँठे
नहुन रैछ बीच बाटोमा, ल्याई फरक्क फर्क्यौ गाँठे
कति सम्झाएँ भएन भो, मनको धोको गएन भो ।
साथ छुटेसी फिर्यो बुद्धि, छातीमा चरक्क चर्क्यौ गाँठे !!

– गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ फागुन ०१

यो बर्षको लागि तपाईको भ्यालेन्टाईन गीत

यो पनि पढ्नुहोस :   तिमी अनि त्यो गुलाफको, जात उस्तै लाग्छ -निर्मलरमण पराजुली (५ मुक्तकहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य