– सुदर्शन पौड्याल
“रगतको नाता पानीभन्दा बाक्लो हुन्छ।”
सायद परिवार र आफन्तका सम्बन्धमा हामीले सबैभन्दा धेरै सुनेको वाक्य यही हो। यससँगै “आफ्नो भनेको आफ्नै हो”, “आमाबुवाको मन दुखाउनु हुँदैन”, “दाजुभाइसँग जति झगडा गरे पनि आखिर चाहिने आफ्नै हुन्” जस्ता भनाइहरू बाल्यकालदेखि नै हाम्रो मानसपटलमा रोपिएका हुन्छन्।
चाडपर्व आयो कि यी भनाइहरू अझ बाक्लिएर आउँछन्। दशैंमा निधारभरि टीका लगाएका पारिवारिक तस्बिरहरू सामाजिक सञ्जालमा छरिन्छन्। तिहारमा दाजुभाइ र दिदीबहिनीको प्रेमका बयान लेखिन्छन्। आमाको मुख हेर्ने दिन आमाको त्यागको महिमा गाइन्छ। बुबाको मुख हेर्ने दिन बुबाको दुःख र जिम्मेवारी सम्झिइन्छन्। परिवारसँग खिचिएको एउटा सुन्दर तस्बिरमुनि लेखिन्छ— “मेरो संसार।”
हेर्दा लाग्छ, परिवारभन्दा न्यानो, सुरक्षित र पवित्र अर्को कुनै ठाउँ संसारमै छैन।
अवश्य पनि अधिकांश मानिसका लागि परिवार जीवनको पहिलो आश्रय हो। हामीले बोल्न नजान्दै हाम्रो आवाज बुझ्ने, हिँड्न नजान्दै हात समात्ने र संसारसँग परिचित गराउने मानिसहरू परिवारकै हुन्छन्। दुःख पर्दा सम्झिने, हारेर फर्किंदा ढोका खुला भेटिने र सफलता पाउँदा सबैभन्दा पहिले सुनाउन मन लाग्ने ठाउँ पनि परिवार नै हो।
त्यसैले परिवारको महत्त्वलाई अस्वीकार गर्ने प्रश्नै उठ्दैन।
तर के प्रत्येक परिवार वास्तवमै सुरक्षित हुन्छ?
के रगतको नाता हुँदैमा त्यसमा प्रेम, सम्मान र संवेदनशीलता पनि स्वतः मिसिएर आउँछ? के आफ्नै मानिसले दिएको चोटलाई चोट मान्न नमिल्ने हो ? अथवा “आफ्नै त हो नि” भनेपछि अपमान, नियन्त्रण, उपेक्षा र मानसिक पीडा सबै सामान्य भइदिन्छन्?
यहीँबाट परिवारको सुन्दर तस्बिरभित्र लुकेको अर्को पाटो देखिन थाल्छ।
आजभोलि ‘टक्सिक सम्बन्ध, ‘नार्सिसिस्टिक परिवार, ‘बाउन्ड्री, र ‘नो कन्ट्याक्ट जस्ता शब्दहरू निकै सुनिन्छन्। कसैले आमाबुवासँग सीमित कुरा गर्छ। कसैले दाजुभाइबाट दूरी बनाउँछ। कोही पारिवारिक जमघटमा जान छाड्छ। कोही कुनै एक आफन्तको फोनसमेत उठाउँदैन।
यस्ता कुरा सुन्नासाथ हाम्रो समाजले प्रायः फैसला सुनाइहाल्छ—
“आजकालका छोराछोरीमा संस्कार नै छैन।”
“विदेश गएपछि आफ्ना मान्छे बिर्सियो।”
“आमाबुवासँग पनि बोल्न छाड्ने कस्तो सन्तान?”
“दाजुभाइमा अलिअलि झगडा त भइहाल्छ नि!”
अवश्य पनि सामान्य मतभेद, क्षणिक रिस वा एउटा गलतफहमीका कारण सम्बन्ध तोडिहाल्नु उचित हुँदैन। नजिकका सम्बन्धमा असहमति हुन्छन्। कहिलेकाहीँ आवेगमा गलत शब्द निस्कन्छन्। अपेक्षा पूरा नहुँदा मन दुख्छ, बुझाइ नमिल्न सक्छ। मानिस पूर्ण हुँदैनन्, त्यसैले मानिसले बनाएका सम्बन्ध पनि पूर्ण हुँदैनन्।
तर समस्या गल्ती हुनु मात्र होइन; गल्ती भएपछि त्यसलाई कसरी स्वीकारिन्छ भन्ने हो।
कसैले आवेगमा कठोर शब्द बोल्यो, पछि आफ्नो गल्ती बुझेर माफी माग्यो र त्यसलाई नदोहोर्याउने प्रयास गर्यो भने सम्बन्ध फेरि जोडिन सक्छ। तर बारम्बार चोट पुर्याउने, आफ्नो व्यवहारको जिम्मेवारी नलिने, उल्टै पीडित व्यक्तिलाई दोष दिने र फेरि त्यही व्यवहार दोहोर्याउने हो भने त्यसलाई सामान्य पारिवारिक झगडा मात्र कसरी भन्ने?
