४, चैत्र २०७६
गरिबी
कति जीवन अभावमा छ, चुलोमा आगो बल्नै छाड्यो
गाँस-बास त परको कुरा, जडौरीले जाडो छल्नै छाड्यो
दिएका कति वाचा थिए, लिएका कति आशा थिए
पैसा नखाई समानताको, भाषण पनि चल्नै छाड्यो ।
भाषा
सकिन्छ भने भाषामा पनि, कीर्तिमानी राखे हुन्छ
अरू देशको सभ्यता र, सस्कृति पनि चाखे हुन्छ
भाषाको कति महिमा हुन्छ, गिज्याउनुको सिमा हुन्छ
नेपाल मात्रै यस्तो देश हो, नेपाली बोल्दा पाखे हुन्छ ।
प्रेम
अति भैसक्यो सीमा छैन, अब धेरै नसताऊ निष्ठूरी
सहनु सहेँ चोटहरू, अरू हण्डर नकटाऊ निष्ठूरी
बाँकी जीवन जिउनुपर्छ, फाटेको डडमन सिउनुपर्छ
बन्धक राखी मेरा खुशी, आँसु फिर्ता नपठाऊ निष्ठूरी ।
छिमेकी सम्बन्ध
बाढी डुबान नाकाबन्दी, नेपालमै खनायौ छिमेकी
आँसु कढाइ नेपालीको, असलियत जनायौ छिमेकी
त्यसैमाथि ठूल्दाईहरू, लम्पसार परेपछि झन्
तिमीले दिएका बिष पनि, स्विकार्नु पर्ने बनायौ छिमेकी ।
राजनीति
वचन दिइ गर्छु भन्थे, आफन्त पोस्ने ताल देख्छु
दुइटा कौडी जुट्ने कतै, ठाउँ भेटिए राल देख्छु
राहत पुग्न पाएकै हुन्न, विकासले नि खासै छुन्न
कैयौं जीवन कर्णालीका, अझै उस्तै बेहाल देख्छु ।
- गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ चैत्र ०४
(गोम बिक्रम नेप्लिज डायस्पोरा डटकमका साहित्यिक पेजका सम्पादक हुनुहुन्छ । -प्रधान सम्पादक)
मन परे शेयर गर्नुहोला
https://youtu.be/wumlII8Juvc
मन परे शेयर गर्नुहोला
https://youtu.be/QUG-NUXamVk
प्रकाशित मिति :चैत्र ४, २०७६ मंगलवार -
१७:०९:१४ बजे