Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मिसिङ यु ब्याड्ली (लघुकथा) - राजन सिलवाल

मिसिङ यु ब्याड्ली (लघुकथा) - राजन सिलवाल

सतीश चापागाईं

८, फाल्गुण २०७८
images
मिसिङ यु ब्याड्ली (लघुकथा)  - राजन सिलवाल

 

लोग्ने प्रशस्त कमाउँथ्यो र स्वदेशमा श्रीमतीलाई पठाउँथ्यो । स्वास्नी त्यो पैसा मिटर ब्याजमा लगाउँथी । देखिने जीवनमा शान थियो । शान्तिबारे म भन्न सक्तिनँ । लोग्ने स्वदेश आउँदा उसलाई भेट्नु सरकार प्रमुखलाई भेट्नु समान हुन्थ्यो । घरी पाथीभरा, घरी जिरी, घरी नगरकोट सपरिवार छु भन्थी । “मैले फोन नगरी नगर्नू है !,” उसको आदेश हुन्थ्यो । धेरै दिन ऊ हराएपछि हातहरू छटपटिन्थे मेरा । मेसेज बक्समा एउटा ठिङ्ग प्रश्न चिन्ह पठाउँथेँ । प्रभातको प्रश्नको उत्तर साँझमा मिल्थ्यो, “बुढासँग धुलिखेल आ'को छु ।” बस् । बुझ्नुपथ्र्यो— आफ्नै संसारमा व्यस्त छु ।

म मेरै संसारमा शान्त थिएँ । सपनाको कल आयो मेसेञ्जरमा । नजिकै प्रज्ञा थिई । मलाई मेसेञ्जरमा अनुमतिविना कल गर्ने जोसुकैलाई ब्लक हान्ने मन हुन्छ । उसलाई त्यसो गर्न सकिनँ । काटिदिएँ कल । “कसको ? बोलेको भए हुन्थ्यो नि !”, प्रज्ञाले भनी । फेरि घण्टी बज्यो । प्रज्ञालाई टेबलमै छाडेर एकान्तिएँ ।
“उम् । ल भन, के थियो ?”
“म फ्रि छु । भक्तपुर छु । आऊ, सँगै लञ्च खाने ।”
उसको लञ्चमा मेरो तलब प्रायोजक हुन्थ्यो । मेरो मनको राम परशुराम भएको थियो । भनेँ, “बुढालाई कहाँ हाल्यौ ?” उनी कतार पुगे होलान् यतिखेर । आउँछौ राज ? आऊ न । मिसिङ यु ब्याड्ली ।” उसले भनी ।

प्रज्ञा ३० रुपैयाँ कपको चिया र डेढ सयको दालभात खान कतै लग्यो भने पनि बाली पुगेर लञ्च गरेको अनुभूति गर्थी । होटलको सानो बगैँचामा पुरुष मालीले एक थुँगा गुलाब टिप्यो र बढारिरहेकी नारीलाई दियो । उसले त्यो सुँघी, मुस्कुराई र पैसा लुकाउने ठाउँमा लुकाई ।
“बोलेनौ त ?” सपनाले भनी । मैले भनेँ, “म प्रज्ञासँग धुलिखेलमा छु । लञ्च यतै खाएर हामी यतैबाट गाउँ जान्छौँ ।” “प्रेमदिवस खल्लो हुने भयो यसपाली ।” सोधेँ, “कसको ? तिम्रो कि मेरो ?”

यत्तिकैमा प्रज्ञा म नजिक आई र भनी, “बाबा ! त्यो आइमाई त त्यो मालीको स्वास्नी पो रहिछे ।”

- हिमालयटोल, ललितपुर

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - ०५:४३:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend