Logo

मंगलवार, कार्तिक ४ गते २०८३   |   2026 October 20

images

images

सन्दर्भ (लघुकथा)

सन्दर्भ (लघुकथा)

नेप्लिज डायस्पोरा

३, कार्तिक २०८३
images
सन्दर्भ (लघुकथा)

  लक्ष्मी रेग्मी खनाल

​"छोरी, के भयो ? किन एक्लै बसेकी ? ल, पाउरोटी र त्यो बोतलमा पानी छ, त्यसैसँग खाऊ।"

​"आमा, मलाई नि कस्तो तातो-तातो दालसँग भात खान मन छ।"

​आँखाका आँसु आँखैभित्र लुकाउँदै सरिता भन्छिन्, "खाऊ छोरी, खाऊ! मैले कहाँबाट ल्याएर दिऊँ ? यो झरीमा गाँस, बास केहीको टुङ्गो छैन।"

​"आमा, एउटा कुरा सोधौँ ?"

​"सोध न छोरी।"

​"आमा, अस्ति भर्खर भोट माग्न आउने अंकलले 'हाम्रो घरलाई म सुरक्षा दिन्छु' भन्दै हजुरलाई भनेको होइन र? उहाँलाई फोन गरौँ न, 'हाम्रो घर भत्कियो' भनेर।"

​सरिताले छोरीलाई सुम्सुम्याउँदै भन्छिन्, "तिमी बुझ्दिनौ छोरी! यो समाज र राज्यले हाम्रो फोन उठाउँदैन।"

​"आमा, हजुरलाई थाहा छ? साइँला काकाको छोरा त मरेछ, घर भत्कायो भनेर। अनि नि आमा, ठूलोबाले खोलामा हामफालेर बित्नुभयो रे! अब हामी कसरी मर्ने ? मैले सुनेको, नेपालमा गरिब हटाउने रे ! आमा, हामी किन गरिब जन्मेको ? आमा, म स्कुल गएको बेला अरूको घरमा भाँडा माझेर र कपडा धोएर हजुर धनी कहिले बन्ने ? हाम्रो पनि घर कहिले बनाउने? आमा, मलाई डोजर मन पर्दैन, यसको काम त घर भत्काउने पो रहेछ ! मैले अस्ति भर्खर नेवारी ड्रेस लगाएकी बहिनी कति धेरै मान्छेको भिडमा आफ्नो बाबाको काखमा बसेको देखेकी थिएँ, उ त्यो पर चोकको टिभीजस्तो स्क्रिनमा। मेरो बाबा मलेसिया नगएको भए म पनि मेरो बाबाको काखमा बस्थेँ होला, है ?"

​छोरीका कुराले मन भकानिएपछि सरिताले उसलाई काखमा च्याप्दै भन्छिन्, "जानिनँ छोरी ! हामी गरिबको मन दुखेको र आँसुको भल बगेको उनीहरूले देख्दैनन्। मलाई पनि आफैँसँग प्रश्न गर्न मन छ— कालो चस्मा लगाउने सरकार कतै दृष्टिहीन त छैन ?"

​त्यतिबेलै ठूलो हावाहुरी चल्छ। मेघ गर्जेर मुसलधारे पानी पर्छ। भत्काइएका टहराहरूसँगै ती दुवै आमाछोरीलाई भलले बगाएर लैजान्छ।

​भोलिपल्ट पत्रिकामा समाचार आउँछ, "नयाँ सरकारको आगमनसँगै गरिबीको अन्त्य !"

​- वालिङ, स्याङ्जा

 

images
प्रकाशित मिति :कार्तिक ३, २०८३ सोमवार - ०९:१९:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend