Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

जनसम्पर्क समिति युएईद्वारा ७५ औं प्रजातन्त्र दिवस मनायो

जनसम्पर्क समिति युएईद्वारा ७५ औं प्रजातन्त्र दिवस मनायो

नेप्लिज डायस्पोरा

१०, फाल्गुण २०८१
images
जनसम्पर्क समिति युएईद्वारा ७५ औं प्रजातन्त्र दिवस मनायो

 

केशव खडका / युएई

१०४ वर्षको जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउन नेपाली कांग्रेसको नेतृत्वमा सफल क्रान्ति भएको ७५ वर्ष पुगेको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष एवं पूर्वमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाली जनसम्पर्क समिति युएईले शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेता उमेश श्रेष्ठले राणा शासन हटाउन नेपाली कांग्रेसले गरेको क्रान्तिको योगदानको बारेमा चर्चा गरे। २००७ सालको क्रान्तिको उपलब्धिले नेपालीहरुलाई विदेश तथा स्वदेशमा रोजगारीका अवसरहरु खुलेको दाबी गरे। प्रवासी नेपालीहरुका समस्या समाधानका लागि नेपाली कांग्रेस सधैं लागि पर्ने प्रतिबद्धता व्यक्त गरे। युएईको शहर दुबईमा नेपाली दूतावासको काउन्सील कार्यालय तत्काल सञ्चालनको निम्ति नेपाल सरकारसँग पहल गर्ने बताए। सफल व्यवसायीसमेत रहेका नेता उमेश श्रेष्ठले आफ्नो सफलताको वर्णन गर्दै लगनशीलता, धैर्यता र सकारात्मक सोचले सफलतातर्फ डोर्‍याउने उल्लेख गरे। यहीँबाट आफू सफल भएर स्वदेशमा करिब दस हजार नेपालीहरुलाई रोजगारी दिन सफल भएको बताए।

कार्यक्रमको सभापतित्व गरेका नेपाली जनसम्पर्क समिति युएईका सभापति भवानी प्रसाद तिमिल्सिनाले शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यिनै शहीदको कारणले आफूहरुले स्वतन्त्रता पाएको बताए। रेमिटेन्स सदुपयोग, विदेशमा रहेका नेपालीहरुको डाटा संकलन र विद्युतलगायत अन्य क्षेत्रमा विदेशमा रहेका नेपालीहरुलाई उपयुक्त वातावरण निर्माण गर्न पहल गरिदिन नेता तथा सफल व्यवसायी उमेश श्रेष्ठसँग अनुरोध गरे।

नेपाली जनसम्पर्क समिति युएईका प्रमुख सल्लाहकार तथा महासमिति सदस्य खेमराज बस्नेतले २००७ सालको क्रान्ति सफल हुन नेपाली कांग्रेसको योगदानको चर्चा गरे।

एनआरएनए आईसीसीका सचिव एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मनोज कुमार श्रेष्ठले शहीदका बहुआयामिक सन्दर्भको पक्षमा चर्चा गर्दै शहीदहरु सधैं अमर हुने भनाइ व्यक्त गरे। साथै प्रवासी नेपालीहरुका जायज माग पहल निम्ति नेपाल सरकार जिम्मेवार हुनुपर्ने बताए।

एनआरएनए युएईका अध्यक्ष विकास शाहीले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउन माग गर्दै नेपाली दूतावासमा आवश्यक जनशक्ति थप गर्नुपर्ने विचार व्यक्त गरे।

नेपालदेखि युएई आएका नेपाली कांग्रेस कपिलवस्तुका युवा नेता एवं महाधिवेशन प्रतिनिधि आशिष शर्माले नेपाली कांग्रेसको विगतको इतिहासको चर्चा गर्दै व्यवस्था परिवर्तनको निम्ति विगतदेखि नेपाली कांग्रेस सधैं नेतृत्व पंक्तिमा रहेको चर्चा गरे। नेपालको अर्थतन्त्र, स्वास्थ्य, रोजगारीको सम्भावनाबारेमा चर्चा गरेका थिए। साथै यस मध्यपूर्विय देश समृद्ध हुन नेपालीहरुको योगदान रहेको बताए।

उक्त कार्यक्रममा नेपालदेखि युएई आएका नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य चन्द्र ढकाल, नेपाली कांग्रेस कपिलवस्तुका युवा नेता तथा सफल व्यवसायी आसिस शर्मा, व्यवसायी राजु श्रेष्ठ, व्यवसायी विष्णु श्रेष्ठहरुलाई सम्मान गरिएको थियो।

युएईमा क्रियाशील नेकपा एमाले निकट र नेकपा माओवादी केन्द्र निकट प्रवासी संस्था प्रवासी नेपाली मञ्चका अध्यक्ष बाबुराम सापकोटा र नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष लक्ष्मण खनालज्यूहरुले युएईका विभिन्न आस्थावान दलका प्रवासी संस्थाहरु नेपाली समुदायको निम्ति एक भएर सधैं लाग्ने सुन्दर पक्ष रहेको बताए।

IMG_4510.jpeg

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति युएईका महाधिवेशन प्रतिनिधि राजेन्द्र कुमार अधिकारी र महाधिवेशन प्रतिनिधि कृष्ण गौतमको पनि उपस्थिति थियो। युएईमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति थियो।

उक्त कार्यक्रमको सञ्चालन नेपाली जनसम्पर्क समिति युएईका सहमहामन्त्री तुलसीराम भुसालले गरेका थिए।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८१ शनिवार - १०:३०:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend