Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

‘तासफोटो’ कविता संग्रहका बारेमा -स्वप्निल नीरव

‘तासफोटो’ कविता संग्रहका बारेमा -स्वप्निल नीरव

सतीश चापागाईं

१७, आषाढ २०७९
images
‘तासफोटो’ कविता संग्रहका बारेमा -स्वप्निल नीरव

हाम्रो नेपाली साहित्य यति समृद्ध हुनुमा घरदेश छोडेर परदेसिनेहरुको हात छ भनेँ भनेँ म पक्कै गलत हुँदिन होला । हामीले देशमा बसेर आफुलाई जतिसुकै महान लेखक र समिक्षक मानेपनि हामी अधुरो नै छौं डायोस्परिक साहित्यबिना ।

सुष्मा रानाहँमाको कविता कृति 'तासफोटो' पढेँ । सुष्मा रानाहँमा कोरियामा बस्नुहुँदो रैछ यो कुरा चै मैले कविता पढ्दै गएपछि थाहा पाएको कुरा हो । यो पुस्तक कथाकार बिना थिङ तामाङले बैंशाख १७ गते दिनुभएको थियो उपहार स्वरुप । कवितासँग मेरो गहिरो प्रेम छ । मलाई लाग्छ कविता मात्र त्यस्तो चिज हो जसको बिम्बले हरेककोहीलाई लोभ्याउछ । कविता शिल्प हो, कला हो र थोरै थोरै दर्शन र विचार । यो पनि मेरो निजि विचार हो ।


अचेल मलाई कसैले सिफारिस गरेको फिल्म हेर्न, पुस्तक पढ्न मनपर्दैन खासमा । म आफुले मनग्गे सोंचेर अनि यो राम्रो छ भन्ने लागेपछि पुस्तक किन्छु । तर म उपहारस्वरूप आएका पुस्तक जुनकुनै हालतमा पनि पढ्छु । र मैले सुष्मा रानाहँमाको कविता कृति पनि पढेँ । पढ्दै गएँ, सुरुका कवितामा प्रेम नै ज्यादा थिए । प्रेम कसलाई पो मन नपर्ला र ? तर प्रेम लेख्नु र पाठकलाई प्रेम महशुस गराउनु गाह्रो कुरा हो ।


मेरो विचारमा कोही पनि लेखक कविको पहिलो कृति अन्तिम बन्नुहुन्न । र उहाँले पनि आफुलाई अझै परिस्कृत बनाउनुहुनेछ भन्ने कुरामा बिश्वस्त छु । र आगामी दिनमा अझै थुप्रै कविता पढ्न पाइनेमा विश्वस्त छु ।


अब कुरा गरौं कविताका, आमाको तासफोटो फिनिक्स बुक्सले प्रकाशित गरेको रहेछ । पुस्तकप्रेमीलाई लोभ्याउने सुन्दर हार्डकभर छ, त्यसका साजसज्जा पनि सुन्दर छ । कवितामा प्रेम बाहेक पनि संस्कृति, देशपरदेश र परिवेश पनि छन् । चल्तीका लोक जिब्रो, राई जातिमा प्रचलित सुन्दर मौलिक शब्दहरुले कवितालाई सुन्दर बनाएको छ । अझै कोरियाका विभिन्न जनजीवन, त्यहाँका प्रकृति, ठाउँ र परिवेशलाई कवितामा बिम्बको रूपमा प्रयोग गरिएको छ । त्यो एकदमै मौलिक लाग्यो मलाई । म कविता धेरै पढ्ने मान्छे भएकोले होला प्रायः कविका लेखन शैली अन्य कविका कवितासँग मेल खाएको पाउँछु तर आमाको तासफोटोमा त्यस्तो लागेन । तर यति हुँदाहुँदै पनि कृतिमा प्रशस्त कमजोरी छन् । पहिलो कमजोरी त सम्पादनमा छ । मलाई लाग्छ कवि/प्रकाशकले कविता सम्पादनमा पटक्कै ध्यान दिएको छैन । कवि आफै कोरियाको ब्यस्त जीवनमा हुनुहुन्छ । उहाँले कविता लेख्नुभयो प्रकाशकलाई दिनु भयो तर खोइ त सम्पादकले काम गरेको ? हुन त सम्पादन बिनाका पुस्तक पनि छापिने गर्छन् तर अझै राम्रो सम्पादन भएको भए कविता अझै सुन्दर लाग्थे कि भन्ने कुरा हो ।


उदाहरणका रूपमा हेरौं न,
'तिमी पुगेको ठाउँसम्म' कवितामा कविले 'मुदोङ्सान पहाडको चुचुरो' भनेर लेख्नुभएको छ । म भए लेख्ने थिएँ, मुदोङ्सानको चुचुरो । किनकि मुदोङ्सान आफै एक पहाड हो भने त्यसलाई पहाड हो भनेर चिनाइराख्नु जरुरी छैन । उसैपनी कविले मुदोङ्सान दक्षिणपश्चिममा अवस्थित पहाड हो भने पृष्ठको अन्त्यमा बताउनु भएको छ ।

त्यस्तै त्यै कवितामा 'हाननदी तरेर' भन्ने वाक्य छ । जसमा हाननदी नलेखेर हान मात्रै पनि लेख्न सकिन्थ्यो । किन कि पाठक अचेल हामी भन्दा सचेत भैसके । यहाँनेर 'हान तरेर' मात्रै राख्दा पनि 'हान' भनेको नदि हो भन्ने सामन्य ज्ञान पढ्दै जाँदा थाहा भैहाल्छ ।

मेरो विचारमा यी यिनै स-साना कमजोरी हुन् । जुन सम्पादक र कविले सच्याउन सक्नुहुथ्यो । बाँकी त कृति सुन्दर छ ।

मलाई मन परेका केही कविता हरफ मध्ये यी विशेष लाग्यो,

मेरो देशकै मूलढोका छिर्दाछिर्दै
आहा! ग्ल्यामर्स जिन्दगी
फर्किएको हुन्छ बाकसमा पार्सल बनेर
(यन्त्रको जिन्दगी)

कानुन लाग्ने भनेको त गोरु काट्नेलाई हो
बलात्कार गर्नेलाई हैन
हत्यारा लोग्नेलाई हैन
(सम्झनाहरुलाई सम्झना)

फरक आउला पार्सल यो पालि सधैं भन्दा
उघार्नु बाकस
हटाउनु सेतो कपडा
र छोइदिनु अन्तिम पटक
(कचुर)

सोंचिनछु पो आफूलाई
सोंचिनछु भोलि बाँच्छ भनेर
(राहदानी सँगको सामिप्य)


यो माथिको दुई लाइन कति बिम्बात्मक छ । हरेक परदेशीले सबचीज सोंच्छ सोच्दैन त केबल आफ्नै बारेमा । सहयोग चाहियो चन्दा दिन परदेशी, घरपरिवार आफन्त साथीभाइलाई सहयोग चाहियो त्यै परदेशी । तर आफ्नो खुसी, सपना र रहरको घाँटी निचेर बाँच्ने पनि त्यै परदेशी ।


समग्रमा कृतिमा समयचेत छ, समृद्धिको चाहना छ, हाम्रै परिबेशका कथा छन्, जीवन छ ।

अन्त्यमा उहाँकै कविता कृति "आमाको तासफोटो"बाट कविता

न्याय

भर्खरै बलात्कृत महिलाले
न्यायको निमित्त उजुरी दिनुअघि
देशको अखबार पढेपछि
फेरि दोस्रो पटक
बलात्कृत भएको महशुस गरी
र अन्तमा उजुरी नगर्नु नै उचित ठानी ।।।

कविलाई आगामी कविता यात्राका लागि थुप्रै शुभकामना । हजुरको लेखन नेपाली कविता लेखनमा जिवन्त रहोस् ।

images
प्रकाशित मिति :आषाढ १७, २०७९ शुक्रवार - १७:१३:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend