Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

नेपालमा ५७ मुलुकले २ खर्ब ६४ अर्ब रुपैयाँ प्रत्यक्ष रुपमा लगानी

नेपालमा ५७ मुलुकले २ खर्ब ६४ अर्ब रुपैयाँ प्रत्यक्ष रुपमा लगानी

नेप्लिज डायस्पोरा

११, आश्विन २०८०
images
नेपालमा ५७ मुलुकले २ खर्ब ६४ अर्ब रुपैयाँ प्रत्यक्ष रुपमा लगानी

नेपालमा ५७ मुलुकले २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष रुपमा लगानी गरेका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक लगानी आएको छ । अध्ययन प्रतिवेदनले नेपालमा ६ सय ९४ ओटा कम्पनी प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालनमा रहेको देखाएको छ ।

२०७९ सम्ममा भारतबाट सबैभन्दा धेरै ८८ अर्ब ६० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी आएको हो ।

यसैगरी चीनबाट ३३ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक लगानी आएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । अनपेक्षित रुपमा आयरल्यान्डबाट नेपालमा २० अर्ब ९० करोड वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै सिंगापुरबाट १६ अर्ब १० करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ र सेन्ट किट्स एण्ड नेभिसबाट रु१५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार समग्र वैदेशिक लगानीमध्ये ६२ प्रतिशत औद्योगिक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आएको छ भने ३७ प्रतिशत सेवा क्षेत्रमा आएको छ ।

प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले आर्थिक वर्ष २०७८–७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमुना छनोट गरेको थियो ।

सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनसमेत राष्ट्र बैंकले तयार गरेको छ । सर्वेक्षणअनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।

प्रतिवेदनले वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको औंल्याएको छ ।

वैदेशिक लगानी भित्रिएकामध्ये आयरल्यान्ड, सिंगापुर र सेन्ट किट्स एन्ड नोभिसलाई शंकास्पद रुपमा लिने गरिएको छ । यद्यपि शंकासम्वन्धि कुरा भने प्रतिवेदनमा उल्लेख गरिएको छैन । कर छली र अवैध आर्जनको रकम लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकहरूको रुपमा लिने गरिएकाले शंकाको नजरमा हेरिएको हो । ट्याक्स हेभन मुलुक आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नौ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेकोे छ।

नेपाल सरकारले वैदेशिक लगानी सम्वन्धि ऐनमार्फत ६ अर्बभन्दा मुनिको वैदेशिक लगानी उद्योग विभागमार्फत र सोभन्दा माथिको लगानी बोर्डमार्फत स्वीकृत गर्दैै आएको छ ।

नेपालले हालसम्ममा पाँच हजार ९१९ उद्योगका लागि चार खर्ब ६४ अर्ब ३४ करोड ७१ लाख ६२ हजार ६०० रुपैयाँको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रस्ताव उद्योग विभागमार्फत स्वीकृति दिइसकेको छ ।

विदेशी लगानीकर्ताले गरेको प्रस्ताव प्रतिवद्धता र विभागले गरेको स्वीकृतिको तुलनामा भने कममात्रै लगानी भित्रिने गरेको छ । अमेरिकाको परराष्ट्र मन्त्रालयले हरेक वर्ष निकाल्ने ‘लगानीको वातावरणसम्बन्धी प्रतिवेदन २०२३’ मा वैदेशिक लगानीका लागि नेपालको वातावरण प्रतिकुल भनेता पनि नेपालमा १६ प्रतिशतले लगानी वढेको छ । यद्यपि दक्षिण एसियाली मुलुकको तुलनामा घट्दै गएको देखिएको छ ।

नेपालमा वैदेशिक लगानीका लागि वैदेशिक लगानी नीति , विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७, विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लगायतका आधारमा विदेशी लगानी गराइरहेको छ ।

नेपालमा प्रत्यक्ष लगानी रहेका मुलुकहरुमा भारत, चीन, आयरल्यान्ड, सिंगापुर, सेन्ट किट्स, अस्ट्रेलिया, दक्षिण कोरिया, युएइ, संयुक्त राज्य अमेरिका, नेडरल्यान्ड, हङकङ, युके, पाकिस्तान, बंगलादेश, ब्रिटिस भर्जिन, नर्वे, मौरिसस, बर्मुडा, जापान, श्रीलंकालगायतका रहेका छन् ।

यसमध्ये भारत, अस्ट्रेलिया, दक्षिण कोयरया, अमेरिका नेडरल्यान्ड, युके, नर्वे, जापानले कृषिमा समेत लगानी गरेको पाइएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - ०५:४१:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend