Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एट्लान्टिकको काखमा मर्टल बिच: केही रोमान्चक क्षण (यात्रा संस्मरण) -ज्ञानहरि घिमिरे

एट्लान्टिकको काखमा मर्टल बिच: केही रोमान्चक क्षण (यात्रा संस्मरण) -ज्ञानहरि घिमिरे

सतीश चापागाईं

११, श्रावण २०७९
images
एट्लान्टिकको काखमा मर्टल बिच: केही रोमान्चक क्षण (यात्रा संस्मरण) -ज्ञानहरि घिमिरे

जुलाई २३,२०२२ शनिवारको बिहान साढे तीन बजे मोबाइलमा अलार्म बज्दा म झस्कँदै उठें। हामी चार बजे बिहानै हिंड्ने भनेपनि ४:३५ मा हिंड्न सक्नु पनि चानचुने कुरा थिएन। हामी सातजना चालीस कटेका जवानहरू सुदीप मामाको आठसिटे गाडीको डिक्कीमा आइस बक्स र आआफ्ना झोलाहरू कोच्दा उज्यालो भएकै थिएन। बाल्टिमोर सुतिरहेको थियो चकमन्न भएर।

उमेरले सबैभन्दा जेठो भएर पनि आनन्द काका देवानन्द झै हेन्डसम भएर अघिल्लो सिटमा बस्नुभएको थियो। गुरुजीको भूमिकामा सुदीप मामा कुनै फिल्मको हिरोभन्दा कम देखिनुभएको थिएन। उमेरले कान्छा म र बाबुरामजी लाष्ट सिटमा बस्दा पनि खुसी नै थियौं। बिचको सिटमा बस्ने डोलनाथ दाइ, सुभाष दाजु र शिवराज ज्वाइँको मुस्कान पनि करोडको भन्दा कम थिएन।

0D35DC0E-6493-47BD-AE58-A8044C84EF7B.jpeg

वासिङ्टन डिसीलाई दाहिने पारेर अगाडि बढ्दै गर्दा बल्ल राम्रोसॅग उज्यालो भएको महसुस भयो हामीलाई। ६ बजे बिहान दुनोट र कफीले अलि अलि लाग्न थालेको निंद्रा कता भाग्यो कता?

करिब एघार बजेतिर इभिङ्टन, भर्जिनियाको ग्यास स्टेसनमा रोकिएर सुभाष दाजु र डोलनाथ दाइको वाकयुद्ध हामी छेउमा उभिएर सुन्नेलाई कम्ता रमाइलो थिएन। अगाडि बढ्दै जाँदा ब्ल्याक लेभललाई बाह्र बर्ष गाडेर निकाले जस्तै कसै कसैलाई २५-२८ बर्ष समुन्द्रमा गाडेर निकाल्ने हो भने कस्तो लेभलको बन्छ होला भन्ने सुभाष दाजुको संकेत को प्रति लक्ष्य थियो त ? भन्ने कुराले हामी हासिरह्यौं।

सुदीप मामाले असी माइल प्रति घण्टामा हुइँकाउनुभएको गाडी डेनभिल सिटी, भर्जिनियामा चिपोट्ले रेष्टुरेन्ट अगाडि नपुगी रोकिएन। झण्डै एक घण्टा मेक्सिकन फुडको मज्जा लिॅदै आराम गर्दा बाबुरामजीले बिभिन्न फिल्मका किस्साहरू सुनाइरहनुभएको थियो।

68ABEB9F-181F-46F3-9C01-D90B3964F14F.jpeg
सिपी अधिकारीजीको घर सार्लोट, नर्थ क्यारोलाइना पुग्दा तीन बज्न लागेको भएपछि हामीलाई हाम्रो गन्तव्य समयमै पुग्न सकिन्न कि भन्ने आभाष भइरहेको थियो। त्यो सफा, रमाइलो सार्लोट सहरलाई पछाडि पार्दै हामी सिपीजी सहित आठ जना हाम्रो गन्तव्य एट्लान्टिक समुन्द्रको काख मर्टल बिच, साउथ क्यारोलाइना हुइँकिइरहँदा ड्राइभर फेर्नुपर्ने आभाष सम्म पनि दिनुभएन सुदीप मामाले।

एयर बिएण्डबिको सत्रौं तल्ले आर्केडियन-२ होटलमा पुग्दा साँझको छ बजिसकेको थियो। हाम्रो अपार्टमेन्ट हामीले सोचेजस्तो सफा नगरिएकोले एकछिन कम्पनीसँग झगडा गरेर झण्डै आधा पैसा घटाएर डन गर्दा त्यसबेलाको महत्वपूर्ण एक घण्टा यत्तिकै बितिहाल्यो। हामीले बिचमा पौडी खेलेर मज्जा त लियौं नै, त्यो भन्दा बढी रमाइलो दौड प्रतियोगिता गरेर गर्यौं। हाम्रो दौड हेर्न गोरे,गोरिनीहरू पनि जम्मा भएर हुटिङ् गरिरहेका थिए। मोटो शरीर भएर पनि डोलनाथ दाइलाई भेट्न गाह्रो पर्यो मलाई। सिपीजीले मलाई पछ्याउनु भयो। एकपटक त सुभाष दाजु पनि चारजनामा चौथा हुनुभयो भन्दै सिपीजीले पछिसम्म जिस्काइरहनु भएको थियो।


निकैबेर फोटो, भिडियो, स्विमिङको रमाइलो गर्दा गर्दै हामीलाई भोक लागिसकेको थियो। नुहाइधुवाइ गरी फ्रेस भएर निस्कँदा ढिला भइसकेकोले नेपाली इण्डियन फुड भेट्टाउन सकिएन। डोमिनोज पिज्जा, कुखुराको सपेटा र केही अरू खानेकुरा बोकेर हामी हाम्रो अपार्टमेन्ट फर्कॅदा एघार बजिसकेको थियो। नेपालबाट शिवजीले ल्याउनुभएको यार्सागुम्बा ह्विस्की निकै केन्द्रमा रह्यो। खाँदै, कहिले जिस्कॅदै, कहिले शब्दले उचाल्ने र पछार्ने गर्दै हामी सबैले रमाइलो गरिरहँदा अघि दौडमा प्रथम हुनेलाई सिपीजीले गर्भवती महिलाको एक्टिङ गराउँदै हुनुहुन्थ्यो।दु:खसुख गरेर हामीलाई सुत्न गाह्रो थिएन तर कसै कसैको घुर्ने समस्या सहन नसकेर कोठा सर्दै हिंडेको दृष्य पनि कम्ति रोमान्चक थिएन।

आइतवार बिहान छिट्टै उठ्न मन लाग्ने कुरै थिएन किनभने अघिल्लो दिनको यात्रा थकान, पौडी, दौडले हामी सबै थाकेका थियौं। सुदीप मामाको रोजाइको क्रुसानमा अण्डा चिज र ह्यास ब्राउन अनि कफीले हाम्रो ब्रेकफाष्टमा निकै मार्केट लियो। हामीले होटल छोडेर आफ्नो सामान लिएर निस्कँदा एघार बजिसकेको थियो। हेलिकप्टर चढ्ने योजना बनाएर त्यसतर्फ लाग्दै गर्दा सुभाष दाजुले हाम्रो यात्रा संस्मरण लेख्न मलाई जोडदार प्रस्ताब गरिरहनुभएको थियो भने अरू सबैले समर्थन गरिरहनुभएको थियो। मैले पनि त्यहीं सहमती जनाएँ। आनन्द काका र सुदीप मामाले हेलिकप्टरको अनुभव लिइसक्नुभएको रहेछ। बाँकी हामी शिवजी, सिपीजी र म एउटा अनि डोलनाथ दाइ, सुभाष दाजु र बाबुरामजी अर्को हेलिकप्टरमा ७०-८० माइल यात्रा गर्यौं। हामीले निकै रमाइलो र नयाँ अनुभव गर्दै केही फोटाहरू र भिडियोहरू पनि बनायौं।

त्यसपछिको हाम्रो यात्रा जिपलाइन गर्ने भए पनि त्यसलाई लत्याएर लन्चलाई समय छुट्यायौं। मसला विष्ट्रो इन्डियन रेष्टुरेन्टमा ओल्ड मङ्क नाम गरेको चिसो बियरसँग खाना खाँदा हामीले अनुभव गरेको गर्मी कता भाग्यो कता?


आजको दिन फेरि सार्लोट फर्कॅदै थियौं हामी। अबको गुरुको जिम्मेवारी बाबुरामजीले सम्हाल्नु भयो। बाटोमा आइस क्रिमको मजा लिॅदै, ठाउँ ठाउँमा रेष्ट गर्दै सिपीजीको घर आइपुग्दा झमक्कै साँझ परिसकेको थियो। चिकेन चिल्ली, मःम लगायत बिभिन्न परिकार खाँदै रमाइला गफ गर्दै बस्यौं हामीहरू। हामीले जन्मदेखि हालसम्म भोगेका र भविष्यका योजना सहित छोटकरीमा सुनाउने कार्यक्रम राखेका थियौं। हामी धेरै समयदेखि सँगै बसेपनि कतिपय अहिलेसम्म थाहा नपाएका कुराहरू पनि पोख्यौं छताछुल्ल हुनेगरि एकअर्का बिच। अन्त्यमा घुर्ने साथीहरूलाई एक्लै कोठा छोडिदिएर हामी नघुर्ने साथीहरू मिलेर सुत्यौं।

सोमवारको दिन बिहान, हामी बाल्टिमोर फर्कने दिन, कफी सम्म मात्रै पिएर निस्कँदा पनि साढे आठ बजे बजिसकेको थियो। सिपीजीलाई सार्लोट छोडेर हामी सात थान हिड्यौं त्यहाँबाट। हाई पोइन्टमा फेरि एकपटक सुदीप मामाको रोजाइको उही ब्रेकफाष्ट खाँदै आनन्द काकाको गफ सुन्यौं। वहाँको सुकमेलको कहानी सुन्दा बाबुरामजीलाई अर्को मूभी बनाउन मन लाग्यो रे। के थाहा , मैले पो मेरो अर्को पुस्तकमा त्यो कहानी लेख्छु कि? रिचमोन्डको इन्डियन रेष्टुरेन्टमा किङ्ग फिसर बियरसँग लन्च गरेपछि हामी सोझै बाल्टिमोरतिर हानियौं।

समग्रमा यात्रा निकै रमाइलो भयो।प्रायः सबैलाई कामको प्रेसर थियो नै, तैपनि हामीले समय मिलायौं, घुम्यौ।समय नमिलाउनेहरू छुटे। अविस्मरणीय भयो यात्रा। यात्रामा साथ दिने सबैलाई धन्यवाद।

(लेखक घिमिरे 'सपनाको उडान' उपन्यासका उपन्यासकार हुन् ।-सम्पादक)

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०८:१८:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend