जन्मिनेले जन्मेपछि आकाशतिर हेरी
प्रतिष्पर्धा उचाइको गर्न थाल्दोरैछ
यो धर्तीको शक्तिलाई नगनेर होला
वादलकै प्रतिष्पर्धा गर्न खोज्दोरैछ,
बढ्न सके चाहे जति आकाशमा पुगी
धर्तीलाई छोडी टाढा हुन सक्दोरैछ
हावा पानी काख दिने धर्तीसँग पनि
मिले पुगे माया मारी हिड्न सक्दो रैछ
म पो कहाँ कम छु र भन्ने सोचीकन
हिमालले पनि आकाश छुन खोज्दो रैछ
तर हिउँ पग्ली नदी बनी बग्दै जाँदा
हिमालको उचाइमा धक्का लाग्दोरैछ
हिमालको उच्चताले माग्छेलाई पनि
माथिमाथि हेर्नै पर्ने बनाउँदो रैछ
आकर्षण धरतीको जति भए पनि
थोरै धेरै गरी मान्छे माथि जाँदोरैछ
चाहनाले आकाश नै ताक्ने गरे पनि
सङ्ख्या बढ्दा धरती नै ढाक्ने गर्दो रैछ
जतिसुकै माथि माथि बढ्दै गए पनि
टेक्ने ठाउँ बस्ने गाउँ यहीं हुँदो रैछ
धरतीमा खुट्टा राखी बढ्दै गए पनि
पासाङ बनी हिमालमा टेक्न पुग्दो रैछ
चाहना हो आफू माथि पुग्ने गरे पनि
आफन्तलाई त्यतै तान्ने मन हुँदोरैछ
कसैलाई अरू माथि पुग्न खोज्यो भने
खुट्टा तानी तल झार्ने मन हुँदो रैछ
आकाश छुने आकाङ्क्षामा शून्यतिर लागी
आफैपनि आफूलाई बिर्से सक्दोरैछ
वर्ग वर्ण भन्दा माथि उठ्न सके मान्छे
धर्तीबाटै उच्चताको चुली छुँदो रैछ
छाती अलि फुकाएर चारैतिर हेरे
हिमालभन्दा पनि अग्लो बन्न सक्दोरैछ।
रचना- २०५४ साउन १६