२४, माघ २०७५
मुक्तक-१
तिमीले नि मेला-पातमा, पाखुरीको बल् साट्नुपर्छ
तारामण्डले झुपडीमा, हिउँद-बर्खा काट्नुपर्छ
जीवन के हो थाहा हुन्छ, त्यति उन्माद कहाँ हुन्छ ?
बुटमा हिँड्ने खुट्टा फुटी, त्यसैमा गोलेनी फाट्नुपर्छ ।
मुक्तक-२
शहर पसी साइलीहरु,गाउँबेसी नै भुल्न सक्छन्
साइला पनि विदेशमा, अर्कै रंगमा घुल्न सक्छन्
आफ्नै देशको नुन सम्झी, बा-आमाको गुन सम्झी
गाउँमै माया लाउने कि त,सारा सपना फुल्न सक्छन् ।
मुक्तक- ३
निमेक गर्यो मरीमेटी, आगो बल्दैन चुलाभित्र
राज्यको न्याय सुविधामा, समता छैन तुलाभित्र
निमुखा सधै छलमा हुने, सम्पन्न सधै बलमा हुने
समस्या कहिले हल हुँदैन, रहस्य के छ र 'ठूला'भित्र ?
मुक्तक - ४
जस्ता लगाऊ नाराहरू, निम्छरा सास्ती पाइरहे
कागजी कुरा मिलेपछि, खानेले मिलाइ खाइरहे
दोषीलाई नि दण्ड हुन्न, निर्दोषीलाई न्याय हुन्न
नीतिका कुरा चिल्लै भए, बेथिति मात्र फस्टाइरहे ।
मुक्तक -५
पसिनाले श्रमिक बरू, आनन्दमा बाँचेको छ !
रूपियाँले मालिक फेरि, मनमा तनाव साँचेको छ !!
जे जस्तो होस जिन्दगानी, आ-आफ्नै हो कर्म खानी !
सत्कर्मीको साँचो जीवन, सधै खुशीमा नाचेको छ !!
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७५ माघ २४
प्रकाशित मिति :माघ २४, २०७५ बिहिवार -
१९:०३:३० बजे