घण्टौं काम गरेर मेट्न सहजै के भोक पाइन्छ र?
भोको पेट भयो भनेर सजिलै के काम पाइन्छ र?
पाए काम गरिन्छ खान सहजै पाइन्छ भन्दै तर
पेटै भर्नसमेत फेरि पनि के त्यै भाग्य चाहिन्न र?
लाखौंबाट उरालियो मनुजको सङ्ख्या घटी हुन्छ र
चारैतर्फ अभाव मात्र छ भने के खाद्य भेटिन्छ र
साह्रै दु:ख अभाव बढ्दछ भने राम्रो कतै हुन्छ र
भन्थे- बुझ्दछु खान लाउन अझै त्यै भाग्य चाहिन्न र?
बन्छन् पढ्न कलेज आश्रम-कला या पाठशाला तर
छाड्नै पर्दछ शुल्क तिर्न नसकी पढ्नै भने आखिर
खै के पढ्नु कहाँ गएर कसरी को दिन्छ खै उत्तर
भन्नै पर्दछ जे भए पनि यहाँ त्यै भाग्य चाहिन्न र?
पायौं पढ्न भने अनेक दुखले पढ्दै गई आखिर
राम्रा ज्ञान र सीप आर्जन गरी खोज्दा यहाँ जागिर
पाइन्नन् र अयोग्य झैं यदि भई जानै परे बाहिर
भन्नैपर्दछ बाँच्न आज पनि के त्यै भाग्य चाहिन्न र?
नेपाली सब हौं भने मुलुक यो साझा सबै हैन र
छैनौं योग्य कि छैन सीप अथवा पोख्ने सही जाँगर?
के हामीसित छैन सिर्जन कला जाँचेर जाँचिन्न र ?
हामी जाँचिनकै निमित्त पनि के त्यै भाग्य चाहिन्न र?
के छैनन् पशु सम्पदा वन चरा पाखा गह्रा उर्वर
खोला ताल नदी पहाड झरना मैदान झन् सुन्दर
आफैले उपयोग आज तिनको गर्ने गरे हुन्न र
बेवास्ता जनको सधै भइरहे त्यै भाग्य चाहिन्न र?
बन्छन् बन्न बडाबडा भवन ती साँच्चै सफा सुन्दर
हाम्रै हुन्छ हरे त्यहाँ श्रम सबै आफै कहाँ बन्छ र?
राम्रा र्याक दराजले जब सबै तैयार हुन्छन् घर
एकैरात समेत बस्न तिनमा त्यै भाग्य चाहिन्न र?
यौटै देश र धर्मभित्र यसरी बस्दा भई धर्मर
मान्नैपर्दछ भाग्यवाद करले कोही नमानून् तर
यस्तो हुन्छ भने रहस्यमय यो लाग्दैन भन्ने छ र?
साँच्चै हो छ भनेर भन्न पनि के त्यै भाग्य चाहिन्न र?
(रचनाकाल २०४५ साउन ४)