“मैले त तिम्रै भलाइका लागि भनेको।”
“तिमी नै बढी संवेदनशील भयौ।”
“त्यति सानो कुरा पनि मनमा राख्ने?”
“हामीले तिमीलाई हुर्काएको बिर्सियौ?”
“म तिम्रो आमा हुँ, मैले भनेको मान्नुपर्छ।”
यस्ता वाक्यहरू हाम्रा घरपरिवारमा अपरिचित छैनन्। मायाका नाममा नियन्त्रण गरिन्छ। संस्कारका नाममा प्रश्न गर्न रोक लगाइन्छ। सम्मानका नाममा एकतर्फी आज्ञापालन खोजिन्छ। परिवारको इज्जतका नाममा व्यक्तिको इच्छा, भावना र आत्मसम्मान दबाइन्छ।
अझ विडम्बना त के भने सम्बन्ध जोगाउने सम्पूर्ण जिम्मेवारी पनि प्रायः चोट पाउने व्यक्तिकै काँधमा राखिन्छ। उसैले फोन गर्नुपर्ने, उसैले माफी माग्नुपर्ने, उसैले सम्झौता गर्नुपर्ने र उसैले “ठूलो मान्छेको कुरा हो” भनेर चुप लाग्नुपर्ने।
घरमा शान्ति कायम राख्ने नाममा प्रत्येक पटक उसैले आफ्नो आवाज दबाउनुपर्ने, आफ्नो सत्य लुकाउनुपर्ने र आफ्नो पीडालाई सानो ठान्नुपर्ने हुन्छ।
प्रश्न उठ्छ— यो सम्बन्ध जोगाउनु हो कि सम्बन्धका नाममा आफैँलाई परित्याग गर्नु?
विशेष गरी हाम्रो जस्तो पारिवारिक र सामाजिक संरचना भएको ठाउँमा कुनै एक व्यक्तिसँग दूरी बनाउनु सजिलो हुँदैन। एकजना काका, मामा, दाजु, दिदी वा आमाबुवासँग दूरी बनाउँदा सम्बन्ध त्यहीँ टुङ्गिँदैन। त्यससँगै दशैंको टीका, तिहारको भेटघाट, बिहे, व्रतबन्ध, भोजभतेर र अरू थुप्रै आफन्त जोडिएर आउँछन्।
आफूले किन दूरी बनाएको हो भन्ने कुरा कसैले राम्ररी नसुन्दै चारैतिरबाट उपदेश आउन थाल्छन्— “जे भए पनि मिल्नुपर्छ”, “घरको कुरा बाहिर लैजानु हुँदैन”, “मान्छेले के भन्लान्?”, “आखिर उहाँ त तिम्रो बुबा हो”, “आमा जस्ती भए पनि आमा नै हो।”
यस्ता कुरा भन्नेहरू धेरै भेटिन्छन्, तर वर्षौंदेखि चोट सहेर बसेको व्यक्तिलाई शान्त भएर “तिमीले वास्तवमा के भोग्यौ?” भनेर सोध्ने मानिस भने कमै भेटिन्छन्।
सम्बन्ध बाहिरबाट हेर्दा र त्यसभित्र बसेर भोग्दा एउटै देखिँदैन।
चाडपर्वमा सँगै खिचिएको एउटा मुस्कुराउँदो तस्बिरले वर्षभरि बन्द ढोकाभित्र भएका अपमानहरू देखाउँदैन। परिवारको सामूहिक फोटोले कसले कति डर लुकाएर मुस्कुराएको थियो भन्ने बताउँदैन। समाजले “कस्तो मिलेको परिवार” भनेको घरभित्र कसैले प्रत्येक शब्द बोल्नुअघि दसपटक सोच्नुपरेको हुन सक्छ।
त्यसैले केही मानिस सम्बन्धमा सीमा बनाउँछन्— फोनमा मात्र बोल्छन्, केही विषयमा कुरा नगर्ने निर्णय गर्छन्, भेटघाटको समय घटाउँछन् वा कुनै निश्चित व्यक्तिसँग एक्लै नबस्ने व्यवस्था मिलाउँछन्। अनि कोही धेरै प्रयासपछि पूर्ण रूपमा सम्पर्कविहीन हुने निर्णयमा पुग्छन्।
बाहिरबाट हेर्दा यस्तो निर्णय अचानक र कठोर देखिन सक्छ, तर निर्णय गर्ने व्यक्तिका लागि त्यो अचानक आएको हुँदैन। त्यसअघि धेरै सम्झाउने प्रयास गरिएको हुन सक्छ, धेरैपटक माफी दिइएको हुन सक्छ, सम्बन्ध सुध्रिन्छ कि भनेर धेरै अवसर दिइएको हुन सक्छ र धेरै रात रोएर बिताइएका हुन सक्छन्।
अन्ततः त्यो निर्णय क्रोधभन्दा बढी थकानको परिणाम हुन्छ।
यहाँ कसैलाई दण्ड दिन बोलचाल बन्द गर्नु र आफ्नो सुरक्षाका लागि दूरी बनाउनुबीचको फरक बुझ्न आवश्यक छ। कसैलाई झुकाउन, तर्साउन वा आफूले भनेको मान्न बाध्य पार्न मौन बस्नु नियन्त्रणको एउटा उपाय हुन सक्छ। तर निरन्तर चोट दिइरहेको सम्बन्धबाट आफ्नो मानसिक शान्ति र आत्मसम्मान जोगाउन दूरी बनाउनु अर्कै कुरा हो। एउटाको उद्देश्य अर्को व्यक्तिलाई पीडा दिनु हो भने अर्कोको उद्देश्य आफूलाई थप पीडाबाट बचाउनु हो।
तर दूरी बनाउँदैमा सबै समस्या सकिँदैनन्। बरु त्यसपछि अपराधबोधले पछ्याउन सक्छ—
“मैले ठीक गरेँ कि गलत?”
“उहाँ बिरामी हुनुभयो भने?”
“पछि मलाई पछुतो लाग्ला कि?”
“आफन्तले मलाई निर्दयी भन्लान् कि?”
“असल सन्तानले यस्तो गर्न मिल्छ?”
यस्ता प्रश्नहरू मनभित्र घुमिरहन्छन्। आफूले वर्षौंसम्म भोगेको चोटभन्दा सम्बन्धबाट टाढिएको अपराधबोध ठूलो लाग्न थाल्छ। किनकि हामीलाई बाल्यकालदेखि परिवार जोगाउनु धर्म हो भनेर सिकाइएको हुन्छ, तर आफैँलाई जोगाउनु पनि धर्म हुन सक्छ भनेर खासै सिकाइएको हुँदैन।
क्षमाका बारेमा पनि हाम्रो समाजको बुझाइ अलि अनौठो छ। कसैलाई माफ गर्नु भनेको फेरि त्यही सम्बन्धमा पहिलेकै अवस्थामा फर्किनु हो भन्ने ठानिन्छ। “माफ गरिदेऊ”, “पुराना कुरा बिर्सिदेऊ”, “मनमा कुरा राख्नु हुँदैन” भन्न सजिलो छ। तर के माफ गर्नु भनेको पुनः त्यही व्यवहार सहन तयार हुनु हो?
कसैप्रतिको क्रोध र घृणाबाट आफूलाई मुक्त गर्नु एउटा कुरा हो, उसलाई फेरि आफ्नो जीवनमा पहिलेकै पहुँच दिनु अर्को कुरा। कसैको व्यवहारका पछाडि उसकै घाउ, कमजोरी र विगत थिए भनेर बुझ्न सकिएला; तर बुझ्नु भनेको उसको व्यवहार स्वीकार गर्नु होइन। सहानुभूति राख्नु भनेको उसलाई फेरि आफूलाई चोट पुर्याउने अनुमति दिनु पनि होइन।
अर्कोतर्फ, आजभोलि मन नपरेका प्रत्येक व्यक्तिलाई ‘टक्सिक’ र आफूसँग असहमत हुने सबैलाई ‘नार्सिसिस्ट’ भन्ने चलन पनि बढेको छ। यो पनि उचित होइन।
आफूलाई असजिलो लाग्ने सत्य सुनाउने मानिस सधैं खराब हुँदैन। हामीसँग असहमत हुने व्यक्ति शत्रु हुँदैन। हामीलाई सीमा देखाउने मानिसले हामीलाई घृणा गरेको पनि हुँदैन। सम्बन्ध भनेको हाम्रो प्रत्येक इच्छा पूरा गरिदिने व्यवस्था होइन।
त्यसैले सम्बन्धबाट दूरी बनाउने निर्णय रिस, अहंकार वा सामाजिक सञ्जालमा सिकेको एउटा शब्दका भरमा गरिनु हुँदैन।
आफूले पनि सम्बन्ध सुधार्न इमानदार प्रयास गरेको छु कि छैन?
आफ्नो भूमिकाको जिम्मेवारी लिएको छु कि छैन?
अगाडिको मानिसले गल्ती स्वीकार्ने, कुरा सुन्ने र व्यवहार बदल्ने कुनै इच्छा देखाएको छ कि छैन?
सम्बन्धमा सामान्य असहमति मात्र छ कि निरन्तर अपमान, नियन्त्रण र डर छ?
दूरी बनाउनुको उद्देश्य बदला लिनु हो कि आफूलाई जोगाउनु?
यी प्रश्नहरूको उत्तर खोज्नु जरुरी छ।
सबै सम्बन्ध जसरी पनि बचाउनैपर्छ भन्ने छैन, तर हरेक असहमतिमा सम्बन्ध तोडिहाल्नुपर्छ भन्ने पनि होइन। कतिपय सम्बन्ध खुला संवादले सुध्रन्छन्, कतिपयलाई स्पष्ट सीमाले बचाउँछ, कतिपय सम्बन्ध सीमित सम्पर्कमा मात्र स्वस्थ रहन्छन् भने केही सम्बन्ध यस्ता पनि हुन सक्छन्, जहाँ दूरी नै सबैभन्दा सुरक्षित विकल्प हुन्छ।
रगतको नाता महत्त्वपूर्ण अवश्य छ, तर त्यसले कसैलाई अर्को व्यक्तिको आत्मसम्मानमाथि स्थायी अधिकार दिँदैन।
जन्म दिएको, हुर्काएको वा कुनै समय सहयोग गरेको आधारमा जीवनभर अपमान सहनुपर्ने ऋण लाग्दैन। कृतज्ञ हुनु र आफ्नो अस्तित्व नै समर्पण गर्नु एउटै कुरा होइन। सम्मान गर्नु र अन्याय सहनु पनि एउटै कुरा होइन।
परिवार जन्मले प्राप्त भएका मानिसहरूको समूह मात्र हो कि प्रेम, विश्वास, सुरक्षा र पारस्परिक सम्मानले बनेको सम्बन्ध पनि हो?
जीवनका कतिपय मोडमा कुनै साथी, जीवनसाथी, सहकर्मी वा शुभेच्छुकले जन्मको परिवारले दिन नसकेको अपनत्व दिन सक्छ। हामीलाई डराउन होइन, सुरक्षित महसुस गराउन सक्छ। हाम्रो कमजोरीलाई हतियार नबनाई संरक्षण गर्न सक्छ। हामीलाई नियन्त्रण नगरी हामी जस्तो छौं, त्यस्तै स्वीकार्न सक्छ।
अन्ततः कुनै सम्बन्धमा बसिरहने वा त्यसबाट टाढिने निर्णय बाहिर बसेर समाजले सुनाउने फैसला होइन। त्यो सम्बन्धभित्र वर्षौंदेखि बाँचेको व्यक्तिले आफ्नो अनुभव, आत्मसम्मान, सुरक्षा र मानसिक अवस्थालाई ध्यानमा राखेर गर्ने निर्णय हो।
परिवार जोगाउनु राम्रो कुरा हो, सम्बन्ध सुधार्न प्रयत्न गर्नु अझ राम्रो कुरा हो। संवाद, क्षमा र समझदारीको ढोका सकेसम्म खुला राख्नुपर्छ।
तर परिवार जोगाउने नाममा परिवारकै कुनै एउटा सदस्यलाई निरन्तर भत्किन बाध्य पार्नु कति जायज छ?
सम्बन्ध बचाउन दुवैतर्फबाट प्रयास चाहिन्छ। एउटाले निरन्तर चोट पुर्याउने र अर्कोले निरन्तर सहिरहने व्यवस्थालाई परिवार त भन्न सकिएला, स्वस्थ परिवार भन्न सकिँदैन।
त्यसैले प्रश्न परिवारलाई प्रेम गर्ने कि नगर्ने भन्ने होइन। प्रश्न यति मात्र हो— परिवारलाई प्रेम गर्ने नाममा मानिसले आफ्नो आवाज, आत्मसम्मान र अस्तित्व नै गुमाउनुपर्ने हो र?
सायद होइन।
(लेखक हाल संयुक्त अधिराज्यमा बस्नुहुन्छ।)