– आर. बी. निश्चल
"राज्य, समावेशिता र विषम यात्रा" शीर्षक पुस्तकका लेखक नेपाल सरकारको निजामती सेवामा प्रवेश गरी दलित समुदायबाट पहिलोपटक प्रमुख जिल्ला अधिकारी र सहसचिव हुँदै विशिष्ट श्रेणी (सचिव) पदमा पुग्ने डा. मानबहादुर विश्वकर्मा हुन्। यस पुस्तकमा लेखक बीकेका आत्मसंस्मरण, लेख, निबन्ध र अन्तर्वार्ताका साथै उहाँका बारेमा विभिन्न पत्रकार तथा लेखकहरूले लेखेका समाचार, लेख र समीक्षा आदि समेटिएका छन्। वि. सं. २०८३ मा मकालु ग्रुप अफ कम्पनी प्रा. लि. ले प्रकाशन गरेको यस पुस्तकको मूल्य रु. ३५० (तीन सय पचास) राखिएको छ।
यस पुस्तकमा लेखकको भूमिका र त्रिभुवनचन्द्र वाग्लेको प्राक्कथनका अलावा लेखकका अनुभूति, संस्मरण तथा निबन्धात्मक लेख १० वटा, अन्तर्वार्ता ३ वटा, समाचार २ वटा र लेखकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित फिचर लेख तथा संघर्षका कथा ७ वटा गरी जम्मा २२ वटा रचना संकलित छन्। पुस्तकको अन्तिममा डा. मानबहादुर बीकेद्वारा लिखित/प्रकाशित पुस्तकको सूची र उहाँद्वारा २०६२ सालमा स्थापित 'भीम–माया स्मृति पुरस्कार' स्थापना कालदेखि हालसम्म प्राप्त गर्ने व्यक्तिहरूको विवरण दिइएको छ।
पुस्तक पढ्दै जाँदा बोध हुन्छ– मानबहादुर बीके धेरै विषय र क्षेत्रमा प्रथम भई इतिहास रच्नकै निम्ति जन्मिनुभएको रहेछ। सँगै पढ्ने साथीहरूले किताब मन्दिरमा फालिदिँदा पनि (किनभने दलितका लागि त्यतिबेला मन्दिर प्रवेश निषेधित थियो) हरेस नखाई अध्ययनलाई अगाडि बढाएका उनले जातका कारण भोग्नुपरेका विभेद, अपमान र पीडालाई सहँदै जिन्दगीमा केही गरेर देखाउने अठोट र प्रण गरेको प्रस्ट हुन्छ।
आरनमा फलामको काम गर्दै, आफूले बनाएका भाँडाकुँडा बेचेर विद्यालयको शुल्क र अध्ययन खर्च जुटाई बडो संघर्षले पढेको; एस.एल.सी. दिने समयमा अध्ययनका लागि उपयुक्त वातावरण नमिल्दा पनि राम्रो अंक ल्याएर उत्तीर्ण गरेको; एस.एल.सी. सकिनासाथ कामको खोजीमा भारत पुगेको; ट्युसन पढाएर उच्च शिक्षा आर्जन गरेको; योग्य हुँदाहुँदै पनि आफ्नै गाउँमा जातकै कारण शिक्षक बन्न नदिइएको; डेरा छोड्नु परेको र निजामती सेवामा मुद्दामामिला गर्नुपरेको जस्ता तीता अनुभवका बाबजुद निरन्तर सफलता प्राप्त गरेको देख्दा लाग्छ– लेखकको जीवनमा 'असफलता' भन्ने शब्द नै छैन।
जातिवादी समाजमा अन्तरजातीय विवाह गर्दा लेखकले भोग्नुपरेको सास्ती कम्ती छैन। "१० वर्षपछि मात्रै ससुराली" शीर्षकमा पत्रिकामा फिचर नै प्रकाशित भएको छ। तर, समस्त दलित समुदायबाट पहिलोपटक प्रमुख जिल्ला अधिकारी हुँदाको उहाँको अनुभूति र कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको वृत्तान्त पढ्न पाउँदा हर्ष र गर्वको एकैचोटि अनुभूति हुन्छ।
राज्यको विभेदी चरित्रका कारण सचिव पदका लागि पटकपटक सिफारिस हुँदा पनि नियुक्ति नदिइएपछि, उहाँमाथि अन्याय भएको बुझेर जनताले सदन र सडकबाट समेत आवाज उठाएका थिए। त्यसपछिका दबाबले मात्र उनले नियुक्ति पाएको तथ्य बुझ्न सकिन्छ।
दलित समुदायबाट नेपाल सरकारको पहिलो सचिव हुनु उहाँको व्यक्तिगत जीवनको मात्र सफलता थिएन, अपितु सम्पूर्ण दलित समुदायको प्रतिनिधित्वका हिसाबले पनि एक माइलखुट्टी (कोशेढुङ्गा) थियो। उक्त विषयलाई नेपाली सञ्चारमाध्यमले प्रमुखताका साथ सम्प्रेषण गरिरहँदा र संघर्षका कथा फिचर बनेर छाइरहँदा लेखक भने गम्भीर हुँदै भन्नुहुन्छ– "समावेशिताको दृष्टिकोणले राज्यका निम्ति यो लज्जाको विषय हो।"
डा. मानबहादुर बीकेको संघर्षको कथा धेरै लेखकहरूले फरक–फरक सन्दर्भ र माध्यमबाट लेखिसकेका छन्। तिनै प्रकाशित आलेखहरू संकलन गरेर यो पुस्तक तयार पारिएकाले कथामा केही पुनरावृत्ति हुनु स्वाभाविकै देखिन्छ; किनभने उहाँको संघर्षको मूल कथा फरक हुने कुरा भएन।
"दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी हुँदाको अनुभूति", "कामको विवरण र सुझावसहित निजामती सेवाबाट बिदाइ" र "त्यो अन्तिम रात: सारा जीवनकै प्रतिबिम्ब" जस्ता अनुभूति र संस्मरणहरू जिम्मेवारीबोधका साथ लेखिएका गहन, महत्त्वपूर्ण र शक्तिशाली आलेख हुन्। यिनलाई कालक्रमिक आधारमा मिलाएर राखिएको देखिन्छ।
प्राक्कथनमा त्रिभुवनचन्द्र वाग्लेले लेखकको व्यक्तित्वलाई राष्ट्रसेवक/प्रशासक, लेखक/सर्जक, अनुसन्धाता/अध्येता, सामाजिक अभियन्ता र प्राध्यापक गरी पाँच भागमा विभाजन गर्नुभएको छ। प्रस्तुत पुस्तकमा मानबहादुर बीकेका तिनै बहुआयामिक व्यक्तित्वको विहङ्गम दृष्टिले अवलोकन गर्न सकिन्छ।
सारमा, "राज्य, समावेशिता र विषम यात्रा" कडा घामपानी, आँधीहुरी, वर्षा र झरी सहँदै घना जंगलका ठूला रुखहरूका बीच फुलेका फूलहरू संकलन गरेर उनिएको एक सुन्दर माला जस्तै कृति हो। यो मालामा उनिएका प्रत्येक फूलका आ–आफ्नै दुःख, व्यथा र पीडाका कथा छन्; जसले पाठकलाई आफ्नै मौलिक सौन्दर्य र सुगन्ध दिनुका साथै परिवेश जस्तोसुकै प्रतिकूल भए तापनि संघर्षको मार्गमा नित्य अघि बढ्न र हरेस नखान प्रेरणा दिन्छन् एवं नवीन ऊर्जा भर्दछन्।
डा. मानबहादुर बीके अब एक व्यक्ति मात्र नरहेर एक संस्था बनिसक्नुभएको छ। उहाँका दुःख, व्यथा, पीडा, आँसु, हर्ष र सफलताका कथाहरू दलित र सीमान्तकृत समुदायको मात्र नभई सम्पूर्ण नेपाली एवं मानवताप्रेमीको रुचिका विषय बनेका छन्। यी कथाव्यथा हामी सबैले अध्ययन र मनन गर्नु अत्यावश्यक छ।