के लड्दथे,कहाँ सक्थे यिनले जित्न युद्धमा?
लडेको एउटै व्यक्ति देखिन्थ्यो युद्धभूमिमा
त्यसैको हात वा देन देखेको छु म जीतमा
भन्नेले जे भनून्, साँचो मात्रै ठहर्छ अन्त्यमा
धाक लाउन खोज्नेले लाऊन् लाउन पाउँछन्
आफ्नै बखान आफैले गरी जो जो रमाउँछन्
सारा सत्य सधै आफै खुल्न आखिर आउँछन्
बुझ्नेले यो बुझे बल्ल बोल्ने आधार पाउँछन्
लड्ने, लडाउने जित्ने त्यही रहेछ आखिर
अरू निमित्त मात्रै हुन् धाक लाउनका भर
जे जे भयो सबै देखें आफ्नै नजरले सबै
बुझें यथार्थमा, देखें योद्धा रहेछ एउटै ।
जयद्रथ,सुशर्माको, शल्यको मृत्युमा उही,
भीष्म,आचार्य,राधेय सबैको मृत्युमा उही
यी सबै पछि लागेका देखिन्थे रमिते भई
के मार्थे यिनले सैन्य, सेनापति कतै कहीं
महाकाल बने जस्तो योद्धा यौटै थियो उही
देखिन्थ्यो रण गर्नेका सामुन्नेमा सधै त्यही
कहीं कतै अरू कोही केही देखिन्नथ्यो अघि
पछाडि मात्र बस्नेका गर्नु खै के कुरा कति !
देखिन्थ्यो एउटै व्यक्ति मैदानमा सधै सधै
उसैका साथमा घुम्थ्यो काल जिभ्रो नचाउँदै
मर्दा अगाडिको व्यक्ति,हाँस्थ्यो शिर घुमाउँदै
अरू यी ब्यर्थमै हिड्छन् जितेको धाक लाउँदै?
धाक लाउनु अर्कै हो सक्छ लाउन जो पनि
काम गर्नु त अर्कै हो गर्न सक्छ र जो पनि ?
कुरा यत्ति त हो कृष्ण ! के भनूँ र म तैपनि
भन्छु- ‘यो युद्धका जेता हुँदै हैनन् यिनी’ भनी ।