यसो त अरबको रापिलो घाम त्यो पनि एक दशक होइन दुई दशक तापेर फर्किएको पात्र हुं म । यहि नाताले अरबको घामको ताप र रापको अनुभूति जति म सँग छ अरुसंग कहां होला ? त्यो घामले म पोलिएको छु, सेकिएको छु र डढेको छु ।
अरबको घामले पोल्ने मात्र हैन तरतरी पसिना पनि निकाल्छ। पसिना मात्र निकाल्दैन भतभती पोल्छ पनि ! यो घामले शरीर मात्र पोल्दैन मन पनि पोल्छ ।
यो गीतलाई संगीतकार दीप घतानीले प्राण भरेका छन् र गायक संजीब बराईलीले सजिवता दिएका छन् । भिडियोमा रहेका सबैको मेहेनतले गीतको उचाई बढाएको छ । तर चर्चा गर्न खोजेको कुरा गीतकार सतीश चापागाईको शब्द सिल्पताको हो । यहां चर्चा गर्न लागेको बिषय गीतकार सतीश चापागाईको गीत 'अरबमा घाम छ' को हो । गीत बडो मन पर्यो । पटक पटक सुनें । हरेक शब्दले मन छोयो । गीतले अरब पुगेका हरेक नेपालीको कथा बोलेको छ । म त भन्छु नेपाली मात्र हैन, त्यो घाममा आफु सेकिएर परिवार पाल्न आउने संसारभरका श्रमीक कामदारको कुरा बोलेको छ ।
मनमनै सोचें चापागाईको यो रचना कल्पनाशीलताको उपज हो । उनले शब्दमा मेरा अनुभूति रचेको पाउँदा साँच्चै उनि अरबकै घाम ताप्न कुनै दिन पुगेका थिए भने उनको सृजनशीलताले कति धेरै रचना गर्थ्यो होला? मेरा मनमा धेरै प्रश्नहरु उठे ।
म त्यही प्रश्नको उत्तर खोज्दै हिजो दुई दशक बिताएको अरब फेरी पुगेँ । अनि सोच्न थालेँ, आखिर सतीश चापागाई अरब पुगेका थिए भने त उनले घामको मात्रै चर्चा गर्थेनन् होला, उनले त्यही रापिलो घाममा फल्ने खजुर (छोकडा) को पनि त महिमा गाउँथे होला ! मरुभूमिको उँट हेरेर उनी कस्तो गीत लेख्थे होलान् ? कविता पो रचना गर्थे होलान की ! छिनमै पहाड बन्ने र छिनमै मैदान बन्ने बालुवाको विशाल मरुभूमिको शब्दमा आकार कोर्थे होलान् । अझ भन्नुपर्दा पानीको अभाव ठानीने मरुभूमिमा उनको रचनाले जलमग्न हुनेगरी सिँचाई गर्थे होलान् । समुन्द्रको पानी उवाउदै ल्याउंदै मरुभूमीमा खन्याउदै गर्थे होलान ।
घाम सबैतिर भएपनि घामको ताप अरबमा बढी छ भन्ने लोकले जानेको कुरालाई गीतमा ढालेर अरबै नगएकाहरूलाई पनि उनले टन्टलापुर घाम तपाइदिए । जतिसुकै घाम होस् जहाँ काम छ, त्यहाँ माम छ भन्ने शास्वत सत्यको विकल्प रहित अनिवार्यतालाई उजागर गरिदिए । आहा! क्या गजबको कल्पनाशीलता ।
अरब पुगेकै दिन काम पाउनुको चर्चाभन्दा बढि नेपालमा जागीर नपाउनुको विवशताको साङ्गीतिक व्याख्याको लाइनले सिङ्गो देशकै परिवेशको वर्णन गरिदिएको छ । नेपालमा जागीर नपाएको विषय राज्यका शासकहरूले सुनुन् या नसुनुन् तर उनले शासकहरूप्रति गम्भीर प्रश्न भने तेर्साइदिएका छन् । आखिर हो नी त आफ्नो देशमा गरीखाने अवसर सर्बसाधारणको पहुंचमा कहां छ? जागीर कहां छ? भएपनि कति बढि सोर्सफोर्स चल्छ? सबैलाई थाहा छ ।
अरबमा श्रमको मूल्य नगदमै पाइने भएर त नौजवान युवाहरूको आकर्षणको गन्तव्य बन्यो अरब । त्यही काम आफ्नो गाउँमा गर्दा ज्याला पाउन महिनौँ कुर्नुपर्ने यथार्थताको चित्रण गर्दै उनले उत्तरदायी राज्यको परिकल्पना गरेका छन् । राज्य उत्तरदायी भयो भने कुनै पनि नागरिकले न अरबको घाम ताप्नु पर्छ नत कामको मुख !
अरबको घाम, अरबको दु:ख, अरबको पीडाका धेरै गीत, कथा, कविता पढियो यति सरल साहित्य सुनिएको थिएन । हरेक मान्छेले सजिलै बुझ्ने र महशुस गर्नेगरी गीतकार चापागाईले यो गीत लेखेका छन् ।
चापागाईले चलचित्र परदेशी २ को शिर्ष गीत पनि विदेश र कामसंग नै सम्बन्धित छ । जस्मा भनिएको छ:
आफू पनि विदेशमा छन् गीतकार चापागाई ! झण्डै १५ बर्षदेखि अमेरिकामा रहेका चापागाईले प्रवासका नेपालीको पीडा नबुझ्ने कुरै भएन । त्यसमाथी उनी एनआरएनमा सक्रिय छन् र पत्रकारिताका माध्यमबाट सबैसंग नजिक पनि छन् । साहित्यिक मन भएका चापागाईले पत्रकारिताबाट चिनिएका नेपाली व्यवसायीहरुसंग मिलेर देशमै रोजगारीका अवसर सिर्जना पो गरिदिन्छन की ! गीतमा घोत्लिईरहंदा मेरो मनमा यिनै कुरा खेले ।
अनि, कुनैदिन सतीश चापागाईले 'जान्न मत अरबको घाम खान, आफ्नै देशमा चलाउँछु कारखाना' भन्ने आशयको गीतको रचना नगर्लान भन्न सकिन्न । यो गीतको उद्देश्य पनि मनोरन्जन हैन, चेतना र परिवर्तन हो । त्यसो भईदिए हुन्थ्यो । देशका आगामी पुस्ताले सुख पाउने थिए ।