Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

वसन्ती राई आगो लगाउछिन आगो !

वसन्ती राई आगो लगाउछिन आगो !

सतीश चापागाईं

१९, कार्तिक २०७५
images
  सतिश चापागाईं बाल्टिमोर, अमेरिका कसले चिन्दैन होला वसन्ती राईलाई ? उनको नाम सुन्ने बित्तिकै सबैको दिमाग टक्क अडिन्छ, उनको नाचको दृश्यमा गएर । बिशेष गरेर अमेरिकामा रहेका नेपालीहरु धेरैले प्रत्यक्ष वा भिडियो मार्फत उनको डान्स देखेकै हुनुपर्छ ।   नदेखुन पनि कसरी वसन्ती राईले सन् १९९८ देखि अमेरिकाका बिभिन्न नेपाली कार्यक्रमहरुमा डान्स गरेको गरेकै छन् त ! टुरिष्ट बनेर १९९८ मा अमेरिका आएकी वसन्तीले त्यसपछि आफ्नो वसन्ती हावा अमेरिकामा नै फ़ैलाएकी छिन । उनी शितल वसन्ती हावा मात्र होइनन सलाईकी काँटी पनि हुन्, आगो लगाउछिन आगो !   जब उनी स्टेजमा गएर नाच्न शुरु गर्छिन हरेक दर्शक एक टक लगाएर हेर्छन । जब उनी नाच्छिन दर्शकका शरीरमा रौँ ठाडा हुन्छन अनि ठाउंको ठाउं उठेर नाच्न शुरु गर्छन । मानिसहरु उनको साथमा नाच्न थाल्छन - आगो लाग्छ स्टेजमा । पुरा मुडमा नाच्दा शरीरका अंगअंग नशालु लाग्छन -वसन्ती राईका । अनि, बिषालु र बैशालु आँखाहरु उनको नृत्यको भरपुर मज्जा लिन्छन -आगो लाग्छ मानिसका मनमनमा । रहरै रहरमा नाच्न थालेकी वसन्ती राई अचेल अमेरिकाको नेपाली समुदायकी भर्सटायल सेलिब्रेटी हुन् । पेशाले उनी एउटा प्रतिष्ठित ज्वेलरी कम्पनीको प्रोडक्ट सुपरभाइजर हुन् । महंगा महंगा मोतीका राम्रा राम्रा हार र उपहारको वरीपरी हप्ताका पांच दिन बित्छ, बाँकी दुई दिन घरपरिवार र नेपाली समुदायसंग । डान्सका अतिरिक्त, गायन र मोडलिङ वसन्तीको थप परिचय हो ।   नाचको कुनै खास औपचारिक कक्षा लिएकी छैनन् वसन्तीले तर, उनको डान्स हेरेर धेरैले केहि स्टेप भने पक्कै सिकेका छन् भनेर भन्दा अन्यथा नहोला । त्यसो त उनको नाच देखेर शुरुवाती दिनमा नेपाली डान्स डाइरेक्टर राज कपुरले उनलाई हौसला स्वरूप केहि टिप्स भने दिएको वसन्ती स्वीकार्छिन । अमेरिकाको एउटा कार्यक्रममा राजेश हमालसंग डान्स गरेर उनको यात्रा शुरु भएको हो । पछी अमेरिका आउने हरेक नेपाली नायकहरुसंग नाच्न पाईन ।सरोज खनाल र भुवन केसीसंग पनि नाचिन । नायक मात्र होइन अन्य चर्चित र भर्खर शुरु गरेका कलाकारहरुसंग पनि उनी नाचेकी छिन । नायक राजेश हमाल त अमेरिकाका हरेक कार्यक्रममा उनीसंगै नाच्न प्रिफ़र गर्छन । राजेश हमाल उनलाई 'वसन्त' भ न्छन रे । वसन्ती गौरवको टोनमा भन्छिन, "राजेश दाईले आयोजक संगै भन्नुहुन्छ म बसन्त संग नाच्छु भनेर ।" वसन्ती भन्छिन, "शुरुमा संगै नाचेको भएर होला उहाँको माया पाएको यो । हामी एकदम पारिवारिक भएका छौं ।" यो यात्रामा उनलाई रमाइलो र खुशी लागेको अर्को कुरा भनेको दर्शकको अपार माया पनि हो । नेपाली कार्यक्रमहरुमा यसरी नाच्न पाउदा आफुलाइ अत्यन्तै भाग्यमानी भएको महशुश हुन्छ उनलाई । त्यति मात्र होइन नेपाली कला संस्कृतिलाई केहि टेवा दिन सकेकोमा गौरव पनि हुदो रहेछ । उनी भन्छिन, "पहिला त नेपाली नै थोरै हुनुहुन्थ्यो । जहाँ पनि बोलाउनुहुन्थ्यो । अहिले हरेक शहरमा प्रशस्त नेपाली हुनुभएको छ, साथै कलाकारहरु पनि । त्यसैले पहिला जस्तो ब्यस्त भएकी छैन ।" कुराकानीमा वसन्ती रोकीइनन भन्दै गईन- "धेरै नेपाली हुदै जाँदा रमाइलो लाग्छ । हरेक दिन प्रगति देख्छु । हरेक विधाका मानिस भेट्दा खुशी लाग्छ ।" नेपालीहरु बढ्दै गएको बेला धेरै कुरा त राम्रै लाग्छन तर बिभिन्न कार्यक्रमहरुमा जाँदा नेपालीका बच्चाहरु नेपाली नबोलेको र अंग्रेजी बोल्दा बाबुआमाले गौरब गरेको देख्दा कताकता नमिठो लाग्ने गरेको उनले बताईन । बढी व्यस्त पो नभएकी हुन् उनी, फुर्सद त कहाँ छ र ? सांस्कृतिक कार्यक्रममा कम निस्किएकी मात्र हुन् । सांगीतिक कर्ममा त उनलाई कहाँ फुर्सद छ र ? कहिले गीत रियाज, कहिले गीतको रेकर्डिग । गीत तयार भएपछी प्रोमोशन । गीत चलाउन राम्रो भिडियो बनाउने चलन चलेको छ । स्वरले मात्र हैन शरीर र रुपले पनि साथ दिएको छ । भिडियो बनाउनै पर्ने बाध्यता र अभिनयप्रतिको आशक्तिको कारण उनी आफै म्युजिक भिडियोकी नायिका भएर खेल्छिन । वसन्तीले शुरुमा गाएको गीत 'लाने भए लैजाउ कान्छा' भन्ने गीत हो । यसको शब्द संगीत बिमल डांगीको रहेको छ भने उनलाई गायक जगदीश समालले स्वरमा साथ दिएका छन् । यो गीतमाको भिडियोमा उनी राजेश हमालसंग अभिनय गरेकी छिन । उनको दोस्रो गीत राईहरुको साकेला गीत हो । जसमा राजेश पायल राई र वसन्तीको स्वर छ । सोय ढोले सोय अर्को ढोले खोई भन्ने यो गीत धेरै नै चर्चामा छ । विल्सन बिक्रम राई (तक्मे बुढा) र एलिशा राई मुख्य भूमिकामा म्युजिक भिडियो बनेको छ । यो भिडियोमा राजेश र वसन्ती दुवै जनालाई पनि देख्न सकिन्छ । यो गीतको शब्द बिमल डांगीले लेखेका हुन् भने एरेन्जर राकेश ओली हुन् । त्यस्तै, उनले शंकर बिसीसंग 'बुलान्कीले गर्नु गर्यो' मा मोडेलिङ गरेकी छिन । कृष्ण प्रेम राहादीको स्वर, गीत सन्तोष अधिकारीको हो । झुम्के बुलान्की मेरो नाकैमा बोलको अर्को गीत भर्खर बजारमा आएको छ । रिमा विश्वकर्मा, गौरब पहाडी र वसन्ती खेलेका छन् । वसन्ती कै स्वर रहेको यो गीतको शब्द संगीत ओम कर्माचार्यको हो । ओम, बिमल र जगदीश न्युयोर्कमा रहेर नेपाली संगीतको श्रीबृद्धिमा सक्रिय संगीतकर्मीहरु हुन् । वसन्तीको एउटा नयाँ गीत आउने तरखरम छ । जसको बोल यस्तो छ : वसन्ती म क्षितिजको हिमाल पारी घामको प्यारी बन्न सकूँ भन्छु तिम्रो मिठो नामको .. म्युजिक नेपालबाट सार्बजनिक हुन लागेको यो गीतको रचनाकार धन लामा हुन् । संगीतकार बिमल डाँगी को संगीत रहेको यो गीतमा बसन्तीलाई जगदीश समालले साथ दिएका छन । यसको म्युजिक भिडियो पनि सम्पादनको क्रममा छ । शंकर बिसी, माया मेलिसा राई र उनी स्वयंले अभिनय गरेकी छिन । बसंतीका प्राय गीतहरु न्युयोर्क मै बन्छन र यही सुटिंग हुन्छन । नयाँ गीत पनि यही सुटिंग भएको हो । म्युजिक क्षेत्रबाट कमाई हुन्छ भनेर होइन गीत संगीतप्रतिको मनको हुटहुटी शान्त गर्न मात्र आफु सधै सक्रिय रहेको उनको भनाई छ । मानिसहरुले हौसला दिन्छन वसन्ती अगाडी बढछिन । दर्शकहरुले मन पराईदिन्छन उनी फुरुंग हुन्छिन । उनको स्वरमा गीतहरु रेकर्ड भएका छन् र नया रेकर्ड कायम गरेका छन् । 'मोती हजार थरीका हुन्छन' भन्छिन वसन्ती । केहि समय तालिम लिएपछि उनी मोतीको गुण र वर्ग छुट्टयाउने काममा बर्षौंदेखि सक्रिय छिन । जागिरमा मात्र होइन समुदायमा पनि यिनी मोतीसंगै हुन्छिन । नेपाली गीत, संगीतका मोतीहरुसंग यिनको बर्षौंको संगत छ र आफै एउटा होनहार मोती बनेर टल्कीरहेकी छिन । टल्किने र चमक थप्ने क्रम जारी छ । जारी नै रहिरहोस यो यात्रा । वसन्ती राईलाई वसन्ती शुभकामना !      

images
प्रकाशित मिति :कार्तिक १९, २०७५ सोमवार - २१:०६:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend