यो बर्षको एशियन कल्चर सेलिब्रेशन २०१९ मा नेपालका ख्याती प्राप्त बरिष्ठ लोक गायक प्रेमराजा महतले आफ्नो प्रस्तुती दिएर नेपालको नाम उच्च राखेका छन् । कार्यक्रममा गायक महतले आफ्नो बहुचर्चित र लोकप्रिय गीत 'पानको पात' गाएका थिए ।
बिदेशका प्राय हरेक नेपाली सांगीतिक कार्यक्रमहरुमा बज्ने यो गीत एशियन कल्चर सेलिब्रेशनमा ओरिजिनल गायककै मुखबाट घन्किदा कार्यक्रमको रौनकता छुट्टै बढेको थियो।
अमेरिकाको भर्जिनिया राज्यको युनिभर्सिटी अफ मेरी वाशिंगटनमा भएको एशियन कल्चर सेलिब्रेशनमा बिभिन्न देशका कलाकारहरुले आफ्ना बिशेष प्रस्तुती देखाएका थिए ।
महतले पानको पात गीत प्रस्तुत गर्दैगर्दा उनलाई नेपाली वाद्यबादक अमृत रामदामसंगै अमेरिकन वाद्यबादकहरुले साथ दिएका थिए । अमेरिकी वाद्यबादकहरुले पानको पातमा अमेरिकन बाजा बजाउदै गर्दा माहोल अति नै सुन्दर देखिएको थियो ।
कार्यक्रममा आफुले नेपाली गीत संगीतको प्रबर्दन गर्नुका साथै नेपाल भ्रमण बर्ष २०२०को बारेमा प्रचार प्रसार पनि गरेको बरिष्ठ लोक गायक प्रेमराजा महत ले बताए ।