"दिदी, नमस्कार! कता गएर आउनुभएको?" सन्ध्याले सोधिन्।
कमलाले भनिन्, "हाम्रो क्षेत्रमा आज नयाँ पार्टीका सांसद आएका थिए, तिनैलाई भेटेर आएकी। अब त सास फेर्न सकिन्छ कि! लुटेराहरूले देशलाई खुब लुटेका रहेछन्, यत्रो ३५ वर्षसम्म केही गरेनन्।"
" सन्ध्या मुसुक्क मुस्कुराउँदै भनिन्, हो र दिदी "
" किन हाँसेकी, सन्ध्या के तिमीलाई लागेको छैन र अब आमूल परिवर्तन हुन्छ भनेर कमलाले प्रतिप्रश्न गरिन्।
सन्ध्याले गम्भीर हुँदै भनिन्, "हजुरले खै कस्तो परिवर्तन खोज्नुभयो, कुन्नि ! मैले त टुकीमा पढेकी, पछि बिजुली पाएकी छु; खेती गर्न आधुनिक प्रविधि पाएकी छु। हाम्रो दैलोमै बाटो पिच भएर गाडी कुदिरहेका छन्। सुरुङमार्गहरू सञ्चालनमा आउने तयारीमा छन्, छोराछोरीलाई जस्तो भन्यो त्यस्तै शिक्षा नेपालभित्रै पाएको देख्छु। सामाजिक सञ्जालले पनि निकै फड्को मारेको छ, समता र समानताको परिवेश छाएको छ। हामीजस्तै छोरीहरू सडकदेखि सदनसम्म हाक्ने भइसकेका छन्। छाउपडी, कमलरी, दाइजो र हलियाजस्ता सामाजिक कुप्रथाहरू हटेका छन्।"
उनले थपिन्, "अझ भनूँ, विकासका पूर्वाधारहरू पनि फैलिँदै छन्। पछाडि परेको हाम्रो कर्णाली पनि मुस्कुराउन थालेको छ। अस्पतालमा जटिल केसहरूमा सरकारले सेवा छुट दिएकै छ, बरु अहिले कर हो कि के जाति लाग्छ रे ! हामी निकै अहङ्कारी छौँ दिदी, छिमेकी काकीको जस्तो सजावट आफ्नी आमामा खोज्छौँ अनि उहाँको अनुहारमा कालो पोत्छौँ। हुनुपर्ने अझै छन् र हुँदै पनि छन्। हजुर-हाम्रै नयाँ सरकारले के-के गर्यो अनि बोल्दै छ! प्रश्नको उत्तर अरूलाई दोष लगाएर होइन, हामी आफैँले आफैँलाई सोध्नुपर्छ— हुँदै नभएको हो कि, वा हुनुपर्ने जति मात्र नभएको हो? यसको उत्तर आफैँभित्र पाउनुहुनेछ।"
सन्ध्याको कुरा सुनेर कमला अक्क न बक्क भइन् र भनिन्, "सन्ध्या, तिमीलाई त म बच्चा नै सम्झन्थें, तर तिमी त निकै समझदार रहिछौ !"
सन्ध्याले भनिन्, "हो नि दिदी! हामीले विद्वानहरूका विचार पढ्नुपर्छ, इतिहासका अभिलेखहरू अध्ययन गर्नुपर्छ। गल्तीलाई सुधार्नुपर्छ, पीडितले न्याय पाउनुपर्छ।"
यतिकैमा कमलाले भनिन्, ल है बहिनी, तिमीले त मलाई आफ्नै सोचप्रति लज्जित बनायौ। अब म भिडको पछि लाग्नेछैन, विचारलाई पछ्याउनेछु।"
वालिङ्ग, स्याङ्जा ।
२०८३/०२/२६