रिसको मुङ्ग्रो बोकेर कोही आउँछ
र मुटुको ढोका फुट्नेगरि गालीको लात मार्छ
म धन्यवादको नास्ता खुवाएर पठाउँछु
अर्को कोही आउँछ
प्रशंसाको थाली बोकेर
र चाप्लुसीको दियो सल्काएर आरती गर्छ
म बेमौसमी मुस्कानको रुमाल फ्याँक्छु
म भित्र
यो कस्तो बेवास्ता ?
यो कस्तो मौनता ?
न खुसीको अग्लो माछापुच्छ्रे
न दु:खको गहिरो सेती
खै ? त्यो बाध्यताको लगाम चुँडाएर
रहरको पछि दौडी हिँड्ने चाहनाको घोडा?
जो कुनैबेला मेरै हृदयको तबेलामा थियो
कुन आकाशको बाटो भएर छुट्यो त्यो जहाज?
जसको पखेँटामै झुण्डिएर पनि
उड्नु थियो आकङ्क्षाको देशसम्म
र हेर्नु थियो आँखामा केही उज्यालो
अचेल, सोचको बरन्डामा बसेर
जीवनको नफर्कने जीवनलाई
फर्केर यसो हेर्छु,
देख्छु,
जीवनबाट जीवनको कपुर उड्दैँ हराउँदै गरेको मात्र
तसर्थ
ओ प्रिय समय
प्रेममा मिसिएको तिम्रो कपुर पनि तिम्रो हैन्
न आवेगको धुवाँले भरीएको सिसी नै तिम्रो हो
बरु
आउ, निभ्न लागेका केही कोईलाहरू छन् मसँग
लैजाउ, सल्काउ र जलाउ
जसको सहारामा निक्कै परपर पनि पुग
र फैलाउ प्रेमको मग्मगाउँदो सुवास ।
बाँकी त सबथोक भ्रम हैन र?
***