एनआरएनए अध्यक्ष कुमार पन्तले युक्रेनका नेपालीलाई उद्दार गर्न आफू सक्रिय रहेको बताएका छन । यस कार्यका लागि पन्त आफ्नो टिम सहित युक्रेन र पोल्याण्डको सिमानामा रहेको पनि बताएका छन ।
"युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाइको अवस्था बुझ्न म युक्रेन र पोल्याण्डको सीमानाका मेडिकामा छु ।" पन्तले फेसबुकमा लेखेका छन ।
पन्तले त्यहांबाट दिएको जानकारी अनुसार अझै केही नेपालीहरु पोल्याण्ड आउन चाहेपनि आउन सकिरहेका छैनन । युक्रेन युद्दग्रस्त भएपनि नेपालीहरु अहिलेसम्म सबै राम्रै अवस्थामा रहेको बुझिएको छ ।
पन्तले दिएको जानकारी अनुसार, "अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सकिरहनुभएको छैन । हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोसिस जारी राखेका छौं । कूटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे महामहिम राजदूतज्यू रामकाजी खड्कासँग छलफल पनि जारी छ ।"
"यस युद्धको कठिन घडीमा चाहँदाचाहँदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन । अब हामीले प्रयास जारी राखेकाले केही समय धैर्य गर्न म युक्रेनपट्टि रहनुभएका साथीहरुलाई आग्रह गर्दछु । हिजो सिमानामा रहनुभएका साथीहरुमध्ये करिब ५० प्रतिशत वार्सालगायतका सहरमा राति नै यहाँ अहोरात्र खटिरहनुभएका साथीहरुको सहयोगमा रेल र बसमा अहिले गन्तव्यतर्फ जाँदै हुनुहुन्छ ।" पन्तले जानकारी दिएका छन ।