Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

अक्खालिपिकेन्द्रित मगर भाषाको पुस्तक 'आखरहील्मा' लोकार्पण तथा विमर्श सम्पन्न

अक्खालिपिकेन्द्रित मगर भाषाको पुस्तक 'आखरहील्मा' लोकार्पण तथा विमर्श सम्पन्न

नेप्लिज डायस्पोरा

१७, श्रावण २०८३
images
अक्खालिपिकेन्द्रित मगर भाषाको पुस्तक 'आखरहील्मा' लोकार्पण तथा विमर्श सम्पन्न

  

पाल्पा, (१६ साउन) — युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर (ढूट) भाषाको अक्खालिपिकेन्द्रित पुस्तक ‘आखरहील्मा (अक्षराङ्क)’ को लोकार्पण तथा विमर्श कार्यक्रम स्याङ्जा वालिङ्गमा सम्पन्न भएको छ ।

नेपाल मगर लेखक सङ्घ, स्याङ्जाको आयोजनामा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा शनिवार आयोजित एक विशेष समारोहका बिच उक्त पुस्तकको लोकार्पण गरिएको हो । मगर (ढूट) भाषा र साहित्यको इतिहासमा यो पुस्तकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

नेपाल मगर लेखक सङ्घ स्याङ्जाका अध्यक्ष जी.बी. रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष हर्क आले मगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रमका वक्ताहरू—नेपाली लेखक सङ्घका केन्द्रीय सचिव एवं पुस्तकका नेपाली भाषा सम्पादक मिलन समीर, भूमिका लेखक एवं नेपाल मगर लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रुद्र श्रीस मगर, प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल र नेपाल मगर सङ्घकी केन्द्रीय सदस्य गीता रखाली मगरले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो । लोकार्पणपश्चात् वक्ताहरूले कृति तथा लेखकद्वय राना र थापाको लेखन योगदानबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल मगर सङ्घ स्याङ्जाका सचिव धनबहादुर थापा, मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष खड्क पामी आले, नेपाल मगर सङ्घ गण्डकी प्रदेश अध्यक्ष दानबहादुर थापा र नेपाल मगर सङ्घकी केन्द्रीय सदस्य लक्ष्मी थापा मगर लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

लेखक परिचय र कृतिको पृष्ठभूमि:

जी.बी. राना: वि.सं. २०४० फागुन १२ गते गल्याङ नगरपालिका-१, याँकीह्या, सारङ्ज्ञा (स्याङ्जा) मा जन्मिनुभएका रानाले जनसङ्ख्या विषयमा स्नातकोत्तर गर्नुभएको छ। २०६२ देखि शिक्षण पेसामा संलग्न राना हाल दिसिङकोट आधारभूत विद्यालय (चापाकोट-३, कमिरे) मा प्रधानाध्यापक हुनुहुन्छ। उहाँ गल्याङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा नेपाली लेखक सङ्घ स्याङ्जाका सदस्यसमेत हुनुहुन्छ ।

सावित्रा थापा: वि.सं. २०४४ बैशाख १० गते चापाकोट नगरपालिका-५, साहान्दी (स्याङ्जा) मा जन्मिनुभएकी थापाले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको छ। २०६५ देखि शिक्षणमा क्रियाशील उहाँ हाल महेन्द्र माध्यमिक विद्यालय (चापाकोट-३, दिसिङ्कोट) मा अङ्ग्रेजी शिक्षक हुनुहुन्छ। उहाँ मगर लेखक सङ्घ स्याङ्जाकी सहसचिवसमेत हुनुहुन्छ।

नेपाल मगर लेखक सङ्घ, स्याङ्जाले प्रकाशन गरेको यो पुस्तक दुवै लेखकको पहिलो कृति हो । मगर (ढूट) अक्खालिपि र भाषा शिक्षणलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले तयार पारिएको यस पुस्तकमा सिकारुको उमेर तथा सिकाइ स्तरअनुसारका उपयोगी सामग्रीहरू समावेश गरिएका छन् ।

समारोहको सहजीकरण लेखक एवं सङ्घकी सहसचिव सावित्रा थापाले गर्नुभएको थियो । सो अवसरमा आयोजकका तर्फबाट प्रमुख अतिथि तथा वक्ताहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण १७, २०८३ आइतवार - १२:१७:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend