Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मौलिक सिर्जना (लघुकथा) - रमेशचन्द्र घिमिरे

मौलिक सिर्जना (लघुकथा) - रमेशचन्द्र घिमिरे

नेप्लिज डायस्पोरा

२७, आषाढ २०७७
images
मौलिक सिर्जना (लघुकथा) - रमेशचन्द्र घिमिरे

 

धेरै दिनको मेहनतपश्चात् उसले एउटा रचना तयार पार्‍यो । लेख्नुअघि मनले खाएका गुरूलाई सुझावका लागि बुझायो । गुरूले 'सबै ठीक छ, तर ...' भन्दै नयाँ नियम पढेर वर्णविन्यास सच्याउनुपर्ने सल्लाहसहित रातो मसीले सङ्केत गरिदिए ।
उसले वर्णविन्यासका आधुनिक नियम पढेर सच्यायो ।

'तै एकचोटी विज्ञलाई त देखाऊँ !' विज्ञसँग पनि सुझाव माग्यो । विज्ञले नाक खुम्च्याउँदै `हल्का भएको´ आरोप तेर्स्याए ।
उसले गह्रुँङ्गो बनाउन खोज्यो ।

`फिक्सन´ नै नभएपछि कसरी पढ्न मजा हुन्छ हो तपाईंको रचनामा ?´ अर्का विज्ञले खिस्याउँदै आफ्नो विद्वता ओकले ।
उसले जबर्जस्ती कथा कोचार्‍यो ।

`केटाकेटी पाराले लेख्नुहुँदो रहेछ ।´ एकथरिले उल्लीबिल्ली बनाए ।
उसले ठूलाबडाले रुचाउने खालको परिपक्व बनाउन खोज्यो ।

`कसैले `मूर्त भयो´ भनेर खिस्याए । `यसरी सजिलै बुझिने पनि साहित्य हुन्छ ?´ भनेर होच्याए ।
उसले सकेसम्म नबुझिने बनाउनु पर्ने रहेछ भन्ने सोचेर त्यसै गर्‍यो ।

`शब्दचयन फितलो भयो ।´ अर्का विज्ञले निधारै मुजा पर्ने गरेर आँखा तर्दै पातो हुर्‍याइदिए । फेरि उसले शब्दकोशको सहायताले जटिल तत्सम शब्द राखेर मिलायो ।

`व्याकरणिक त्रुटी भयो ।´ `भाषिकाको प्रयोग गरेर तपाईंले मात्रै बुझ्ने हो र ?´ आफूलाई भाषाविज्ञानका ज्ञाता ठान्नेहरूले भाषिक दोष अौँल्याउँदै थर्काए ।
उसले मानक भाषालाई नै जोड दिएर सोही बमोजिम लेख्यो ।

कसैले उसको रचनामा `जातीय आक्षेप देखिएको´, `लैङ्गिक पक्षपातको गन्ध आएको´, `अपाङ्ग मैत्री हुन नसकेको´ जस्ता कमजोरी देखाइदिए । कतिले `लोकतन्त्रको मर्मअनुरूप नभएको´ भन्दै कानुनी कुरा गरे ।
उसले `हस्´ भन्दै सकेसम्म लोकतान्त्रिक र कानुनसम्मत बनाउने उपाय खोज्यो ।

तर कसैले पनि ठीकै छ, राम्रै लेख्यौ भनेर हौसला दिनु आफ्नो धर्म ठानेनन् ।

`सबैले भनेको मान्दै जाने हो भने मैले त नलेखे पनि हुने रहेछ ।´ भनेर ऊ एकैछिन त खङ्ग्र्याङ-खुङ्ग्रुङ्गै भयो अनि काँटछाँट गरिसकेपछि तयार भएको आफ्नो रचना पुनः पढ्यो । उसलाई यो रचना आफ्नो हो जस्तै लागेन । किन-किन उसले यो रचनामा कत्ति पनि मिठास भेटेन । नयाँ रचना उसलाई गाईजात्रे लाग्यो, खिचडी जस्तो लाग्यो । सामान्य पाठकले कस्तो प्रतिक्रिया दिँदा रहेछन् भन्ने सोचेर उसले आफूले शुरूमा जे लेखेको थियो त्यही रचना नै जस्ताको तस्तै पत्रिकामा छाप्न पठायो ।

- भोर्लेटार, लमजुङ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - २१:०२:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend