गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्ष पदका उम्मेदवार कृष्ण देवकोटा जर्मन निवासी नेपालीको लागि समाजसेवी परिचय बनाएको चिरपरिचित नाम हो। संघको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका देवकोटा संस्थामा आएको फूटको असर जर्मनमा पर्न नदिन र संसारभरका नेपालीलाई अझ एकतावद्ध जाने संदेश जर्मनले दिनेछ भन्ने अभियानमा बिभिन्न शहरहरुमा नेपालीहरुसंग भेटघाटमा ब्यस्त छन्। २० जुलाईमा बर्लिनमा हुने निर्वाचनमा सर्वसम्मत निर्वाचित हुने कुरामा विश्वस्त रहेको बताए। हाम्रा प्रतिनिधिसंग देवकोटाले भने, एनआरएन जर्मनीका संस्थापक दिल गुरुङ दाजी, संस्थापकहरु जीवा लामिछाने, रामप्रताप थापा, पूर्व अध्यक्ष कुमार पन्त पनि एनआरएन फुट्नु हुँदैन, एक भएर जानुपर्छ भन्ने अभियान मै हुनुहुन्छ। मुद्धा एक भएपछि मेरो नेतृत्व पक्का भएको हो। उच्च शिक्षाको निम्ति वर्षेनी सयौं नेपाली सहित हजारौं विद्यार्थी भित्र्याउने जर्मन शहर गोटीङ्गेन नेपाली समाजका अध्यक्ष समेत रहेका देवकोटासंगको कुराकानी।
एनआरएनए जर्मनीको नेतृत्वमा किन तपाईंनै ?
गैर आवासीय नेपाली संघको स्थापना कालदेखिनै नै क्रियाशील छु। प्रवासी नेपालीहरुको हक हितको निम्ति क्रियाशील छु। संस्था नेतृत्वको अनुभव छ। अहिले विविध कारणले संस्थामा बादल लाग्यो। यस्तो होला भन्ने न संस्थापक न हामी, कसैले सोंचेका थिएनौं। त्यसो हुनाले संस्था बचाउन पनि म यसपटक नगरे कहिले गर्ने ? भनेर मैदानमा उत्रिएँ।
केन्द्रमा नेपालका पार्टी, नेता र सरकारले हस्तछेप गर्ने, एनआरएनको नेतृत्वनै पार्टीको इसारामा चल्ने, अनि तपाईं एक्लैले यो एकताको अभियान चलाएर हुन्छ त ?
म एक्लै कहाँ छु ? जर्मनमै ब्यबसाय गरेर यो अभियानको शुरुआत गर्नुहुने अग्रज जीवा लामिछाने, राम थापा, जर्मनका संस्थापक दिल गुरुङ, पूर्व अध्यक्ष कुमार पन्त कसैले पनि संस्था एक हुनुहुन्न भनेको तपैले सुन्नु भएको छ र ? एक्लै, सानो समूह बाटै शुरु हुने हो जस्तो काम पनि। फेरी म एक्लै छैन। ब्यबसायी, बुध्हिजिवी, पूर्व नेतृत्वकर्ता, विद्यार्थी, जर्मनमा कर्मथलो बनाएका दाइ दिदीहरु सबैको साथ र माया छ। अनि म एक्लैले गर्ने भन्ने कुरो त भएन।
त्यसो भए निर्विरोध नै हुनुहुन्छ त ?
नेतृत्वमा आउने चाहना राखेर उम्मेद्वारी दिएका साथीहरुले पनि अन्तमा मेरो नेतृत्वलाई स्विकार्नुहुनेछ। संस्थाको अगुवाईको चाहना राख्नु राम्रो हो। मेरो अनुहार हेरेंर होइन, मेरो सामाजिक विगत र एकताको आह्वान सहितको एजेन्डा हेरेर साथीहरुले बर्लिनमा मलाई नेतृत्व सुम्पेर सहकार्यका साथ समिति चयन गर्नुहुनेछ भन्ने कुरामा म मात्रै होइन जर्मनीको नेपाली समाजका अगुवाहरु ढुक्क हुनुहुन्छ।
तपाई पनि राजनीतिक पार्टीबाटै उठाइनु भएको होला होइन ?
राजनीतिक रुपमा मानिस सचेत हुनु राम्रो हो। चेतनशील मान्छेको विचार हुन्छ। प्रवासमा बसेपनि देशको राजनीति प्रति रुचि राख्ने काम राम्रो हो। तर, पवित्र उद्धेस्यले राजनीति भन्दा पृथक राख्छु भनेर बनाएको संस्थामा राजनीति हुनु, त्यो दलगत राजनीति हुनु दुखद हो। त्यसो हुनु हुदैन भनेर उदाहरण दिन त म जर्मनीको नेतृत्वमा जाँदै छु। कसले के गरिरहेको छ ? त्यो त प्रवासी नेपालीहरुले देखेकै कुरा हो। म पनि राजनीतिक रुपमा नेपाल छँदा क्रियाशील थिएँ। मुलुकमा लोकतन्त्र ल्याउन काम गरेको हुँ। तर, यो संस्था भित्र पार्टी राजनीति प्रवेशको म सधै विरोधी थिएँ र रहनेछु।
तपाइले कस्तो काम गर्ने योजना बनाउनु भएको छ ?
म संस्थाको नेतृत्वमा आएपछि कुनै समूह, विचार या स्वार्थको पछि नलागी निस्वार्थ एनआरएन जर्मनीको उद्धेस्य बमोजिम जर्मन निवासी नेपाली दाजुभाई दिदीबहिनीहरुको हितमा लाग्ने छु। म एक्लै हुनेछैन। मेरो सिंगो टीम हुनेछ। एक पटकको नेपाली सधैको नेपाली भन्ने संस्थाको मूल मन्त्र अनुसार केन्द्रसँग समन्वय गरेर काम गर्ने छु। पढाइ र कामको सिलसिलामा जर्मनी आउने नेपाली नवआगन्तुक नेपालीहरुको दुख अप्ठेरोमा साथ दिनेछु। नेपाली नेपालीलाई जोड्ने पूलको काम गर्नेछु। खेल, संगीत, भेटघाट विभिन्न माध्यम हुनेछ। लगानी प्रबर्धनको छेत्रमा क्रियाशील टीमसंग सहकार्य हुनेछ। यो सबै कुरा एकताबाटै सम्भव छ।