पाल्पा (असोज ३) — नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाकाे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी चापपानी उपशाखाको समन्वयमा 'डेङ्गु रोगको कारण, नियन्त्रण, राेकथाम र जोगिने उपायहरू' सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम बुल्ठाकी झिरभन्ज्याङस्थित मालारानी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी चापपानी उपशाखाका सभापति युवराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति बाबुराम कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यालय प्रमुख तथा कार्यक्रम अधिकृत विनोद भारती, जिल्ला शाखा पाल्पाका मन्त्री केशवराज नेपाल र मालारानी ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष कालिदास बस्याल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
उपशाखाकी पम्फा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी चापपानी उपशाखाका सचिव गोमविक्रमले गर्नुभएको थियो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाका कार्यालय प्रमुख विनोद भारतीको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा डेङ्गु लाग्नुका कारण, यसका लक्षणहरू, नियन्त्रण तथा रोकथामका उपायहरूबारे विस्तृत जानकारी तथा अन्तरक्रियात्मक छलफल गराउनुभएको थियो। सो क्रममा पाल्पा जिल्लामा चालू आर्थिक वर्षमा २५५ जना डेङ्गुबाट संक्रमित भइसकेको र त्यसमध्ये सबैभन्दा बढी बगनासकाली गाउँपालिकाका २१ जना रहेको जानकारी दिइयो। पहिले तराईमा बढी देखिने डेङ्गु रोग अहिले पहाडी क्षेत्रमा पनि द्रुत रूपमा फैलिरहेकाले सम्पूर्ण पाल्पाली जनसमुदाय सचेत र सजग रहनुपर्नेमा जोड दिइएको थियो।

कुल ५२ जना सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि बाबुराम कार्कीले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नुभएको थियो।