Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सच्चा कमाइ (लघुकथा) -तुलसी पण्डित

सच्चा कमाइ (लघुकथा) -तुलसी पण्डित

सतीश चापागाईं

१२, जेठ २०७९
images
सच्चा कमाइ (लघुकथा) -तुलसी पण्डित

योगी लामो समयको तपस्यापछि सहर छिरे ।

लामो समयको अन्तरालले गर्दा उनी अति भोकाएका थिए । उनले आफ्नो भोकको दर्द मेट्न तीन जना व्यक्तिको घर जाने योजना बनाए ।

योजनाअनुसार सबैभन्दा पहिले उनी नेताको घर पुगे । नेताले उनको सम्मानमा सुनको आसनमा बसाए । कुशल मङ्गल सोधे ।

धेरै समयको बातचितपछि योगीका निमित्त खाना तयार भयो । उनी खान गए । उनको लागि चौरासी व्यञ्जन तयार थियो । सुन्दर परीहरू उनको सेवामा खटिएका थिए ।

योगीले खाना देखेर केही समय टोलाए । उनले खान सकेनन् । केही समयपछि खाना न खाइकन उनी फरक्क फर्के । नेताले यसलाई अशुभ ठाने ।

भोको पेटमा बेगले छट्पटिदै हिँडेका योगी कर्मचारीको घर पुगे । त्यहाँ पनि सम्मानको कुनै कमी थिएन । खाना तयार भएपछि खान गए । त्यहाँ पनि चौरासी व्यञ्जन तयार थियो । तर अँह, उनले त्यहाँ पनि खाना खान सकेनन् । हेरेर उभिइरहे ।

त्यसपछि उनी फर्केर गरिबको घरतर्फ लागे । गरिब उनलाई लिन परसम्म पुग्यो । बडो आदरका साथ घर लग्यो, कुनै तामझाम देखिएन त्यहाँ र काठको पिर्कामा बसाल्यो । भित्र खाना तयार थियो । हात धुन सिलोटको अम्खोरामा पानी आइपुग्यो । केराको पातमा कोदाको ढिँडोसित सिस्नोको तरकारी देखेर योगीले कपाकप खान लागे ।

आफ्नो घरमा नखाइहिँडेका योगीलाई खोज्दै नेता र कर्मचारीले त्यो दृश्य हेरिरहेका थिए । केही नभएको गरिबको घर त्यसरी खाएको देख्दा उनीहरू जिल्ल परेर सोधे, “किन हजुर हामीकहाँ चौरासी व्यञ्जन खानु भएन ? यहाँ त्यस्तो पनि रुच्यो ।”

“हजुर, मलाई सच्चा कमाइ मात्र मन पर्छ ।” योगीको उत्तर थियो ।

- भरतपुर, चितवन

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ०५:२१:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend