उनीसँगको परिचयपछि क्यालेण्डरका तिन वटा पानाहरू पल्टिसकेका थिए । हाजिर गर्दा भेट भयो भने भइहाल्यो नत्र स्टाफ मिटिङमा मात्र देखाभेट हुन्थ्यो । मिटिङ सुरु हुन बाँकी नै थियो । उनी आएर मेरो छेवैको कुर्सीमा बसिन् । अत्तरको गुलाबी वासनाले मेरो फोक्सोलाई समेत तरंगित तुल्याइदियो । तिनले कुर्सीको वायाँ हातमाथि आफ्नो हात राखिन् जहाँ पहिल्यैदेखि मेरो दायाँ हात विश्राम अवस्थामा थियो । आकस्मिक स्पर्श थियो तथापि त्यसले मेरो देह र चित्तलाई विस्थापित गरिदियो । दुवैका हात एकसाथ हटे । दुवैतिरबाट आवाज निस्क्यो, ‘सरी’ ।
नजिकैका कुर्सीहरू भरिन बाँकी नै थिए । कुरा झिकेँ, “म्याडमको त दर्शनै पाइँदैन त ? काजसाजमा हो कि ? कि फूली चढाउने तयारीमा हो ?”
उनले गाजलमय आफ्ना माधवी आँखाको उद्दीप्त रोशनी फाल्दै प्रत्युत्तर गरिन्, “हजुरलाई कसले भनिदेओस् । दर्शनाभिलाषीहरू धेरै भएर हुन् कि ? कि विदेशतिर प्रेजेन्टेसन थियो ?” जवाफमा साहित्यिकता, नरम प्रहार र वक्रोक्ति थियो । अनि सोधिन्, “साँच्ची के फूली चढाउने भनेको हजुरले ? बुझिनँ त ।"
"बढुवा सढुवाको तयारीमा हो कि भनेको ।" मेरो उत्तर सुनेर तिनले भनिन्, “कहाँबाट आउँछ सरलाई यस्तो भाषा ?” भनेँ, “वातावरणमा यस्तो अत्तरै अत्तर छ ।” तिनले सुस्तरी सोधिन्, “मिठो लागेन ?”
“बसाइ कता छ ?” मैले सोधेँ । सिर्जनानगर भनेर तिनले मेरो अनुहारतिर हेरिन् । मैले उनको माधवी आँखा, तिमिराछन्न गाजल, रंगिन अधर समेतको तीब्रतम एक्सरे लिएँ । तिनले असजिलो महसुस गरेको देखेर सोधेँ, “घर कि डेरा ?” “घरै हो अरूले बनाइदिएको ।” तिनी हाँसिन् । “सरको त आफ्नै घर हो नि होइन ?” मैले भनेँ, “के आफ्नो भन्नु ? बुढीको नाममा छ ।” “बुढी त आफ्नै नाममा होला नि ?” ऊ खितिती हाँसी ।
“सर कता हुनुहुन्छ ?” मैले सोधेँ । “सर बेखबर हुनुहुन्छ । खोज्या खोज्यै छु ।” मैले ठट्टा गरेँ, “अत्तरको वासना वहाँसम्म पुगेन छ क्यारे !” उसले घुँडाले ठेल्दै भनी, “ह्या सर पनि के अत्तर अत्तर भनिराको । किन्दिनू नि म्याडमलाई नि ।”
सामुन्नेको ढोकाबाट प्रतीक भित्रियो र कुनाको कुर्सीमा गएर बस्यो । अत्तरवालीले भनी, “प्रतीक सरसँग थोरै काम छ । हस् त है ?”
मिटिङपछि राजेशले भन्यो, “अत्तरवाली घुँडा ठोक्काउँदै थिई त ? बिम्बलाई प्रतीकले जित्यो ।”
- खोपासी, काभ्रे ।