गैरआवासीय नेपाली (एनआरएनए) लाई दिइने नागरिकताको प्रावधानसहितको व्यवस्था भएको नियमावली मन्त्रिपरिषदले पारित गरेको छ ।
सरकारकी प्रवक्ता तथा संचारमन्त्री रेखा शर्माका अनुसार शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले सो नियमावली अनुमोदन गरेको हो ।
नियमावली मन्त्रिपरिषदबाट पारित भएपछि लागू हुने कानुनी प्रावधान रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए। ऐन जारी भएलगत्तै ०७२ भन्दा अघि जन्मका आधारमा नेपालमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने विषय कार्यान्वयनमा गएको भए पनि नियमावली नहुँदा अन्य नयाँ प्रावधान भने रोकिएका थिए।
नियमावाली पारित नहुँदा गैरआवासीय नेपालीहरू नागरिकता लिनबाट वञ्चित हुँदै आएका थिए। उक्त ऐन मन्त्रिपरिषदबाट पारित भएसँगै विभिन्न मुलुकमा रहेका १० लाख गैरआवासीयले उक्त सेवा लिन पाउने भएका छन्। गैरआवासीय नेपालीहरूलाई मतदान गर्न, राजनीति गर्न पाउने र कुनै सरकारी पदमा बस्ने पाउने सुविधा भने नहुने प्रावधान नियमावलीमा रहेको जनाइएको छ।