Logo

शुक्रवार, मंसिर ५ गते २०८३   |   2026 November 20

images

images

अमेरिकामा अन्त्येष्टि संकट -विमल नेपाल

अमेरिकामा अन्त्येष्टि संकट -विमल नेपाल

नेप्लिज डायस्पोरा

५, मंसिर २०८३
images
अमेरिकामा अन्त्येष्टि संकट  -विमल नेपाल

अमेरिकामा अन्त्येष्टि संकट

-विमल नेपाल

हालै बोस्टनमा एकजना नेपालीको मृत्यु हुँदा परिवारले दाहसंस्कारको लागि पैसा निकाल्न समेत सकेन। त्यस्तो अवस्थामा आफन्तहरूले सहयोग गरेर काम चलाइयो।

 

अमेरिकामा नेपालीहरूको सङ्ख्या बढेसँगै हामीबीच आर्थिक दूरी पनि बढेको छ। कोही धेरै धनी छन् त कोही निकै गरिब। यस्तो अवस्थामा सामान्य परिवार वा गरिबका लागि दाहसंस्कार गर्न चार पाँच हजार डलर निकाल्न निकै मुस्किल पर्छ। यहाँ लास जलाउने कामको न्यूनतम खर्च नै चार पाँच हजार डलर लाग्छ। तर अमेरिकाको सरकारी व्यवस्था र नियम कानुनले अन्तिम संस्कारका लागि पैसा जुटाउन नसक्नेहरूको लागि राम्रो प्रबन्ध गरेको छ। धेरै नेपालीलाई यो कुरा थाहा छैन। त्यही जानकारी दिनु नै यो लेखको मुख्य उद्देश्य हो।

 

अमेरिकामा कतिपय कामदार, विद्यार्थी, बेरोजगार र नेपालबाट घुम्न आएका वा आम्दानी नभएका वृद्धवृद्धाको अकस्मात् मृत्यु हुँदा दाहसंस्कार गर्न समाज र सामाजिक संस्थाहरूलाई ठूलो आर्थिक भार पर्ने गरेको छ। यो लेखमा त्यही आर्थिक भार कम गर्ने व्यावहारिक उपायहरू खोजिएको छ।

 

अहिले अमेरिकामा करिब २ देखि ३ लाख नेपाली बसोबास गर्छन् भन्ने अनुमान छ। यहाँका सबै ठूला सहरमा नेपालीहरूको बाक्लो उपस्थिति छ। नेपाली समाजमा जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार हुन्छन्। तीमध्ये मृत्यु पछिको प्रक्रियाबारे हामीले बेलैमा जानकारी राख्नु अत्यन्त जरुरी छ। किनभने मृत्यु कसलाई कतिबेला पर्छ कसैलाई थाहा हुँदैन।

 

काम, पढाइ र उज्ज्वल भविष्यको खोजीमा सात समुद्रपारि आइपुगेका नेपालीहरूका लागि अमेरिकाको जीवनशैली जति अवसरले भरिपूर्ण छ, विपत्तिको घडी उति नै कठिन र खर्चिलो पनि छ। पछिल्लो समय अमेरिकाका विभिन्न सहरमा एक्लै बस्ने, आर्थिक अवस्था कमजोर भएका वा जीवन बीमा नभएका नेपालीको निधन हुँदा अन्त्येष्टि खर्च जुटाउन समुदायलाई हम्मेहम्मे पर्ने गरेका घटना बढिरहेका छन्।

 

यस्तो दुःखद अवस्थामा नेपाली समुदायले देखाउने एकता र गोफन्डमी (GoFundMe) मार्फत गरिने आर्थिक सहयोग साँच्चै प्रशंसनीय छ। तर हरबखत चन्दा उठाउनु व्यावहारिक हुँदैन। अझ धेरैलाई थाहा नभएको कानुनी पाटो के छ भने, सार्वजनिक चन्दा उठाउँदा जम्मा भएको रकम मृतक वा परिवारको सम्पत्ति मानिन्छ। खातामा यसरी पैसा जम्मा भएपछि अमेरिकी राज्य सरकारबाट पाइने निःशुल्क अन्त्येष्टि सहायता समेत रोकिन्छ।

त्यसैले अमेरिकामा कसैको निधन हुँदा आर्थिक अभाव भएमा चन्दा उठाउनुअघि अपनाउन सकिने महत्त्वपूर्ण सरकारी र कानुनी विकल्पहरूबारे हामी सबैले थाहा पाउनुपर्छ:

 

१. फ्युनरल होमको कागजमा हतारमा हस्ताक्षर नगर्नुहोस्ः

अमेरिकी कानुनअनुसार मृतकको आफन्त वा साथीभाइले फ्युनेरल होमको सम्झौतापत्रमा आर्थिक जिम्मेवारी लिने व्यक्ति भनेर हस्ताक्षर नगरेसम्म त्यो बिल तिर्न कोही पनि बाध्य हुँदैन। शोकको घडीमा भावनामा बगेर एकपटक हस्ताक्षर गरिसकेपछि भने हजारौं डलरको ऋण तिर्ने व्यक्तिगत दायित्व हस्ताक्षर गर्ने मान्छेमाथि सर्छ। त्यसैले पैसाको जोहो नहुँदै कुनै पनि बिलमा सही नगर्नुहोस्।

२. महँगो प्याकेज होइन, डाइरेक्ट क्रिमेसन रोज्नुहोस्:

धेरैजसो फ्युनरल होमले सुरुमा चार देखि छ हजार डलरसम्मको लाश पोल्ने  प्याकेज देखाउँछन्। तर अमेरिकी संघीय कानुन (FTC Funeral Rule) अनुसार ग्राहकले महँगो बाकस र औपचारिक जमघट कार्यक्रम अस्वीकार गरी सिधै शवदाह गर्ने अर्थात डाइरेक्ट क्रिमेसन मात्र रोज्न पाउँछन्। सामान्य प्रक्रियाबाट गरिने यो शवदाहको खर्च अमेरिकाका अधिकांश सहरमा ८०० देखि २,००० डलरको बीचमा मात्र पर्छ।

 

३. राज्यको निःशुल्क अन्त्येष्टि सुविधा (Indigent Cremation)

अमेरिकाका हरेक राज्य र काउन्टीमा आर्थिक रूपले विपन्न वा बेवारिसे नागरिकको सम्मानजनक अन्त्येष्टिका लागि सरकारी कोषको व्यवस्था हुन्छ। मृतकको बैंक खातामा पैसा छैन र परिवारले पनि खर्च बेहोर्न नसक्ने अवस्था छ भने काउन्टीको सोसल सर्भिसेज वा मेडिकल एक्जामिनर कार्यालयमार्फत निःशुल्क दाहसंस्कारका लागि निवेदन दिन सकिन्छ।

उदाहरणका लागि, म्यासाचुसेट्स राज्यले कुल खर्च ३,५०० डलरभन्दा कम राखिएमा १,१०० डलरसम्म सिधै फ्युनरल होमलाई तिरिदिन्छ। त्यस्तै टेक्सास, क्यालिफोर्निया र न्युयोर्कका काउन्टीहरूले विपन्नका लागि निःशुल्क शवदाहको प्रबन्ध मिलाउँछन्। यदि कोही पनि खर्च बेहोर्न नसक्ने अवस्था छ भने अस्पताल वा स्थानीय प्रशासनलाई यही कुरा स्पष्ट जानकारी गराउनुपर्छ। यसो गर्दा राज्यकै खर्चमा अन्त्येष्टि सम्पन्न हुन्छ।

 

