मुक्तक - १.
जब चन्द्र मुस्काउँछ, उज्यालो छरिन्छ सबैतिर,
गगनको बन्न प्यारो, बादलको भरोसा गरिन्छ सबैतिर।
जीवनभित्र मीठा सम्बन्ध बस्न थाल्छन् जब-जब,
जाग्राम बस्छन् सपना अनि, खुसी भरिन्छ सबैतिर।
मुक्तक- २.
साँझको धुवाँमा हिजोआज रहरहरू हराउँदैछन्,
चकमन्न यो नजरको अन्धकारमा कराउँदैछन्।
साँचो अर्थ खोज्दाखोज्दै थकाइ मार्दा यो मन,
जागृत यी मौनता पनि मायादेखि डराउँदैछन्।
मुक्तक- ३.
मीठो हावाको सुस्केरासँगै आउन थाल्छ खुसीको सन्देश,
प्रेमको स्थिर तलाउमा सल्बलाउँछ खुसीको सन्देश।
मधुरो रातमा सजिएका कैयौँ लुकेका अस्तित्वभित्र,
फेरि नयाँ त्यो जिन्दगीले फैलाउँछ खुसीको सन्देश।
मुक्तक- ४.
चाँदका सिताराले दिन्छन् क्षणिक उज्यालो कताकता,
थोरै ठाउँ खुसीले लिन्छन् क्षणिक उज्यालो कताकता।
प्यारको महलमा रहेका ती कुना-कन्दराका सपना,
अँध्यारोलाई मात्रै चिन्छन् क्षणिक उज्यालो कताकता।
मुक्तक- ५.
केही चोट थिए जो जीवनको इतिहास बन्दै गए,
दुःखको भीडभित्र पनि खुसीको आभास बन्दै गए।
आफ्नै गुनासो भेट्ने रहर समयले खोसिदिए पनि,
निराश होइन यो जिन्दगी आफैँ मिठास बन्दै गए।
- नयाँबजार - १६, काठमाडौँ