मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा यही सप्ताहान्त अर्थात मार्च महिनाको ८ र ९ तारिखमा कँडेल कप आयोजना हुने भएको छ । मेलबर्नको अन्तर्राष्ट्रिय स्पोर्ट्स सेन्टरमा हुने यस प्रतियोगिताको विजेताले १२ हजार अष्ट्रेलियन डलर नगद उपहार पाउनेछन् । यति फुटबल क्लबको आयोजना तथा कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा हरेक वर्षजसो आयोजना हुँदै आएको यो प्रतियोगिताको यस पटक १४औं संस्करण हो।
प्रतियोगिता संयोजक सज्जन शर्माका अनुसार, यस १४औं संस्करणमा कुल ४० टोली सहभागी हुनेछन् । खुला प्रतिस्पर्धातर्फ २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् भने ३५ वर्षमाथिको उमेर समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, गोल्डकोस्ट, ब्रिसबन, तास्मानिया र एडिलेडका टीमले सहभागिता जनाउनेछन् । कँडेल कन्सल्टेन्सी कप अष्ट्रेलियाको नेपाली फुटबल प्रतियोगितामा ठूलोमध्येको एक प्रतियोगिता हो। आयोजक संस्था यती क्लबका अध्यक्ष कर्ण रानाले नेपाल र नेपाली फुटबललाई प्रवर्द्धन गर्दै खेलकुदको माध्यमबाट समुदायलाई एकजुट बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र यसमा प्रायोजक संस्थाहरु, खेलाडी, क्लब लगायत सम्पूर्ण नेपाली समुदायको साथ मिलिरहेकोमा कृतज्ञता व्यक्त गर्नुभयो।
कँडेल कन्सल्टेन्सी कपको मूख्य प्रायोजक संस्था कँडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेलले यस प्रतियोगितामा जोडिन पाउनु गर्वको कुरा रहेको बताउनुभयो। उहाँले भन्नुभयो," अष्ट्रेलियामा नेपाली विद्यार्थी तथा युवाहरु हरेक क्षेत्रमा अगाडी बढ्न सकुन् भन्ने मेरो चाहना हो। त्यसका लागि हामीले नै वातावरण सिर्जना गरिदिनुपर्छ। यति क्लबले यो प्रतियोगिता मार्फत गरिरहेको प्रयासमा कँडेल कन्सल्टेन्सी जोडिन पाउनु भनेको गर्वको कुरा हो। प्रतियोगिताले विद्यार्थी, खेलाडी, क्लबसंगै समग्र नेपाली समुदायलाई अगाडी बढ्न मद्दत गर्छ जस्तो मलाई लाग्छ। "
प्रतियोगिताको विजेताले १२ हजार अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले ४ हजार ५ सय डलरसँगै कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । ३५ वर्षमाथिको विजेताले २ हजार ५ सय डलरसँगै कप मेडल र प्रमाण पत्र प्राप्त तथा उपविजेताले १ हजार डलरसँगै कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले अवार्ड जित्ने टोलीलाई समान २ सय डलर प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
यस्तै क्लबले यसै संस्करणबाट खेलाडी र खेलकर्मीसँगै रेफ्रीलाई समेत नेपाल–अष्ट्रेलिया फुटबलसँग अभ्यस्त बनाउने प्रयास गरेको तथा महिला र बालबालिका लक्षित विशेष फुटबल कार्यक्रमहरू पनि प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहने जनाएको छ।