मुक्तक - १
छोरी भनेर मलाई, रुवाउँछौ भने
हेला गरेर जहर, खुवाउँछौ भने
अब कहिल्यै पनि, आमा बन्दिन म
गर्भ जाचेर छोरी, तुहाउँछौ भने ...।
मुक्तक - २
सिउँदोको सिन्दुर पुछिएपछि, हातका चुरा फुटेपछि
जिन्दगीबाट सदाका लागि, पतिको साथ छुटेपछि
मलाई बोक्सीसम्म भन्न, पछि परेन यो समाज,
मेरो सुन्दरता र मेरो जवानी, समयले सबै लुटेपछि ..।
मुक्तक - ३
गाउँमा दु:ख गर्नु हुन्न , सहर पसौं भन्दै आउलान्
दुवै मिली मायाँ डोरी , सँगै कसौं भन्दै आउलान्
होश गर्नु है सोझा चेली , दलाल होलान् त्यस्ता मान्छे
बिहे गरी ढुक्कसँग, उतै बसौं भन्दै आउलान्....।
मुक्तक - ४
महिला हिंसा बिरुद्ध भन्दै , शहरमा भाषण गरेको सुन्छु
तर कति निरिह महिला , हिंसाको मारमा परेको सुन्छु
हिंसा विरुद्ध अभियान जहाँ , चलाउनु पर्थ्यो पुगेन त्यहीँ
छाउगोठभित्र बस्दा कति, दिदी बहिनी मरेको सुन्छु ...।
मुक्तक - ५
कति बस्छौ नारी तिमी, कुसंस्कारमा जेलिएर
अझैसम्म विभेदरुपी, खाडलभित्र छेलिएर
छातीभित्र साहस बोकी, उठ्न सिक अब आफैं
बाँच्नु हुन्न हेला हिंसा , अत्याचारमा पेलिएर ...।
- निर्मलरमण पराजुली
सामाखुशी, काठमाण्डौ