Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

भोक (लघुकथा) - नारायण पाैडेल

भोक (लघुकथा) - नारायण पाैडेल

सतीश चापागाईं

१२, आश्विन २०७६
images
  हामी दुई जना माथिल्लो मुस्ताङ्गकाे छोसेर हिँडेका थियाैं । दिनभरि पैदल हिँडेपछि कागबेनी पुग्यौं र त्यहीँ बास बस्नुपर्ने भयो । हिउँ पर्ने माैसम भएकाेले हिँड्दा निस्केकाे पसिना सेलाएर त्यसैले टिट्याउन थालेकाे थियाे । हामी घर बाहिर उभियाै । एउटी महिला देखा परिन् । "भुमु ? बास पाइन्छ ?" मैले थकित स्वरमा साेधें । "बास त पाउँछ, चामल छैन । राेङ्वाले ढिंडाे खान्छ कि खाँदैन?" उनले भनिन् । मैले "खान्छ" भनें । हामीले झाेला बिसाउँदा एकजना मान्छे त्यही घरबाट निस्क्याे र घाेडा चढेर बाटाे लाग्यो । घर चटक्कै सिंगारिएकाे थियाे । उनी उभिएर पकाउने चुलोमा ढिंडाे पकाउने सुरसार गर्न थालिन् । हामीले कठ्याङ्ग्रिएकाे खुट्टा अागाेमा सेकाउन थाल्याैं । चुलाेमाथि घिण्टी र सुकुटी प्रशस्त झुण्ड्याइएकाे थियाे । "याककाे सुकुटीकाे झाेल खान्छ कि भेडाकाे ?" भुमुले साेधिन्। "भेडाको सुकुटी" हामीले भन्यौं । ढिंडाे पाक्याे । हामीले ढिंडाे खान थाल्यौं । राताे फुर्के डाेरीले कपाल बाँधेको बख्खुवाला एउटा मान्छे एक हुल भेडा सहित अाइपुग्याे । भेडा खाेरमा थुन्याे र उसले पनि ढिंडाे खायाे । भुमुकाे भदालाेमा अझै दुई जनालाई पुग्ने ढिंडाे थियाे । एक भाग उनले खाइन् र एकभाग त्यही राखिन् । "याे कसलाई राखेकाे ?" "ल्हाेप्साङ। मेराे माइलाेलाई " "मतलब ?" "यिनीहरू तीन दाजुभाइ हाे । जेठाे नुर्बु एक महिना बसेर अघि घाेडामा खर्कतिर गयाे । माइलाे अब अाउँछ र एक महिना बसेर जान्छ । कान्छाे खर्कमै छ त्यसपछि ऊ अाउँछ ।" " दुई भाई खर्कमा एकभाई घर ! तीनभाईकाे तपाई एउटा !?" मैले साेधें । "हाे !" उनले भनिन् । "अनि छाेराछाेरीहरूले अाफ्नाे बुबा कुन हाे भनेर कसरी चिन्छन् त?" "मैले चिनाइदिन्छ !" उनले सहजै जवाफ दिइन् । हामी एउटा काेठामा सुत्याैं । राती लाेप्साङ्ग अायाे । भुमुले ढाेका खाेलिन ।अँध्यारोमा एकजना मान्छे लुसुक्क भाग्याे । त्यसपछि उनीहरूले गज्याङगुजुङ कुरा गरेकाे सुनियाे । भाेलिपल्ट थाहा भयाे । लाेप्साङ अाएकाे रहेछ ।उसलाई राखेकाे भदालाेकाे ढिंडाे पनि चाेरी भएछ र लाेप्साङ भाेकै सुतेछ । रातभरि ठूलो हिमपात भयाे । बिहान हामीले बल्लबल्ल ढाेका खाेल्न सक्यौं । बख्खुवाला पनि थिएन र खाेरमा भेडा पनि थिएनन् । पछि थाहा भयाे बख्खुवाला केही पर हिउँले कठ्याङ्ग्रिएर मरेकाे अवस्थामा फेला पर्याे । प्रहरी टाेली अायाे र लाश प्रकृति मुचुल्का उठायाे । भुमुकाे भदालाेबाट हराएकाे ढिंडाेकाे डल्लाे प्रहरीले बख्खुवालाकाे बख्खुभित्र फेला पार्याे। मृतक लाेप्साङ्गकाे भाई तेन्जिङ थियाे । २०७६ असौज ०१ चितवन। ( नारायण पाैडेलको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०६:०५:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend