श्रमिकको जीवन सुधार्न
कार्ल मार्क्सले भनेका थिए–
"वस्तुको उत्पादन र न्यायोचित वितरण गरौँ।"
उत्पादन बढेपछि–
धन मिल्यो, शिक्षा मिल्यो।
दलितहरू धनी बन्दा
न जातभात रहन्थ्यो,
न कुनै विभाजनको खाडल!
सिर्जनशील मिजारहरू हुन्थे–
आफ्नै व्यवसायका कारण
नेपालकै सबैभन्दा धनी।
कालिगड विश्वकर्माहरू
देशका उत्कृष्ट वैज्ञानिक बन्थे,
र निर्माण हुन्थ्यो विकासको बलियो जग।
कल चलाउने साहिँलो दमाइ
मालिक हुन्थ्यो ठूला गार्मेन्टको,
सिउँथ्यो उसले फाटेका सम्बन्धहरू
र विश्वको कपडाको जिम्मा
उसैको काँधमा आउँथ्यो।
...
जसले दर्शन पढे–
ऊ कहिल्यै उस्तै रहेन।
कुनै दिन हेगल पढेपछि
कार्ल मार्क्स कार्ल मार्क्स मात्र रहेनन्,
लेनिनले जब मार्क्सवाद पढे
उनी केवल मार्क्सवादी रहेनन्,
जन्माए– लेनिनवाद!
माओत्सेतुङले जब सोचमग्न बनेर
मार्क्सवाद र लेनिनवाद पढे,
न उनी मार्क्सवादी रहे, न लेनिनवादी,
उनले बिर्से कण्ठ पढेका दर्शन
र जन्माए– माओवाद!
तर यहाँ,
मिसनरी डलर चाटेका
पुराना ढ्याउहरू बेला-बेला
डकार्दै चार हात उफ्रन्छन्
र स्वार्थको मन्त्र जप्दै भन्छन्–
"हामी क्रान्ति गर्छौँ!"
देशका तिनै विद्रूप छिद्रहरू
जप्दै छन् अझै जातीय नारा।
- हेलम्बु-६, सिन्धुपाल्चोक