"घरमूलीले आफ्नो घरमा विवेकपूर्ण काम गरेन भने त्यो घर छिन्नभिन्न हुँदोरहेछ । झगडा बाहेक केही नहुने रहेछ। छिमेकीले हेप्दा रहेछन् । परिवारको इज्जत पनि नहुँदो रहेछ । हेर्नु त ! रमेश बाजेको तेत्रो जमेको घरको हालत !" देवराजले भक्तिलाई भने ।
"हो नि त ! रमेश बाजेको त्यति मिलेको घरपरिवार कसरी छिन्न भिन्न भयो ? त्यही घरपरिवार मेलमिलाप हुँदा कत्रोशक्ति कत्रो इज्जत ! बयान गरी साध्यै हुँदैनथ्यो । अहिले सबैले हेपेर धुनधान छ । त्यो घरको इज्जत, मान र प्रतिष्ठाकालागि मरिमेट्ने परिवारका सदस्यहरू सबै हेपिएका छन् । आफ्नो चाकरी गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरूकै मात्र कुरासुन्छन रमेश बाजे । अनि आफै पनि अहंकारी र घमण्डी छन् । यस्ता मान्छेको विवेकले काम गर्दैन भन्छन् ।" भक्तिले भने।
"गलतै काम भए पनि उनले भनेपछि हुनै पर्ने । भएन भने परिवारका इमान्दार सदस्यहरूलाई गाउँका माझै चौतारीमागएर मनपरी गाली गर्छन् । बच्चाहरूलाई चक्लेट बाँड्छन् । कसै कसैलाई त उनीहरूले भने जति रकम पनि दिन्छन । रमेशबाजेले जति अरूलाई गाली गर्छन् त्यत्ति नै चर्को ताली ती केटाकेटीहरू पनि पड्काउँछन् । चर्को ताली आएपछि उनी झन्उफ्री उफ्री अरूलाई गाली गर्छन् । त्यति मात्रै हो र ? ती केटाकेटीहरू त गाउँभरी डुल्दै - 'रमेश बाजे जिन्दाबाद ! जिन्दाबाद!!' भनेर नारा लगाउँदै हिँड्दा रहेछन् । उनी पनि मख्ख ।
परिवारका इमान्दार सदस्यहरूले यसो नगर्न बारम्बार आग्रह गर्दापनि मानेन् । बरू उनीहरूलाई घरबाट निस्कन बाध्य पारे । तेत्रो शक्तिशाली घर तहसनहस भयो । छरछिमेकीहरूले हेप्नचेप्न सुरू गरेका छन् । कुनै इज्जत गर्दैनन् । अहिले त पहिला उनलाई साथ दिने काइला, ढाइला र ठूला कान्छा छोराहरूलेपनि बुढालाई वास्ता गर्न छोडे रे । पहिला तेत्रो सान दिएर हिँड्ने रमेश बाजे । अहिले त एक्लै धुमधुम्ती कोठामा बस्छन् !" देवराजले भने ।
"अझै पनि घरको तहसनहस् आफ्नै कारणले भएको हो भनी स्वीकार गर्न गाह्रो मान्छन् । गल्ती सुधार्न तयार छैनन् रे ।अझै पनि अरूलाई दोष लगाउँछन् रे ।" भक्तिले भने ।
"अझै पनि चेत खुलेन बुढाको !? के गर्नु ? अपराधीको मन दम्भ र शंकाको अड्डा !" देवराज भने ।
- हाल अष्ट्रेलिया (उपचार क़क्षबाट)