मुक्तक - १
अघि हैन पछि सर्दै देशको सीमा नाप्नेहरु छन्
देशको नाममा आफ्नै लागि नाेटका बिटा छाप्नेहरु छन्
कलियुगका कालिदासकाे केही कमी छैन यहाँ
आफ्नै घर जलाएर हाँस्दै आगाे ताप्नेहरु छन् ।
मुक्तक - २
चस्स चस्स भयाे मुटु जिउँदो रैछु थाहा भयाे
के दुख्थ्याे र फाटेकाे मन ! सिउँदाे रैछु थाहा भयाे
भराेसा र विश्वास टुट्दा ओभानाे नै रहे आँखा
हैन रैछ आँसु सुक्या ! पिउँदाे रैछु थाहा भयाे ।
मुक्तक - ३
जिन्दगीको यात्राभरी सकिएन लक्ष्य भेट्न
कसाे गरी सकिएला गन्तव्यको शिखर टेक्न
कति घुम्ती कति माेड जिन्दगीको बाटोभरी
एउटा खाेला तरी सक्याे अर्को आउँछ बाटो छेक्न ।
मुक्तक - ४
मनभित्र बल्ने आगाे मनभित्रै लुकाेस् अब
झार्दिन म आँसु पनि आँखाभित्रै सुकाेस् अब
भन्दिन म दुख्यो भनी छाम्दिन म छाती पनि
चर्किएकै मुटु त हाे जति दुख्छ दुखाेस् अब ।
मुक्तक - ५
कति पटक लडेर पनि म अझै खडा छु
हेर जिन्दगी तँभन्दा म कति कडा छु
जिन्दगीले सिकाउँछ पढाउँछ भन्छन्
तैंले मलाई हैन मैले तलाई पढा´ छु ।
- बालकाेट, भक्तपुर हाल : अमेरिका ।