भदौ २६, पाल्पा ।
राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा नियमित कार्यक्रमअन्तर्गत ‘छन्द सङ्गम’ को ७९ औँ श्रृङ्खला शुक्रबार घोराहीस्थित परिषद्को सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न स्रष्टाहरूले आ-आफ्ना उत्कृष्ट छन्द कविताहरू वाचन गरेका थिए। परिषद्का जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैया प्रमुख अतिथि तथा केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथि रहनुभएको थियो।
प्रमुख अतिथि मजगैयाले नेपाली साहित्यमा छन्द कविताको ऐतिहासिक योगदान र वर्तमान समयमा यसको महत्त्वबारे प्रष्ट पार्दै छन्द साहित्यको संरक्षण र प्रवर्द्धनमा यस्ता नियमित श्रृङ्खलाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्काको उपस्थिति थियो। यस्तै साहित्यकारहरू रामप्रसाद जैसी, एकराज शर्मा अधिकारी, मधुसूदन गौतम, नरेशजङ्ग राणा, दामोदर पौडेल, माधवप्रसाद न्यौपाने, शरद गौतम, सुवास न्यौपाने, महेशकुमार न्यौपाने, रिमा गौतम, नारदप्रसाद भण्डारी, दीपकबहादुर क्षेत्री, वसन्त पोखरेल, सुशीला आचार्य लगायतको सहभागिता रहेको थियो। परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम के.सी.ले गर्नुभएको थियो।