Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

आँधीखोलामा आमा" कवितासंग्रहको आनन्द आश्रममा विमोचन

आँधीखोलामा आमा" कवितासंग्रहको आनन्द आश्रममा विमोचन

सतीश चापागाईं

२५, पौष २०८१
images
आँधीखोलामा आमा" कवितासंग्रहको आनन्द आश्रममा विमोचन

पाल्पा, २३ पौष २०८१ । आनन्दआश्रम ज्ञान केन्द्र‚ आँधीखोलामा आमा कवितासंग्रहको भव्य समारोहका बीच विमोचन भएको छ ।

फापरथुम‚ स्याङ्जाको आनन्द भवनमा मासिक रूपमा नियमित सञ्चालन हुँदै आएको‚ साहित्यिक तथा वैचारिक गोष्ठीको २३ सौँ अध्यायमा सार्वजनिक गरिएको उक्त कवितासंग्रह सूर्य जि.टी.‚ विनिता जि.टी.‚ सविन जि.टी. र सचिन जि.टी.ले मिलीजुली सिर्जना गर्नु भएको हो ।

आनन्दआश्रम ज्ञान केन्द्रद्वारा आयोजित उक्त समारोहको सभापतित्त्व संस्थाका सल्लाहकार जगन्नाथ सापकोटाले गर्नु भएको थियो भने सदस्य ख्यामनारायण न्यौपानेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कवि चिन्तु गिरीले, " मानिसको मृत्यु हुन्छ । जन्मेजति सबैको मरण हुन्छ । यो प्राकृतिक नियम हो । सिर्जनाले मात्र मानिसलाई अमर बनाउँछ । शारीरिक रूपमा हामीसँग नभए पनि सिर्जना र सिर्जनाकारहरू पुस्तौं पुस्तासम्म हाम्रो मनमुटुमा जीवित रहन्छन् । "  भन्नुभयो ।

कवितासंग्रह र त्यसमा समावेश भएका कविताहरूमाथि विवेचना गर्ने काम कवि तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हिमलाल पुरीले गर्नु भएको थियो । साथमा सिर्जनाकारहरूलाई बधाई ज्ञापन गरी उत्तरोत्तर प्रगतिको कामना गर्नेमा संस्थाका संस्थापक संरक्षक त्रिलोचन ढकाल‚ देवी सापकोटा‚ वडा सदस्य लक्ष्मीदाश गहतराज र जीवन ढकाल‚ त्रि.वि.वि.का सहप्राध्यापक शारदा शर्मा‚ डा. ऋषिराम ढकाल र टिकाराम नेपाली आदि हुनुहुन्थ्यो । उक्त काव्यगोष्ठीमा देवी सापकोटा‚ लक्ष्मीदाश गहतराज र सविन जि.टी.ले सारगर्भित कविताहरू वाचन गर्नु भएको थियो ।

सर्जक सूर्य जि.टी. र सबिन जि.टी.ले कविताहरूसमेत पढ्दै कवितासंग्रहको रचना र प्रकाशनका सम्बन्धमा मन्तव्य दिनु भएको थियो । साथमा आनन्दआश्रम ज्ञान केन्द्रले‚ पुस्तक प्रकाशन गरेर सार्वजनिक गर्नु भएकोमा हार्दिक बधाई दिँदै रचनाकारहरू चारैजनालाई मञ्चमा सम्मान गरेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव दोलराज ढकालले गर्नुभएको थियो । यसरी नियमित कार्यक्रमले विभिन्न साहित्यकारहरूलाई भेट हुने, अन्तर्क्रिया र विमोचन लगायत विभिन्न अवसर जुराएकोमा सबैले आश्रमलाई हृदयबाटै धन्यवाद दिनु भएको थियो ।

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - २०:५२:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend