“अनुपमा”को प्रतिचित्र
“गीत लेखिने मात्र होइन, आवाज पनि खोजेको हुन्छ” मैले कतै पढेको वाक्य हो यो। गीत भन्नासाथ गाउन सकिने, गेयात्मक भन्ने बुझिन्छ। कुनै भाषामा “सीतात्मक” पनि भन्दा रहेछन्। गीतकार सीता अर्यालको गीतसङ्ग्रह “अनुपमा”को प्रभाव हुन सक्छ , मलाई यो शब्द मन पर्नु। मैले भरखरमात्र दोहोर्याएर पढेको हुँ।
सुनिल मास्केको सङ्गीतमा गीतकार सीताजीको यही अनुपमा गीतसंङ्ग्रहभित्रको कुनै गीत धेरै पटक सुनेको छु।मन छुन्छ। शब्द संयोजन उत्कृष्ट छ। यो अनुपमा सङ्ग्रह अध्ययन गर्दा निष्पक्ष र इमानदारीपूर्ण भाव भङ्गी गीतहरूमा पाउन सकिने विश्वास लाग्यो। पढदा सरल, सरस तथा गहिरो अर्थ बोकेका गीतहरू धेरै छन्। उनका कुनै कुनै गीतमा जीवन दर्शन पाइन्छ, कुनैमा आस्था लुकेको छ भने धेरै गीतमा प्रेमाकर्षण भेटिन्छ। चाहे त्यो प्रकृतिप्रति होस वा जीवनप्रति।
गीतकारलाई नदी जस्तै सलल बग्ने रहर छ, हेरेर प्यास मेट्ने रहर छ। कहिले कहीँ सवेरै पँधेरीमा पुगेकी हुन्छिन् कवि भने कतै जुनेली रात हेरेर मोहित हुन्छिन्। प्रयुक्त गीतहरूमा छानीछानी विम्वहरूको उपयुक्त प्रयोग भएको महसुस हुन्छ, हृदयलाई पल्लवित बनाउँछन् जस्तै दियोमा तेल वत्ती थप्दै, अविरल सरिता, गालामा कोठी, पछ्यौरीको दाग, मनको चोट‘‘।
“संमोहनले नजिक ल्यायो नतर्क है तिमी
बोलाउने छु माया गरी नझर्क है तिमी।“(सम्मोहन-पेज ३६)
दिल,भावना र शब्द संयोजन मिल्यो भने सुन्दर गीत सिर्जना हुन्छ। साच्चै भन्दा लम्जुङेहरू मर्स्याङ्दी नदी आफ्नोमात्र भन्छन् तर गोर्खालीले यसको शान्त लहर र निरन्तर सुनिने सुसेलीको रन्को पेवा बनाइसकेको थाहा नै पाउँदैनन्।
सीताका धेरै गीत पुरुष लवजमा रहेका छन्। आञ्चलिकताले गीतकारलाई लट्ठ पारेको छ। तीन धारे, तीन घरे आदि ठाउँको स्मृति गीतकारको मानसपटलबाट हराउन सकेका छैनन्। उनलाई कतै आफू जन्मे हुर्केको ठउँको प्रितले पोलेको छ भने कतै अमुकता नेपथ्यबाट बोलेको छ। काला बादलको मुस्लो मडारीएको छ मनमा। यस्तै उतार चढाव छ जिन्दगीमा।
“घाम लुक्यो घुम्टोभित्र चारैतिर हिउँ पर्यो
बाहिर हेर्दा रमाइलो मनमा ठुलै पिर पर्यो”।–( घाम लुक्यो- पेज ६४ )
शब्द ज्ञान नहुने प्राणीमा पनि सङ्गीतको ध्वनीले आकर्षित गरेको हुन्छ। उसको ध्यान तरङ्गित हुन्छ। सङ्गीतले स्नायुमा हलचल ल्याउने तथ्य पत्ता लागेको छ। चिकित्सा विज्ञानमा मनोरोगीको लागि कुन सङ्गीत श्रवण गराउने भन्ने निर्कोल गरिन्छ। मनोरोगीको लागि यो एउटा उपचार विधान बनेको छ। यसको अतिरिक्त बनस्पतिमा समेत सङ्गीतको प्रभाव परेको हुन्छ।
गीत के हो ? गेयात्मक पङ्ति बनाएर सृजित कुनै लाइन नै गीत हो। यसलाई कुनै गायकले भेटेपछि जीवन प्राप्त गर्दछ। अचेल विभिन्न मुलुकमा गीत लेखनको पढाई हुन थालेको छ। डिप्लोमा, डिग्री प्रदान गरिन्छ। सङ्गीतको साथसाथै गीत लेखन र प्रशीक्षण पनि गराइन्छ।
यस अनुपमा गीतसङ्ग्रहमा प्रणय प्रभावका गीतहरूको बाहुल्य रहेको पाइन्छ। सबैका सबै गीतले धुन खोजेका छन्, स्वर पाएका छैनन्। यी सवै गीतले सुमधुर स्वर सङ्गीत पाउन सके कालजयी बन्ने पर्खाईमा बसेको महसुस हुन्छ। किनभने शब्दलाई खेलौना जसरी खेलाउन सक्ने शब्द पारखी हुन् सीता अर्याल।
गीतकारले लोक संस्कृति, लोक गीत तथा आधुनिक गीतलाई माथि उठाउन जुन प्रयत्न गर्नु भएको छ त्यो स्तुत्य छ। यस सङ्ग्रहले गोरखा, तनहुँ र लमजुङको साहित्यिक गरिमा उच्च बनाउन भरपुर सघाएको छ। यसले उदाउँदो पुस्तालाई एउटा गतिलो सन्देश छोडेको छ।
मानव जीवनमा गीतको उत्पत्ति स्वरप्रियताको माध्यमबाटै भएको हो। हाम्रो शास्त्रमा सामवेदलाई सङ्गीतको श्रोत भन्ने गरिन्छ। सङ्गीतात्मकता, संक्षिप्तता, भवात्मकता, अन्तर्मनापर्शी, कान्त पदावली आदि गीति काव्यको प्रवृत्तिभित्रकै विषय हुन्।
गीत र गणित तालिम दिएर हुँदैन, यो त प्राकृतिक गुण हो। मैले सूक्ष्म रुपमा अध्ययन गर्दा यी गीतहरूले स्वर खोजेका छन्। सङ्गीत खोजेका छन्। विचार गर्दा सङ्गीत र स्वरले यस्ता उच्च स्तरका गीत स्वतह खोज्दै आउनु पर्ने हो जस्तो लाग्दछ। जहाँसम्म मापनको कुरा छ, जोसँग जे साधन छ त्यसैको प्रयोग गर्ने हो। धरातल नाप्दा र बौदिकता नाप्दा साधन फरक हुनेमात्र हो। जस्ले जेले मापन गरेको छ, त्यसैको परिमाण उल्लेख गर्दछ, जस्तैः यति हात, यति फड्को, यति मिटर, गज इत्यदि।
अन्तिममा एउटा गीत पढौँ ~
“सपनीमा आयौ फेरि बिथोलियो मन
बिपनीमा टाढा भयौ किन होला भन।
रित्तो मनमा चुपचाप तिमी आई बस्यौ
थाहा नपाई कतिखेर मुटुभित्र पस्यौ
दिल रै’छ सारै खोटी चिन्न सकिएन
समयमै तिम्रो नियत जान्न सकिएन।
पोल्टाभरि चिल्ला कुरा छुरा रै’छ मनमा
जुग जाने मायाभन्दा तृष्णा रै’छ तनमा
मुटु घायल पारी गयौ नफर्किने गरी
अधकल्चो पारी छोड्यौ नबौरिने गरी।
सपनीमा आयौ फेरि बिथोलियो मन
बिपनीमा टाढा भयौ किन होला भन”?
( सपना- पेज ७०)
###
तीर्थराज अधिकारी
हाल:~ ओहायो,संयुक्त राज्य अमेरिका।