म आज अफिसबाट चाँडै घर फर्के । ढोका अगाडिको गमलामा झपक्क रातो गुलाफ फुलिरहेको थियो । म टक्क अडिएर त्यसलाई नियाली रहेँ ।
त्यो पुरानै गमला थियो । तर मलाई आज नौलो र कुरूप लाग्यो ।
आज दिउँसो अफिसमा घटेको दृश्य, मेरो आँखामा फेरि दोहोरियो ।
अफिसका सहकर्मी, साथीहरूमध्ये रश्मी पनि एक थिइन् । उनी अलि चन्चल स्वभावकी थिइन् । उसका केटी साथीभन्दा, बढी केटा साथीहरू थिए ।
ऊ आफूलाई आधुनिक र सभ्य भन्न रुचाउँथी ।
सधैं झैं, आज पनि रश्मी ढिला अफिस आई । ऊ सरासर मेरो क्याबिनमा आई, अनि झोलाबाट रातो गुलाफको गुच्छा निकालेर मेरो हाथमा राखी दिई । आज प्रणय दिवसको दिन परेको थियो ।
मैले आचम्बित हुँदै भने, " रातो गुलाब त प्रेमको प्रतीक होइन र ? म त विवाहित, छोराको बाबु, फेरि किन मलाई दियौ ? रश्मी ! यो के गर्दैछ्यौ ? "
उसले भनी, " म तपाईंलाई मन पराउँछु, मायाले को विवाहित, को अविवाहित केही जान्दैन ! आधुनिक सभ्यता, र स्वतन्त्रता के हो, बिस्तारै-बिस्तारै बुझ्दै जानु हुनेछ राज सर ! "
यति भनेर, ऊ मेरो छातीमा टाँसिन आई । मैले, एकपल आफ्नी पत्नीलाई सम्झिएँ । जसको आलिङ्गनमा मलाई आजकल न्यानो लाग्न पनि छोडेको थियो ।
मेरो पुरुष मन न हो ! पापी बन्यो । पत्नी र छोरालाई बिर्सेर, 'त्यो रातो गुलाफको गुच्छा स्वीकार गरे मैले !'
गोठाटार, काठमाडौं ।