मुक्तक -१
दैवले नि यही पुर्पुरोमा केके लेखी दियो
एकै जुनीमा तीन-तीन संविधान देखियो
लेख्नेले अब्बल भन्दै वकालत गरिरहे -
धर्म-संस्कार र पूर्खाको इतिहास मेटियो ।
- भरत आचार्य
पोखरा म. न. पा. -११ काहुँ
मुक्तक -२
प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र आए पनि, देशले के पायो ?
जतिसुकै परिवर्तनका नारा लगाए पनि, देशले के पायो ?
हिजो राष्ट्र र राष्ट्रियता बचाउनको निमित्त लडेका सहिदले,
नडराई छाती फुलाएर गोली खाए पनि, देशले के पायो ?
- कविता घर्ति मगर ।
सानीभेरी न .पा . – १४, माल्नेटा,
सल्यान ।
मुक्तक -३
हिजो बोल्नै नपाएको नियति भोगेर वा पढेर अाएका हौ
सिंहासनमा बस्नेसित न्याय माग्न जरुर तिमी डराएका हौ
सत्ता, सरकार र संविधानको विरोध गरी नथाक्नेहरू सुन,
विरोध गर्ने अधिकार पनि यही संविधानबाट पाएका हौ ।
- दिपेन्द्र संग्रौला दिल-दु:खी
लालीगुराँस न.पा. -६ तेह्रथुम ।
मुक्तक -४
आएर होला तिम्रो संविधान सस्तो मिल्दै छ आज
गरिबको घरमा चुलो बले जस्तो मिल्दै छ आज
सम्मानिय नेता अनि मुसाको चाल उस्तै-उस्तै
मुसाले धान नेता ले देश कस्तो मिल्दै छ आज ।
-प्रकाश पाठक
कपिलवस्तु ।
मुक्तक - ५
हराए सब आश्वासनका, मीठा-चोपिला नारा अचेल
पहुँच भए उम्कीहाल्छन्, जघन्य दोषी सारा अचेल
न्याय निसाफ एकै छैन, निमुखालाई टेकै छैन
आफ्नै अर्थमा व्याख्या हुन्छन्, संविधानका धारा अचेल ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
[email protected]
(यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)