Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

उपहार (लघुकथा) -सुदर्शन कंडेल

उपहार (लघुकथा) -सुदर्शन कंडेल

सतीश चापागाईं

२०, श्रावण २०७७
images
उपहार (लघुकथा) -सुदर्शन कंडेल

बिहे गरेको धेरै बर्ष पछिको खुशी भएर होला, कृषवले धेरै नै लाडप्यार पाउँछ कृष्ण र शर्मिलाबाट । के भनेर, के गरेर कृषव खुशी र मख्ख हुन्छ आफ्नो बलबुताले भ्याएसम्म पुर्‍याएका छन उनीहरूले ।


छोराको हाँसोको लागि हाँसिदिने, रोइदिने, घोडा बन्ने, फाइट खेल्ने सबै काम हाँसीखुशीले गर्छन् । कृषवको आगमनभन्दा अघि उदास र शून्य प्राय: लाग्ने कृष्णको घरमा ऊ आएदेखि भने बेग्लै रौनक छाएको छ ।

***
आज कृषवको छैठौं जन्मदिन ! उपहारले प्रफुल्लित कृषवले अझै अर्को उपहार माग्यो, ' बहिनी' । उसको उपहार मागले रमाइलो माहौलमा फेरि धब्बा लाग्यो ।

***

छिटै आफूले चाहेको उपहार पाउने आशाले पुल्कित हुँदै कृषव निदायो ।
कृष्ण र शर्मिला दुबै निदाउन सकेका छैनन् । दुबै एकअर्काको अनुहार हेरेर पिलिपिली रुदैछन् ।
"सुन्न नचाहेको कुरा सुनिरहन पर्दा नमज्जा त लाग्छ नै, तर मन दह्रो बनाउनुपर्छ, रुनुहुँदैन । सुत अब ।" आफ्नो आँसु लुकाउँदै कृष्णले भन्यो ।

शर्मिलाले लामो सास तानी, बत्ती निभाई अनि कुनामा सुतेको छोराको गालामा म्वाई खाँदै भनी " तिमअंले मागेको उपहार कहिल्यै दिन सक्दैनौ बाबू, अनि हाम्रो लामो प्रयास असफल भएपछि नै तिमीलाई एडप्ट गरेको कुरा तिमीले कहिल्यै बुझ्ने छैनौ, बुझाउँदैनौँ ।"

- भरतपुर-१४, चितवन ।

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - ०८:०६:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend