– रामप्रसाद दुलाल
(गणित शिक्षक/विशेषज्ञ)
जीवनमा जब विश्वास र साधना संगालिन्छन्, तब मात्र सच्चा सन्तुष्टि मिल्छ।मलाई विश्वास थिएन— 'विश्वास' नामक पात्रको चरित्रबाट प्रेम र महाज्ञानको यति स्वाभिमानी र अटल प्रस्तुति होला भनेर! निष्शर्त प्रेम गर्ने विश्वास र आवश्यकतामुखी रणनीतिक सम्बन्धमा अल्झिएकी साधनाको जीवन-कहानीको रोचक प्रस्तुति साँच्चै अपूर्व छ।
विश्वास: मैले धेरै उपन्यास पढेँ, तर 'मञ्जरा'को 'विश्वास' जस्तो ज्ञान, प्रेम, अभियान र स्वाभिमानले भरिएको पात्र सायदै पढेको थिएँ। ग्रामीण परिवेशको संस्कारदेखि आधुनिकताको आकाशसम्म फैलिएको यो पात्र निकै शक्तिशाली लाग्यो। उनीजस्तो विवेकशील पात्रबाट प्रवाह भएको सन्देश जीवनदर्शन नै बनेको छ।
साधना: साँच्चै रहस्यमयी नै रहेछिन्। विश्वासको निश्छल प्रेममा के कमी थियो र उनी बेलाबेला त्यसरी हराउँथिन्/अलमलिन्थिन्? उनको पाच्य र अपाच्य व्यवहार उत्सुकतापूर्ण छ। विश्वासको प्रेम-सागरमा पौडिन छाडेर बेलाबेला किन बगरको बालुवामा पौडिने मूर्खता गरिन्? एक पाठकका रूपमा म अझै यो रहस्यमै हराइरहेको छु। अन्त्यमा उनी किन हराइन् र वृद्धको सामीप्यमा पुगेर बिलाइन्? के नयाँ कथा रच्नका लागि हो???
साइँला बा: ज्ञान र मार्गदर्शनका शिखर। अनुभव र अभिभावकत्वका पर्याय। वास्तवमा उहाँ 'विश्वास'भन्दा पनि शक्तिशाली कथा-निर्देशक हुनुहुन्छ। 'विश्वास' मुख्य पात्र (हिरो) होलान्, तर उनलाई सही दिशा दिने निर्देशक भने साइँला बा नै हुन्। उहाँको छहारीविना विश्वासले ज्ञानको ओत पाउने थिएन।
एउटा जिज्ञासा: 'विश्वास'का बा-आमा उपन्यासबाट कसरी एकाएक बेपत्ता भए? जे होस्, इमानदार अभिभावकका रूपमा उहाँहरूप्रति सम्मान छ।
कथा तब मात्र बलियो हुन्छ, जब यसले दिने सन्देश बलियो हुन्छ। यस उपन्यासको सबैभन्दा सशक्त पक्ष नै यसको सन्देश हो— प्रेमको सन्देश, क्षमाको सन्देश, स्वाभिमान र निडरताको सन्देश।
म नतमस्तक छु। उपन्यासमा प्रयोग गरिएका संवादहरू कति मीठा, कति सत्य! बौद्धिकताको उत्कर्षबाट सिर्जित यी कथनहरू जीवनपथका ऊर्जा बनेका छन्। बौद्धिक प्रकटीकरणको यो एक उत्कृष्ट नमुना हो।
बालकृष्ण गजुरेलज्यू,
तपाईँको उच्च बौद्धिक तहप्रति सलाम छ! कति मीठा तर्क र संवाद, कति पठनीय अध्यायगत संरचना! छोटा वाक्यहरूको प्रस्तुतीकरण खरो र दरिलो छ। यो उत्कृष्ट कथा-साधनाप्रति नमन!
कहीँ-कतै कथाको निरन्तरता टुटेको जस्तो पनि महसुस भयो। साधनालाई अलि सजिलै स्वीकार नगरिएको भए हुन्थ्यो कि? धोकेबाजलाई धोका नै त दिनुहुँदैन, तर चेतना जगाउनका लागि भए पनि गल्तीको अलिकति भारी त बोकाउनै पर्थ्यो कि भन्ने लाग्यो।
जे होस्, यो सुन्दर सिर्जनाका लागि अनन्त सम्मान!
मेलम्ची, सिन्धुपाल्चोक