४. अन्य सरकारी तथा संस्थागत सहुलियतः

मृतकले काम गर्ने कम्पनी वा ट्रेड युनियनमार्फत सानोतिनो सामूहिक बीमा छ कि भनी अफिसको मानव संसाधन विभागमा बुझ्नुपर्छ। त्यस्तै पर्याप्त कर तिरेका कामदारका परिवारले सोसल सेक्युरिटीबाट २५५ डलर पाउँछन्। हिंसात्मक घटना वा दुर्घटनामा ज्यान गुमाएकाको हकमा राज्यको क्राइम भिक्टिम कम्पेन्सेसन कोषबाट ६,५०० डलरसम्म सहयोग मिल्छ। यसबाहेक स्थानीय २११ (211) हेल्पलाइनमा फोन गरेर च्यारिटी संस्थाहरूबाट पनि आर्थिक सहयोग माग्न सकिन्छ।

 

प्रवासको व्यस्तता र भोलिको तयारीः 

अमेरिकाको व्यस्त जीवनशैलीमा हामी सबैजना काम, परिवार र दैनिक खर्च टार्ने दौडधुपमा हुन्छौं। यही व्यस्तताका कारण भोलि मलाई केही भइहाल्यो भने के होला भन्ने अनिश्चिततालाई हामी प्रायः बेवास्ता गरिरहेका हुन्छौं। तर जीवनको कुनै भर नहुने भएकाले सानो पूर्वतयारीले भोलि आइपर्ने ठूलो संकट टार्न सक्छ।

 

पहिलो, सस्तो जीवन बीमा अर्थात टर्म लाइफ इन्स्योरेन्स लिनुहोस्। अमेरिकामा जीवन बीमा भनेको धेरै महँगो कुरा होइन। स्वस्थ मान्छेले महिनामा जम्मा २० देखि ४० डलर (एउटा सामान्य खानाको खर्च बराबर) तिरेरै १ लाखदेखि ५ लाख डलरसम्मको बीमा गर्न सक्छन्। यति सानो बचतले भोलि अप्रत्याशित घटना भइहाल्यो भने अन्त्येष्टि खर्च मात्र होइन, परिवारको भविष्यसमेत सुरक्षित हुन्छ।

दोस्रो, बैंक खातामा हकवालाको नाम (Payable on Death) राख्नुहोस्। हामीले कमाएको पैसा बैंक खातामा जम्मा हुन्छ। तर यदि खातावालाको अचानक मृत्यु भयो र खातामा कसैको नाम राखिएको छैन भने त्यो पैसा निकाल्न महिनौं वा वर्षौंसम्म अदालती प्रक्रियामा अल्झिन्छ। बैंकमा गएर निःशुल्क भर्न मिल्ने पेएबल अन डेथ (POD) फारममा श्रीमान्, श्रीमती, छोराछोरी वा विश्वासिलो मान्छेको नाम राखिदिने हो भने मृत्यु प्रमाणपत्र देखाएकै भरमा परिवारले तुरुन्तै खाताको पैसा झिकेर दाहसंस्कार र अन्य खर्च टार्न सक्छन्।

 

तेस्रो, दुःखको घडीमा भावनामा बगेर महँगो सम्झौता नगर्नुहोस्। कसैको निधन हुँदा परिवार र आफन्त शोकमा डुबेका हुन्छन्। यही कमजोरीको फाइदा उठाउँदै कतिपय फ्युनेरल होमहरूले महँगो प्याकेजमा हस्ताक्षर गराउन सक्छन्। तर हतारिएर कागजमा सही गर्नुअघि राज्यले दिएका निःशुल्क वा सस्ता सरकारी विकल्पहरूबारे बुझ्नुहोस्। दुःखको घडीमा भावनाले होइन, कानुनी सचेतना र पूर्वतयारीले निर्णय लिनु नै प्रवासमा परिपक्वताको पहिचान हो। #फरक_सोच

images
प्रकाशित मिति :मंसिर ५, २०८३ शुक्रवार - ०५:११:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend