मुक्तक - १.
चालै नपाइ ठगे जस्तै,
ओह्रालो पानी बगे जस्तै
समयले तानी लादैछ,
बलीको बोको लगे जस्तै ।
मुक्तक - २.
पलभरमै बिती जाने हो जिन्दगी,
समयले तानेर लाने हो जिन्दगी
गोरेटो पछ्याउँदै हिडँदा हिडँदै ,
एकदिन चिताले खाने हो जिन्दगी ।
मुक्तक - ३.
नसोध भाई हाम्रो दार्जिलिङ कस्तो छ,
झण्डै झण्डा सजेको देवीथान जस्तो छ
हानाहान तानातान लडाइ चौकीको,
सबैथोक महँगो स्वाभिमान सस्तो छ ।
मुक्तक - ४.
शिर बेचेर टोपी खोज्छौ हामी,
आमा छोडी सानिमा रोज्छौ हामी
भाईलाई लम्की थापी पछार्छौ,
पराइको खुट्टामा ढोग्छौ हामी ।
मुक्तक - ५.
अभावहरूले भाग्न सिकायो,
भोको यो पेटले माग्न सिकायो
दायित्वको बोझले थिचेपछि,
जिन्दगीले नाच नाच्न सिकायो ।
✍️ बिके मुखिया
- सिग्रीमताम बस्ती दार्जिलिङ, भारत ।