आइतबार, १६ चैत २०७६
Sun, 2020-03-29
Open Nav

आकाश छुने सपनाहरू -दीपक विश्वकर्मा

८ चैत्र २०७६, शनिबार आकाश छुने सपनाहरू -दीपक विश्वकर्मा

नङ्पोमा(उत्तरपूर्वी भारतीय राज्य मेघालयको राजधानी सिलाङ्ग पुग्नुभन्दा पहिले आउने ठाउँ) हामीले दुई प्रकारको जीवनशैली बिताइरहेका थियौं । मकैबारीमा बाको आरन थियो । जहाँ उनले परम्परागत तरिकाले फलामका औजार बनाउँथे । घरको आरन र मकैबारीको आरनमा फरक भनेको हावावाला पंखा र खलातीमा मात्र थियो । घरहुँदा बा एकाबिहानै कोखिलामा खलाती च्याप्दै एक टिन कोइला(गोल) बोकोर आरनतिर लाग्थे भने मकैबारीमा चाँहि कोइला ढुवानी गर्ने गाडीवालाले दिएको मिट्टीकोइला र खसिया वा नेपालीहरूसंग किनेको बज्राठ काठको आडिलो कोइला मिसाएर हातेपंखा चलाएर आरनको टुँडो सल्काउँथे । मकैबारीको आरनको नजिकै इलाका फरेष्ट अफिस थियो । त्यहाँका हामिक स्वजातीय विश्वकर्मा थिए । उनी हामीसंग यति टाढा हुन्थे कि उनी हाम्रो आरन तर्फ फर्केर पनि हेर्दैन थिए ।

आरन भन्दा केही माथि नेपाली बस्ती थियो, जहाँ भाडगाउँकै खप्तरी थरका क्षेत्री परिवारको गृहस्ती थियो । बा र उनीहरूबीचको सामाजिक ब्यवहार ठ्याक्कै नेपालकै जस्तो थियो । सुनपानी, छुवाछुत, बोलीबचन, धर्मकर्म, रीतिरिवाजजस्ता सांसकृतिक वैभवहरूलाई ऊनीहरूले डोकोमा बोकेर दुरीको हिसाब भन्ने हो भने लगभग ढाईहजार टाढा मेघालय सम्म पुर्याएका थिए । तर यो जातीय विभेद यति मिठासपूर्ण थियो कि विभेद गर्नेलाई विभेद गरेजस्तो नलाग्ने र विभेद खेप्नेलाई पनि केही भएजस्तो अनुभव नहुने ।

“सन्चै हौली केरे देइ (दिदी) ? सन्चै छु माइला, तँ सन्चै होलास् केरे ! बस् चा खाएर जालास् । छोराबहारीलाई पठाइदे एक्दिन्, एक्छाक भात ख्वाम्न मन छ” । यो भलाकुरासी भित्रको आत्मीयताको चौघेरा भित्र जो मिठास् समाहित छ, लाग्छ, यी दुबै दिदी र भाइ एउटै कोखका हुन् । एउटै बाआमाका सन्तान हुन् र संगै खाइखेली हुर्किएका हुन् । विभेदको महशुस त हामीलाई हुन्थ्यो । किनकि हामीले जातीय विभेदको उद्गमको बारेमा जानकारी हाँसिल गरेका थियौ र त्यो सबै कुरो चारवर्षे पार्टीको होलटाइमर कार्यकर्ता हुनुको उपलब्धी थियो ।

मकैबारीदेखि केहीपरको नङ्पोमा आउँदा भने हाम्रो जीवनचर्या अथवा भनौ जीवनपद्दति अर्कै हुन्थ्यो । त्यहाँ बसोबास गर्ने साथीहरू, ऊनीहरूका परिवार, बाआमाहरूकोबीचमा हामीलाई कुनै छेकथुन, रोकावाट थिएन । एउटै भान्सामा खाने, बस्ने, अगलबगल लागेको बिस्तराहरूमा सुत्ने, चियानास्ता गर्ने गरिन्थ्यो । मोति शर्मा गाईगोठ चलाएर बस्नु भएको थियो । उहाँ नङ्पो बजार र त्यस आसपासका बस्तीहरूमा दुध सप्लाई गर्नुहुन्थ्यो । गोपाल क्षेत्री भेटेनरी विभागको माथिल्लो तहकै कर्मचारी हुनुहुन्थ्यो । स—परिवार बस्नुहुन्थ्यो । गायक, कथाकार, उपन्यासकार, निबन्धकार तथा गीतकार रणबहादुर क्षेत्री अर्घाखाँचीका सापकोटा बाहुन सिलाङ्गेमहाजनका छोरा हुनुहन्थ्यो । उहाँको “यो नेपाली ठिटो……” भन्ने गीत आजपनि नेपाली संगीतप्रेमीहरूमाझ चर्चित छ । उहाँहरूसंगको मेरो सम्पर्क पार्टी समर्थकको हैसियतले भएको थियो । आजकि गुमनाम नेतृ राधा ज्ञवाली उर्फ क. गीताले मलाई मेघालय प्रवासको दौरानमा उहाँहरू लगायत सिलाङ्गका केही साथीहरूको नाम र सम्पर्क ठेगाना दिनुभएको थियो, आपत विपतमा काम लाग्छ भन्दै । त्यसैले उहाँहरूको र हाम्रो बीचको सम्पर्क पार्टी सम्पर्कको हैसियतको थियो । यद्यपि मैले आफ्नो पार्टी हैसियतको बारेमा उहाँहरूलाई कहिल्यै बताइन । बताउनुको कुनै अर्थ पनि थिएन । किनकि मेरो पार्टीको हैसियत बताउनु भनेको आफैमा हास्यपात्र बन्नु थियो ।

यो पनि पढ्नुहोस :   म त NRNA USA को सद्स्य बने, तपाइ नि ? -अर्जुन सिग्देल

मोति शर्मा र रणबहादुर क्षेत्रीदाइहरूसंगको गहन छलफल पछि नै बाको आरनलाई मकैबारीबाट नङ्पोमा सार्ने निधो गरिएको थियो । रणबहादुरदाइ सोही ठाउँमा नङ्पो मिडिल स्कूल चलाएर बस्नु भएको थियो । सो स्कूल उहाँले नै स्थापना गर्नु भएको रहेछ । एक मास्टरको हिसाबले सो क्षेत्रमा उहाँको राम्रो मानमनितो थियो । उहाँको पहल र मोतिदाइको सहयोगमा बालाई काम गर्न सजिलो पर्ने हिसाबले आरन राख्ने ठाउँ र सपरिवार मिलेर बस्न सक्ने बनिबनाउ घर खोज्ने काम भयो ।

संयोगले मोति शर्मादाइको घर नजिकै टुकुने दाइ भन्ने खसिया महिलासंग बिवाह गरेर बसेका एक नेपालीको घरमा आरन तथा बसोबास दुबैलाई उपयुक्त हुने बासको जोरजाम भयो । गर्नेहरूले अनेक कुरा गर्थे टुकुने दाइको बारेमा । आइमाई देख्नै हुन्न, रातदिन स्वास्नी पिट्छ भन्दै अफवाह फैलाउँथे । तर हाम्रो लागि भने बहुतै सज्जन थिए टुकुने दाइ । उनको भीमकाय शरीरको झझल्को आजसम्म पनि मैले मेरो मानसपटलबाट हटाउन सकेको छैन । औधी जड्याहा थिइन् खसिनी भाउजु । हिम्मतिलो भएको कारणले नै टुकुनेदाइ ती भाउजुसंग टिकेर बस्न सकेका थिए । अधिकांश खसिया महिलाहरू कुनै पनि पुरुषसंग सिंगो जीवन गुजार्दैनन् । स्त्रीराज छ, सामाजिक रुपमा मेघालयमा । चाहे भने लोग्नेलाई खेदाउन सक्छन् निमेषभरमा । तर, टुकुनेदाइलाई खेदाउने कसले ? जसले जे भनेपनि हामी उनको बासमा बस्दासम्म टुकुनेदाइ हाम्रा हितैसी र अभिभावक दुबै बने ।

बाटोको माथि टिलामा बनेको तीनकोठे खरले छाएको चिटिक्कको घर बनिबनाउ घर थियो टुकुने दाइको घर । एउटा कोठा बाको लागि, एउटा हाम्रो लागि र अर्को भान्साकोठाको रुपमा तैयार गर्यौ हामीले । अनिताजीले लिपपोत गरेर चिटिक्क पार्नु भयो । अगाडि राजमार्गको मुखतिर पाली निकालेर आरनको लागि उपयुक्त छाप्रो तैयार गरिदिए टुकुने दाइले । हाम्रा खाटभने उही मकैबारीका जस्तै थिए, बाँसका कप्टेराबाट बनेका । संयोगले बालाई तिर पर्यो हजार पन्द्रसय यस्तै हाराहारीमा । सो पैसा बोकेर म सिलाङ्ग पुगे पहिलोपटक र कपास बोकेर आएँ दशपन्द्र केजी । सिरक, डसना बनाउन मिल्ने कपडा पनि किनेर ल्याएँ । धुनियालाई घरमै बोलाएर सिरक र डसना बनाउन लगाएँ । दुईथान सिरक र दुईथान नै डसना पनि बनाइयो । यसपछि भने जुटको बोराको गद्दीबाट छुटकारा पाइयो । नेपाल छोडेको तीनचार महिला पछि मात्र बाँसैको खाटमा पो किन नहोस् कपासको ओछ्यान लाग्यो र सोही ओछ्यानमा उपरखुट्टी लगाएर आकाशका तारा गन्न थालियो ।

यो पनि पढ्नुहोस :   विदेश बस्दा पो देशको माया बढी हुँदोरहेछ -शिला आले, लोक गायिका

मकैबारीको बास छुटेपछि बाको नयाँ जीवन शुरु भयो । यता बिना इलमका हामी जोइपोइ बिलखबन्दमा पर्नेक्रम भने पुनः शुरु भयो । यसो भन्दा हुन्छ, जीवनको अर्को पाथेर पाञ्चाली शुरु भयो । मकैबारीमाभन्दा यस नयाँ ठाउँमा बाको जीवन भने केही सहज भयो । छोराबुहारी संगै बस्ने भएकोले भातभान्साको मेसो मात्र सुधारिएन, पिरोपानीको स्वाद पनि केही कम भएर गयो । अनिताजी बिहान सबेरै उठ्नु हुन्थ्यो । उठेर जे जस्तो घर छ, त्यसैलाई लिपपोत गर्नु हुन्थ्यो । म पनि संगै उठ्थेँ । उठेर दाउरा पानीको जाहो गर्थे । राती जति रमझम भएपनि बा पनि बिहानै उठेर आरन तताउन शुरु गर्थे । फलामको काम जहाँ गएपनि चल्ने । कमैबारीमा राजमार्गको छेउँमा आरन भएको कारणले गाडीवालाका सामान बन्थे भने यहाँ स्थानीय खसिया, नेपाली, बिहारी तथा बंगाली किसानहरूका औजार बन्न थाले । बिस्तारै कामले रफ्तार लिन थाल्यो । बाटोमाथि टिलामा आरन भएता पनि टाढाटाढाका ग्राहक पनि आउन थाले । बिस्तारै बालाई फुर्सद हुन छोड्यो । बिहानैबाट कामको शरुवात गरी बेलुकीमात्र आरन बन्दगर्नु पर्ने अवस्थामा पुगे बा ।

अनेकौ अभिलाषा, इच्छा र आकांक्षा बोकेर मेघालय हानिएको थिएँ म । यहाँ अनिताजीलाई साथमा जोडिन मैले । किननि उहाँ त मेरो यात्राको साथीमात्र हुनुहुन्थ्यो । मेरा इच्छा, आकाक्षा र भविष्यसंगै उहाँको पनि जीवन जोडिएको थियो । पार्टीमा मैले दुई वर्षको विदा स्वीकृत गराएको थिएँ, बालाई घर फर्काउने, ऋणधन मिलाउने र आफ्नो पनि केही बन्दोबस्ती गर्ने । तर, मेरो भित्री आसय भने अलि भिन्नै थियो । छुट्टीलाई केही लामो समय तन्काउने, सिलाङ्गतिरै कलेज भर्ना हुने र छुटेको पढाइलाई पुरा गर्ने । कम्तीमा मास्टर्सको डिग्री छातीमा टासेर नेपाल फर्किने र पार्टीले तोकेको क्षेत्रमा काम गर्ने ।

यो पनि पढ्नुहोस :   अंग्रेजी माध्यममा नै पढ्नु पर्ने कारण -शान्ति अर्याल अधिकारी

मैले मेरो यो भित्री आसयलाई यसरी दबाएर राखेको थिँए कि, मानौ यो अल्लाहदिनको चिराग होस् । त्यसैले यस आसय वा भित्री योजनाको बारे अनिताजीलाई समेत सुइँको दिएको थिइन । यति गहन, हावादारी, बेतुक र असम्भवप्राय अग्रगामी छलाङ्गको बारेका क. गिरीष(बामदेव गौतम)लाई बताउने त कुरै भएन । बास्तवमा मेरो यो सोँच जुरेलीको बच्चाले बाँसलाई नगाएर भुँइ छुवाएको लोकत्तीसंग ठ्याक्कै मिल्न जान्थ्यो । जीवनका सबै सम्भावनाहरू अस्ताइसकेका थिए । मिसनको छात्रबृत्ति छुटेको थियो । चालिस सालसम्म त संगै पढेका साथीहरू डाक्टर इन्जिनियरको संघारमा पुगिसकेका थिए । उर्जावान समयमा लगानी गरेको पार्टीको सक्रिय सम्पर्क बिच्छेद भएको थियो । तर पनि मेरा सपनाहरू भने सगरमाथा भन्दा पनि कता हो कता अग्ला थिए । बुटवलमा पिलर सहितको घरको अजम्बरी सपना त झन् आँखैको अगाडि पहाड बनेर ठिङ्ग उभिएको थियो । घरमा आमासंग हुर्किदैँगरेका भाइबहिनीलाई गतिलो शिक्षा दिलाउने अघोरी सपना त झन् हरेक राती मेरो निद्रासंग खेलबाड गर्न आउँथ्यो । आज सोँच्छु, हैन मेरो जीवन यति बिघ्न बेलगाम किन भयो हँ ? मैले जहाँ हात हाल्छु त्यहाँ सफल हुन्छु भन्ने बालसुलभ सोँच ममा कसरी पलायो हँ ? यी सबै प्रश्नउपम आजसम्म पनि अनुत्तरित छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य